जनशक्ति अभाव क्षयरोग नियन्त्रण कार्यक्रमको प्रमुख चुनौती
काठमाडौं । क्षयरोग श्वास प्रश्वासको माध्यमबाट माइक्रो ब्याक्टेरियम नामको सूक्ष्म किटाणुबाट हुने सरुवा रोग हो । नेपालमा प्रत्येक वर्ष ६९ हजार क्षयरोगी थपिने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०७५/ ७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा वर्षेनी करिब ६९ हजार नयाँ क्षयरोगी थपिन्छन् भने १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गर्दछ ।
अझै ४१ हजार क्षयरोगका नयाँ बिरामी उपचारको पहँचबाट बाहिर रहेका छन् । यसै सन्दर्भमा हामीले राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक डा. अनुज भट्टचनसंग कुराकानी गरेका छौँ ।
क्षयरोगको पहिचान कसरी गरिन्छ ?
क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकानका साथै कमजोरी महसुस हुन थाल्छ । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हुन् । सामान्यतया यस्ता समस्या पाँच दिनभित्र निको हुन पनि सक्छ । तर लगातार रुघाखोकी लागिरह्यो र ज्वरो कम भएन भने तुरुन्तै स्वास्थ्य परीक्षण गराइहाल्नुपर्छ ।
क्षयरोग लागेमा बिरामीलाई राती धेरै पसिना आउँछ, मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल कम हुदै जान्छ । त्यस्ता बिरामीको खकार परीक्षण गरेर क्षयरोगको पहिचान गरिन्छ । यदि खकार परीक्षणबाट रोगको निदान भएन भने जीन एक्सपर्ट प्रविधिबाट परीक्षण गरिन्छ ।
बर्षेनी क्षयरोग बिरामीको संख्या त बढिरहेको छ नि ?
क्षयरोगका बिरामीहरुले एक त लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधि खाइरहेको बिरामीमा नयाँ बिरामीको संख्या पनि जोडिन्छ जसले गर्दा संख्या धेरै देखिएको हो । तर क्षयरोगका नयाँ बिरामी तपाईले भन्नुभए जसरी बढेको होइन । अर्को कुरा उपचारको पहँचबाट टाढा रहेका केही बिरामीहरु पनि पछि सम्पर्कमा आउदा संख्या बढ्न गएको हो ।
क्षयरोगको उपचार कसरी गरिन्छ ?
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । सरकारले क्षयरोग विरुद्ध अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ । उपचारको अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरि फरक हुन्छ ।
जुन औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दैनिक रुपमा डट्स केन्द्रहरुबाट प्रदान गरिन्छ र औषधिले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्यक कदम चालिन्छ । उपचारका लागि प्रयोग हुने मुख्य औषधिहरुः आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन् । यी चार औषधि पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ ।
बिच बिचमा डट्सको प्रोटोकल अनुसार आवश्यक जाँचहरु गरी उपचारले काम गरेको, नगरेको निगरानी गरिन्छ । यी औषधिहरुले काम नगरेको खन्डमा आवश्यक जाँच गरी अन्य औषधि चलाउन सकिने अवस्थाहरु पनि आउन सक्छन् ।
रोग नियन्त्रणमा कस्ता चुनौती छन् ?
अहिलेको परिपेक्षमा कुरा गर्ने हो भने त हामीलाई जनशक्तिकै अभाव छ । क्षयरोग कार्यक्रमका लागि जनशक्ति कम हुनाले बिरामीको पहिचान र उपचारमा कठिनाई छ केन्द्रकै कुरा गर्नुहुन्छ भने पहिले हामी ७० जना थियौ अहिले ३० जनामा सीमित छौ । त्यस्तै समायोजनका कारण कतिपय हाम्रा फोकल पर्सनहरुनै पालिकामा हुनुहुन्छ जसले अन्य कार्यक्रमका फोकल पर्सनसंग सहकार्य गर्नुपरेको छ ।
त्यसैले अपेक्षित नतिजामा पुग्न सकेका छैनौँ । अनि अर्को कुरा औषधि प्रतिरोधि टिबिको उपचार महँगो छ । यो नेपालको मात्र होइन विश्वकै चुनौति हो । त्यसैले रोग लाग्न नदिनु नै बेस हो ।
रोग नियन्त्रणका लागि आगामि योजना के के छन् ?
हामीले सन् २०२१ देखि २०२६ सम्म रणनीतिक योजना तयार गरेर मन्त्रालयमा पठाइसकेका छौँ । यसमा छलफल भइरहेको छ । यसमा हामीले संघ प्रदेश र स्थानिय तहमा संयन्त्र बनाएर लाग्नुपर्ने कुरा समेटेका छौँ । जुनसुकै कुराको निदानमा तथ्य आवश्यकता पर्दछ अहिले हामी तथ्याङक संकलनमै छौ ।
कर्मचारी अभावका कारण सहि रिपोर्टिङ नै हुन सकेको छैन । त्यसैले हामीले जनशक्ति थप्ने कुरा पनि योजनामा समेटेका छौँ । प्रयोगशालाको संञ्जाललाई लगानी गरेर विस्तार गर्ने पनि योजना बनाएका छौँ ।
तपाईँको अभिमत