चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाको आवेदन
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले आवेदन दिनुभएको छ ।
आवेदन दिनेहरुमा आयोगका हालका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.अञ्जनीकुमार झा, डा.ममिन गोर्खाली, डा.प्रविण मिश्र, डा.संगीता भण्डारी, डा.प्रमोद कुमार यादव, डा.वीरेन्द्र प्रसाद यादव, डा.पीयूष कुमार दाहाल, डा.सुमन कुमार श्रेष्ठ, डा.विधाननिधी पौडेल हुनुन्छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा आवेदन दिनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शास्त्रको कुनै पनि विधामा कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्छ । साथै चिकित्सा शास्त्रको कुनैपनि विधामा कम्तिमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तिमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरेको अनुभव चाहिने व्यवस्था छ।
शिक्षण संस्थाको बहालवाला वा अवकास प्राप्त उपकुलपति, प्राध्यापक वा विशिष्ट श्रेणीको चिकित्सक वा चिकित्सा शिक्षा विज्ञको रुपमा ख्याति प्राप्त गरेको पुष्ट्याइ हुने प्रमाण वा स्वयम् घोषणा भएको हुनपर्ने योग्यता तोकिएको थियो । दरखास्त दिने अन्तिम दिनसम्म ४५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनपर्ने सूचनामा उल्लेख गरिएको थियो ।
उपाध्यक्ष पदका लागि साउन २६ गते सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको थियो । आवेदन दिन १५ दिनको समय दिएको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले उपाध्यक्ष आयोगको प्रखुम कार्यकारी रहने व्यवस्था गरेको छ । चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुयाएका चिकित्सक मध्येबाट नेपाल सरकारले नियुक्त उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था ऐनमा छ ।
ऐनको दफा २३ बमोजिम लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा सिफारिस समिति रहने व्यवस्था छ । सो समितिले आवेदन आएका मध्येबाट ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्छ । सोही मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नेछ ।
उपाध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । डा.गिरीको समयसिमा भदौ २५ गते सकिदैछ ।
हेल्थपाटी
तपाईँको अभिमत