अल्जाइमर्सका बिरामीले खान पनि बिर्सन्छन्, यसरी गर्नुपर्छ हेरचाह(भिडियो)
अल्जाइमर्स, डिमेन्सियाको एउटा कारण हो । डिमेन्सियालाई सामान्य भाषामा भन्नुपर्दा बिर्सने रोग पनि भनिन्छ । ज्येष्ठ नागरिक विशेषज्ञ डा. अनन्त अर्यालले अल्जाइमर्स हुनु भनेको स्मृतिमा बिर्सने समस्या हुनु भएको बताउनुभयो ।
उहाँका अनुसार डिमेन्सियालाई २ भागमा वर्गीकरण गरिएको छ । एउटा (रिभर्सियल उपचार गरेपछि स्मृति फर्केर आउने ) अर्काे इरिभर्सियल उपचारपछि स्मरण शक्तिमा कुनै परिवर्तन आउदैन । अल्जाइमर्स डिमेन्सियाको इरिभर्सियल कारण हो । डिमेन्सिया प्राय उमेर बढ्दै जाँदा देखिने रोग हो ।
प्राय ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई अल्जाइमर्स देखिन्छ । मष्तिष्कका कोषिकाहरू बिस्तारै सुक्दै जाँदा बुढ्यौलीमा अल्जाइमर्स रोग देखिने सम्भावना रहन्छ। ‘अल्जाइमर्स मस्तिष्कको रोग हो, मानसिक रोग होइन' डा.अर्यालले भन्नुभयो। ७० देखि ८० प्रतिशत डिमेन्सिया देखिनुमा अल्जाइमर्स प्रमुख कारण हुन्छ ।
अल्जाइमर्सका लक्षणहरू के-के हुन् ?
अल्जाइमर्सको प्रमुख लक्षण बिर्सने नै हो । सुरुवाती अवस्थामा तत्कालको गतिविधि बिर्सने तर पहिलाको गतिविधिहरु सम्झने लक्षणहरु देखिन्छन् । साथै जसलाई अल्जाइमर्स रोग देखिएको छ उनीहरुमा भाषाको समस्या पनि देखिन्छ । उमेर बढ्दै गएपछि पहिला-पहिलाका गतिविधिहरुसमेत बिर्सने हुन्छ ।
अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, जसले मष्तिष्कमा विस्तारै क्षय गराउने गर्दछ । जसका कारण बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधान गर्ने क्षमता र विस्तारै बोली र भाषामा पनि समस्या आउने गर्छ। बुढ्यौलीसँगै मष्तिष्कमा विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ भन्ने रसायनको कमीले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्छ।
अल्जाइमर्स रोगको मुख्य जोखिमका रूपमा मानिसको बढ्दो उमेर नै रहेको छ। ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले बढ्दै जान्छ।
विभिन्न अध्ययनले देखाएअनुसार आणुवांशिकताका साथसाथै धूम्रपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटक-पटक लागेका चोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाइरहेका हुन्छन्।
सुरुआती अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चीजबीजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सने लगायतका लक्षण देखिन्छन् । त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भुल्दै जाने दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ ।
जब रोग बढ्दै र अन्तिम अवस्थामा पुग्छ तब अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत विस्तारै चिन्न नसक्ने, आफ्नो वरिपरिका गतिविधिसँग समेत मतलब नहुने हुन्छ ।
अल्जाइमर्स भएको सुरुवाती अवस्थामा आफै खान सक्छ, शौचालय जान सक्छ । तर समय बित्दै जाँदा उहाँहरुले आफैं नुहाउन नसक्ने, घरको बाटो बिर्सने, बोल्नै बिर्सने, खान पनि बिर्सने हुन्छ । उहाँहरुलाई बच्चाको स्याहार गरेको जसरी हेरचाह गर्नुपर्छ ।
कारणहरू
अल्जाइमर्सको कारण पत्ता लागेको छैन । बढ्दो उमेर नै अल्जाइमर्सको कारण र जोखिम रहेको डा. अर्याल बताउनुहुन्छ। मधुमेह, उच्चरक्तचाप, टाउकोमा चोटपटक, वायुप्रदूषण, शारीरिक गतिविधि कम गर्ने सक्रिय जीवन नभएका व्यक्तिमा अल्जाइमर्सको सम्भावना रहन्छ । साथै एक्लोपन पनि अल्जाइमर्सको जोखिम हो । त्यसैले परिवारका सदस्यहरुले ज्येष्ठ नागरिकलाई घुमफिर गराउने र उहाँहरुको भावनालाई बुझ्न प्रयत्न गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत