न्याम्स अन्तगर्त मेडिकल र नर्सिङ तर्फ ४०० सय सिट थपिने, शिक्षक दरबन्दी बढाइने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले वीर अस्पताल र अन्तर्गतका सरकारी अस्पतालहरुमा स्तानकोत्तर तह (पिजी)मा मेडिकल र नर्सिङ तर्फ विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले मेडिकल तर्फ एमडी\एमएस र नर्सिङ तर्फ पिजी र ब्याचलर तहमा विद्यार्थी सिट संख्या थप गर्ने निर्णय गरेको हो ।
न्याम्सको सिनेट बैठकले पिजी चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि आवश्यक शिक्षक दरबन्दी पनि स्वीकृत गरेको छ।
बैठकमा ‘हामीले वीर अस्पतालको चालू आर्थिक वजेट कार्यक्रम, पास भएका विद्यार्थीलाई दिक्षान्त गर्ने, न्याम्समा एमबीबीएस पढाउन सुरु गर्ने र विभिन्न सरकारी तथा सामुदायिक अस्पतालमा शिक्षक दरबन्दी थप गर्ने विषय प्रस्तुत गरेका थियौं, जसमा एमबीबीएस पढाउन र शिक्षक दरबन्दीको एजेण्डा पास भएको छ। ’ न्याम्सका उपकुलपति प्राडा. भुपेन्द्र बस्नेतले भन्नुभयो, - ‘यो निर्णय नेपालको स्वास्थ्य सुधार विज्ञ विशेषज्ञको पहुँच र अस्पतालको सेवा गुणस्तर बढाउन कोशेढुंगा साबित हुनेछ ।’
उहाँका अनुसार मेडिकल साइन्सतर्फ २०० र नर्सिङ तर्फ १२५ भन्दा बढी सिट थप गर्ने निर्णय भएको छ । यो सँगै अब ४ सय सम्म पिजी विद्यार्थीलाई थप अध्ययन गराउन सकिने उपकुलपति बस्नेतले जानकारी दिनुभयो ।
हाल मेडिकल साइन्स तर्फ १०० र नर्सिङ तर्फ १६० सिटमा अध्यापन भइरहेको छ । अब पिजी तर्फ एमडी एमएसका लागि वीर अस्पतालसहित काठमाडौं उपत्यकामा निजामती कर्मचारी अस्पताल,सशस्त्र प्रहरी बल अस्पताल, अर्थोपेडिक्स अस्पताल, मेची आँखा अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र गेटा आँखा अस्पतालमा अध्यापन सुरु हुने छ।
यस्तै नर्सिङ तर्फ स्नातक र स्नातकोत्तर तहमा कान्ति बाल अस्पताल, परोपकार अस्पताल, निजामती अस्पताल, भरतपुर अस्पताल, अर्थोपेडिक र सशस्त्र प्रहरी अस्पतालमा पढाइ हुने छ।
हेल्थपाटी 
तपाईँको अभिमत