जाडो महिनामा यात्रा गर्दा स्वास्थ्यको कसरी ख्याल गर्ने ? (भिडियो)
वर्षा, बाढी पहिरो नहुने, फुर्सद पनि हुने भएकाले नेपालीहरु प्राय जाडो महिनामा घुमफिर बढी गर्नेगर्छन् ।
यसरी घुमफिर गर्दा कस्ता स्वास्थ्य समस्या देखिन्छन् । त्यसबाट कसरी बच्न सकिन्छ ? यसबारे हामीले जनरल प्राक्टिसनर डा.पुष्पमणि खरालसँग कुराकानी गरेका छौँ ।
हेल्थापाटीसँगको कुराकानीमा डा.खरालले जाडोमा घुमफिर गर्दा अपनाउनु पर्ने सावधानी साथै जाडोमा कोइला, हिटर ताप्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभएको छ ।
डा.पुष्मपणि खरालले दिनुभएको जानकारीको सम्पादित अंश तल प्रस्तुत छ।
जीवनमा यात्रा पनि एकदमै महत्वपूर्ण कुरा हो । यात्राले मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ।
वर्षाको सिजन पनि नहुने, गर्मीमा जस्तो रोगव्याधि लाग्ने सम्भावना कम हुने र छुट्टीहरू मिलाउन पनि सजिलो हुने कारणहरुले जाडोको समयमा धेरै यात्रा गर्ने प्रचलन नेपालमा छ।
अब जाडोमा यात्रा गर्दा खास ध्यान पुर्याउनु पर्ने चाहिँ के भने तपाईलाई कुनै रोग छ भने रोगको औषधिहरु पनि साथमा लान भुल्नु भएन । जाडोमा अरुबेला भन्दा हृदयघातको सम्भावना बढी हुन्छ । अरु बेला भन्दा प्रेसर घटीबढी हुने हुन्छ । त्यसका लागि पनि चनाखो रहनुपर्छ।
आफूलाई असजिलो भयो भने, श्वास फेर्न गाह्रो भयो भने त्यसलाई बेवास्ता नगरिकन नजिक उपलब्ध चिकित्सकलाई देखाउनुपर्यो ।
अरु भनेको जाडोमा न्यानो रहनुपर्छ । मनतातो पानी खाने गर्नुपर्यो । जाडोमा तातोका लागि एक-अर्कासँग धेरै नजिक–नजिक बस्ने हुँन्छन् । यसो गर्दा रोगहरू सर्ने फैलने जोखिम हुन्छ । त्यसो भएकाले छुट्टा–छुट्टै बस्नु राम्रो । हामीले भर्खरै कोभिड महामारीबाट पार लगाएको छौँ। फेरि त्यस्तै अर्को महामारी नआउला भन्न सकिन्न।
खानपानमा ड्रिक अल्कोहल नखाने, नुन कम खाने गर्नुपर्छ, किनभने रगतका नली खुम्चिने भएकाले प्रेसर बढ्ने हुन्छ । जाडोमा फ्लूहरुको धेरै जोखिम हुनेभएकाले जाडोको सिजन भन्दा ठिक अगाडि वा जाडो महिनामै पनि खोप लगाउन सक्यो भने राम्रो हुन्छ।
हिउँ खेल्दा के-के कुरामा सावधानी अपनाउने ?
यो बेला हिउँ खेल्ने भन्ने पनि धेरै हुन्छ । हिउँ भनी सकेपछि चिप्लिने डर हुन्छ । घाइते हुने सम्भावना हुन्छ । त्यसमा सजग हुनुपर्यो । हिउँमा नचिप्लने खालको जुत्ता लगाउनुपर्यो । त्यहाँको भूगोलको जानकारी पनि लिनुपर्यो । त्यहाँ भएका खाल्डाहरु हिँउले छोपेको हुनसक्छ । लड्ने जोखिम हुन्छ ।
चिसोबाट जोगिनुपर्यो । त्यहाँको चिसोले पार्नसक्ने असरबाट बच्न सक्नुपर्छ । धेरै हिउँले भेट्यो भने चिसोले नसा खुम्चिएर रगत राम्रोसँग पास नहुने त्यसले गर्दा हात खुट्टामा घाउ हुने हुन्छ।
धेरै नै चिसो भयो भने मुटुको चाल नै फरक परेर मृत्यु हुने नै सम्भवना हुन्छ । यसमा ख्याल गर्नुपर्यो।
हिटर, कोइला ताप्नु कत्तिको ठिक ?
जाडोमा विभिन्न तरिकाले जिउ तताउने स्वभाविक कुरा हो । तर हामीले हरेक वर्ष सुनेका हुन्छौँ, दुर्घटनाहरु भएको हुन्छन्। हिटर वा कोइला बाल्दा केही समय बालेर कोठा तातो भएपछि निभाएर सुत्नुपर्छ । बालिरहने हो भनेपनि झ्याल, ढोका अलिकति खुल्ला राख्नुपर्छ । तापक्रमले कोठामा भएको अक्सिजन लिन्छ । त्यसले गर्दा अक्सिजन कम हुन्छ । कार्बनडाइअक्साइडको मात्रा बढ्छ । यसो हुँदा मानिसको मृत्यु हुनसक्छ।
धेरै ने जाडो छ केही नै उपाय छ भने, झ्याल केही खुल्ला राखेर बालेर छाड्नुपर्छ । अनि अर्को कुरा बिस्तारा भन्दा अलि टाढा राखेर बाल्नुपर्छ किनभने जलनको समस्या पनि हुन्छ।

हेल्थपाटी 
तपाईँको अभिमत