पोखरामा दिनहुँ बढ्दै डेंगीका बिरामी, कसरी जोगिने ?
पोखरामा दैनिकजसो डेंगीका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरामा ८२ जनामा डेंगी संक्रमण देखिएको छ ।
डेंगी संक्रमण निरन्तर बढ्ने जोखिम रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन् । डेंगी लाग्न नदिने उपाय सामान्य भएपनि संक्रमित भएपछिको खतरा ठूलो हुने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बताउनुहुन्छ।
घर वरपर पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिएमा मात्रै पनि धेरै हदसम्म डेंगी नियन्त्रण हुने आचार्यको भनाइ छ।
आचार्यका अनुसार डेंगी संक्रमणको जोखिम असार अन्तिमदेखि असोज अन्तिमसम्म बढी हुन्छ।
अबको चार महिना डेंगी संक्रमण उच्च हुने सम्भावना रहेको आचार्य बताउनुहुन्छ ।
गतसाल पनि डेंगीले महामारीको रुप लिएको थियो । यसपटक नियन्त्रणका लागि बेलैमा सचेत हुनुपर्ने आचार्यको भनाइ छ ।
‘अहिले नै डेंगीले महामारीको रुप लिइसकेको छैन’ आचार्य भन्नुहुन्छ, ‘बेलैमा जनचेतना जगाउन सके नियन्त्रणमा राख्न सकिन्छ ।’ प्रदेश तथा पालिकाको मुख ताकेर बस्नुभन्दा स्थानीय तह आफैं अग्रसर भएर नियन्त्रण अभियान सञ्चालन गर्नु पर्ने उहाँको ठम्याइ छ ।
‘स्थानीय तह तथा स्वास्थ्य संस्थाले बेलैमा सावधानी अपनाउन सके यसले विकराल रुप लिनबाट बच्न सकिन्छ’ आचार्य सुनाउनुहुन्छ।
आचार्यका अनुसार अहिले पोखरा महानगरको ८ नम्बर वडामा अहिले सबैभन्दा बढी डेंगी संक्रमण छ ।
डेंगी नियन्त्रण अभियान प्रत्येक वडामा आवश्यक रहेको आचार्य बताउनुहुन्छ।
डेंगी संक्रमण नियन्त्रणमा सरकारको भन्दा पनि आम नागरिकको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । स्वास्थ्य संस्थाहरु विद्यालयमा गएर विद्यार्थीलाई १० मिनेटमात्र सूचना दिएमा पनि ठूलो क्षति हुनबाट रोक्न सकिने उहाँको ठहर छ ।
‘विद्यार्थीले आफूले जानेको कुरा घरका सदस्यलाई सुनाउँछन् जसले डेंगी नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,’ आचार्य भन्नुहुन्छ।
कस्तो रोग हो डेंगी ?
डेंगी रोग एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। एडिजमा पनि एजिप्टाई र अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेले यो रोग सार्छ ।
जसले दिउँसो मात्र टोक्छ। यो रोग भारतीय उपमहाद्वीप, दक्षिण एसिया, दक्षिण चीन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल र साउथ अमेरिका लगायतका क्षेत्रमा बढी पाइन्छ । सबैभन्दा धेरै दक्षिणपूर्वी एसिया र पश्चिम पेसिफिक आइल्यान्डमा देखिएको छ।
नेपालमा सन् २००४ मा डेंगीको पहिलो बिरामी पत्ता लागेको थियो। सन् २००६ मा चितवनमा डेंगीका रोगीहरु भेटिएका थिए। सन् २०१० मा ९०० भन्दा धेरै बिरामीहरु देशका विभिन्न ठाउँहरुमा भेटिएको थिए । तीमध्ये पाँच जनाको मृत्यु भएको थियो।
डा.सुधीर अधिकारीका अनुसार डेंगीको खास उपचार छैन। यसले संक्रमित व्यक्तिको शरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। गम्भीर अवस्थाका डेंगीुका बिरामीको सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ। डेंगीुले बिरामीको शरीरमा हुने प्लेटलेट्सको मात्रा घटाइदिन्छ।
जब प्लेटलेट्स काउन्ट १० हजारबाट कम हुँदै जान्छ, तब शरीरका विभिन्न भागमा रक्तश्राव हुन सुरु हुन्छ। यस्तो अवस्थामका बिरामीलाई प्लेटलेट्स दिनुपर्ने हुन्छ।
यसको साथै रक्तचाप कम हुने तथा फोक्सोमा पानी जम्ने जस्ता खतराहरु पनि हुनसक्छ।
डेंगी एक प्रकारको भाइरल इन्फेक्सन हो। जसलाई ४ प्रकारमा वर्गीकरण गरिएको छ। जस्तै डेनवी १, डेनवी २, डेनवी ३ र डेनवी ४। यो रोगका लक्षणहरु लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखा पर्छन्।
डेंगीका लक्षणहरू
डेंगीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
— पेट दुख्ने
— नाक वा गिजाबाट रगत बग्ने
— रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने
उपचार के छ ?
हालसम्म डेंगी रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगी रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीलाई उसको लक्षणको आधारमा उपचार गरिने चिकित्सकहरुको भनाइ छ ।
जस्ता लक्षण देखिए त्यही अनुसारको औषधि उपचार गरिने डा.सुधीर बताउनुहन्छ । डा.सुधीरका अनुसार डेंगीको बिरामीलाई एस्पिरिन, आइब्रुफिन जस्ता दुखाइ कम गर्ने औषधि सेवन गर्नु हुँदैन। यस्ता औषधिले रक्तश्राव बढाउने गर्छ।
पारासिटामोल तथा कोडिनजस्ता औषधिहरुको प्रयोग गर्ने गरिन्छ। गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्नसक्छ।
१० वर्षभन्दा कम उमेर समूहका बाल बालिकाहरुमा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई डेंगी रोग लागेको खण्डमा मृत्यु हुने सम्वाभना बढी हुन्छ।
डेंगीबाट कसरी बच्ने ?
डेंगी रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट नै बच्नु हो । डेंगी लागेको लक्षणहरु देखापरेको अवस्थामा तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपर्दछ। डेंगी लागेको शंका हुनासाथ अत्यधिक तरल पदार्थहरु सेवन गर्ने र अस्पताल वा स्वास्थ्य केन्द्र पुगेपछि डाक्टर तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नुपर्दछ ।
–लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ ।
उमा आलेमगर
तपाईँको अभिमत