दैनिक २० हजार संक्रमित थपिने, माघ तेस्रो सातादेखि संक्रमण ओरालो लाग्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी हप्ता दैनिक २० हजार कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना बिफ्रिङमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले अहिलेको अवस्था, संक्रमण उत्कर्षमा पुग्दै गरेको अवस्था रहेको बताउनुभयो ।
महामारी नयाँ चरणमा प्रवेश गरेको बताउदै उहाँले नेपालमा पनि ओमिक्रोनको संक्रमित अत्याधिक बढेको पाइएको जानकारी दिनुभयो ।उहाँले आगामी हप्ता पीसीआर परीक्षणबाट दैनिक २० हजार कोरोना संक्रमित पुष्टि हुने प्रक्षेपण मन्त्रालयले गरेकाे जानकारी दिनुभयो । माघको तेस्रो सातादेखि भने संक्रमण विस्तारै ओरालो लाग्दै स्थिर उन्मुख हुने प्रक्षेपण गरेको उहाँले बताउनुभयो ।
तर संक्रमण स्थिर हुन अरु ६ हप्तासम्म लाग्ने पनि उहाँले बताउनुभयो । संक्रमणदर उच्च रहेपनि अस्पताल भर्ना हुनेदर न्यून रहेको भन्दै उहाँले परीक्षण र उपचार व्यवस्थापनमा सरकार तयारी अवस्थामा रहेको दाबी गर्नुभयो । ओमिक्रोन भेरियन्टले यसभन्दा अगाडि देखिएको डेल्टा भेरियन्टलाई प्रतिस्थापन गरेको र यो भेरिन्यन्ट अलि बढी संक्रामक रहेको प्रष्ट पार्दै जनस्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई अनुरोध गर्नुभयो ।
ओमिक्रोनले धेरै व्यक्तिलाई संक्रमण सार्न सक्ने भएकाले ओमिक्रोन संक्रमितको सम्पर्कमा रहेका धेरै जना व्यक्तिले कोरोना परीक्षण गर्नुपर्ने बताउनुभयो । पालिकाहरुमा कोरोना परीक्षणका लागि एन्टीजेन जोखिमयुक्त स्थानहरुमा पीसीआर गरिरहेकाले लक्षण देखिएमा परीक्षण गराइहाल्न उहाँले आग्रह गर्नुभयो । सरकारी स्वास्थ्य संस्थाहरुमा कोरोना परीक्षण निशुल्क रहेको उहाँले बताउनुभयो ।
निगरानी प्रणालीमा एसजीन टार्गेट फेलियर र जीनोमिक सिक्वेन्सिङ गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र देशका अन्य स्थानमा हेर्दा ओमिक्रोनकाे केस बढिरहेको उहाँले जानकारी दिनुभयो । त्यहीकारण प्रत्येक २ - ३ दिनमा संक्रमण २ गुणाले बढिरहेको बताउनुभयो ।
पौडेलले ओमिक्रोन भेरियन्ट धेरैजसो माथिल्लो श्वासप्रश्वास प्रणालीमा रहने र त्यहाँ लक्षण गराउने विशेषगरि घाँटी दुख्ने,नाक बन्द हुने, हल्का ज्वरो आउने, स्वर बसेको जस्ताे हुने, शरीर गलेको जस्ता लक्षण धेरैलाई देखिएको बताउनुभयो । ओमीक्रोनबाट फोक्सोमा असर तुलनात्मक रुपमा कम देखिएको र धेरैजसो अस्पताल बस्न नपर्ने, धेरैलाई अक्सिजन दिन नपर्ने देखिएको उहाँले जानकारी दिनुभयो ।
सक्रिय संक्रमित ५० हजार नाघिसक्दा सघन उपचार कक्षमा १७९ जना र २९ जना भेन्टिलेटरमा उपचाररत रहेको तथ्यांक पौडेलले सुनाउनुभयो । खोप लगाएका व्यक्तिमा पनि संक्रमण हुनसक्ने तर उनीहरुमा जटिलता कम देखिएको उहाँको भनाइ छ । आफ्नो पालोमा खोप लगाउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार अहिले ८२०२ आइसालेसेन बेड, ३८४६ हाइ डिपेन्डेन्सी युनिट अक्सिजनसहित एचडियु, २७९७ वटा आइसियु, १००८ वटा भेन्टिलेटर, देशभर ९८ वटा अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट रहेको र उक्त प्लान्टसँग दैनिक २७ हजार ४९६ सिलिण्डर उत्पादन गर्ने क्षमता रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत