आइतबारको सार्वजनिक बिदा खारेज, सबै अस्पतालमा ओपिडी सेवा खुल्ने

फाइल फोटो
सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा अब नदिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।
हेल्थपाटीसँग कुरा गर्दै उहाँले परिक्षणका लागि दिइएको आइतबार बिदा व्यवहारिक नभएको पाइएकाले असार १ गतेदेखि उक्त बिदा नदिने निर्णय भएको बताउनुभयो ।
‘यसअघि पनि हामीले परिक्षणकै लागि बिदा दिएका थियौं तर अपेक्षाकृत नतिजा आउन सकेन । उहाँले भन्नुभयो - त्यसैले मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको छ । ’
यो निर्णयसँगै अब स्वास्थ्य संस्थाहरुमा आइतबार ओपिडी सेवा खुल्नेछन् ।
स्वास्थ्यकर्मीहरुले सरकारले दिएको आइतबारकाे बिदा आफुहरुले पनि पाउनुपर्ने माग गर्दै आएका थिए । यद्यपी कतिपय स्वास्थ्य संस्थाले आइतबार बिदा दिएनन् ।
लगातारको २ दिनको बिदाले स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरु मारमा पर्ने भन्दै आइतबार बिदा दिने सरकारको निर्णयको आलोचना भएको थियो ।
सरकारले जेठ १ गतेबाट परिक्षणका लागि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत