उच्च मृत्युदर भएको अफ्रिकन स्वाइन फिभर रोग नेपालमा पनि
घरपालुवा सुँगुर, बङ्गुर तथा जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग नेपालमा पनि देखा परेको छ ।
काठमाण्डौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बगुरमा उच्च मृत्युदर देखा परेकोमा सो क्षेत्रबाट गत चैत्रको अन्तिम साता नमुना संकलन गरि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा जेठ २ गते अफ्रिकन स्वाइन फिभर रोग पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ ।
नेपालमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको पहिलो पटक हो । यो रोग पशुबाट मानिसमा सर्दैन। घरपालुवा सुँगुर, बङ्गुर तथा जंगली बँदेल प्रजातिमा विषाणुको कारण लाग्ने अफ्रिकन स्वाइन फिभर रोग उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो।
विगतमा यो रोग अफ्रिकी महादेशमा मात्र सीमित रहेकोमा सन् २०१८ मा चीनमा देखापरे पश्चात् क्रमशः यो रोग आसियान क्षेत्रका मुलुक हुँदै हाम्रा छिमेकी चीन, भारत र भुटानमा समेत देखा परिसकेको छ।
काठमाण्डौ जिल्लाको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुर जिल्लाको गोदावरी क्षेत्र र भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको र यसबाट हालसम्म १०१९ सुँगुर तथा बङ्गुर मरेको विभागले जनाएको छ ।
यो संक्रमण हुँदा सुँगुर प्रजातिमा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फारेनहाईट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, चाल धरमराउने, तुहिने जस्ता लक्षण सहित बथानमा एकै पटक ठूलो संख्यामा सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन्।
यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका वस्तु एक स्थानबाट अर्काे स्थानमा लैजाँदा सजिलै सर्ने भएको संक्रमण छिटो फैलन सक्छ ।
यो रोगबाट घरपालुवा जनावरलाई बचाउने उपायहरु :
-फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाई गरी चुना, ब्लिचिंग पाउडर, फर्मालिन जस्ता सामग्री प्रयोग गरी निःसंक्रमण गर्ने
- रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्टाएर अलग्गै राख्ने
- शंकास्पद पशुको नमूना प्रयोगशाला परीक्षण गराउने र रोग प्रमाणित भएमा सो खोरमा रहेका पशुलाई मानवीय तवरले नष्ट गर्ने
- मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने
- घरपालुवा सुँगुर बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने
- सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेष्टुरेन्टबाट निस्कने फोहोर खानेकुरा खुवाउने गरिएमा रोगी पशुको मासु हड्डी समेत मिसिन सक्ने र यसबाट स्वस्थ फार्ममा संक्रमण फैलन सक्ने उच्च जोखिम रहने हुँदा यस्ता खानेकुरा नखुवाउने।
तपाईँको अभिमत