कोरोना महामारीमा पनि क्यान्सरको उपचार निरन्तर
काठमाडौं । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कोरोना महामारीमा पनि क्यान्सरका बिरामीको उपचार निरन्तर भइरह्यो। सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठले महामारीका बीच विशेष सावधानी अपनाउदै क्यान्सरको उपचार गरिएको बताउनुभयो ।
विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले महामारीको सुरुवाती दिनमा केही असर देखिएपनि विशेष सावधानी अपनाउनाले पछि खासै असर नदेखिएको बताउनुभयो । सुरुको समयमा लकडाउनका कारण बिरामीहरु अस्पताल पुग्न पाएनन्, उहाँहरु कोरोनाबाट डराए पनि श्रेष्ठले भन्नुभयो, जसका कारण उपचारमा ढिलाई हुँदा धेरै बिरामी क्यान्सर शरीरमा फैलिसकेको अवस्थामा आइपुग्नुभयो ।
कार्यक्रममा सेन्टरका मेडिकल डाइरेक्टर डा.बिजेश घिमिरेले कोरोनाका बाबजुत स्वास्थ्यकर्मीहरुले दिनरात नभनी बिरामीको सेवा गरेको बताउनुभयो । विगत एक वर्षदेखि स्वास्थ्यकर्मीहरु तनाव, परिवारको दबाब पनि आफ्नो कर्तव्यलाई कटिवद्ध रुपमा निभाएको उहाँले बताउनुभयो ।
घिमिरेका अनुसार सन् २०२० मा अस्पतालमा ३० हजार २५५ बिरामी उपचारका लागि पुगेका थिए । जसमा २२ हजार ५७८ जना फलोअप परीक्षण का लागि गएका थिए भने नयाँ बिरामीको संख्या ७ हजार ६७७ रहको छ । उपचारका लागि पुगेका बिरामीहरुमध्ये काठमाडौं उपत्यकाका धेरै थिए भने भैरहवा तथा पोखरा लगायतका स्थानबाट पनि क्यान्सरको उपचार गर्न सो अस्पताल पुगेका थिए ।
सन् २०२० मा सो अस्पतालमा पुगेका बिरामीमध्ये स्तन क्यान्सरका बिरामी धेरै अर्थात् पहिलो स्थानमा रहेको पनि कार्यक्रममा जानकारी दिइयो । त्यसपछि फोक्सो, पेट, आन्द्रा, अण्डकोष, बे्रन ट्यूमर, थाइरोइड, जिब्रो, आमाशयको क्यान्सर भएका बिरामीको संख्या धेरै थियो ।
सेन्टरका प्रमुख कार्यकारी अधिकृत डा.बच्चुकैलाश कैनीले अस्पतालको सेवा विस्तारका लागि आफुहरु कटिवद्ध र प्रतिवद्ध रहेको बताउदै अस्पतालमा नयाँ प्रविधि भित्र्याउने तयारी भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा क्यान्सर जितेका योद्धाहरुले आफ्नो अनुभव साटासाट गर्दै स्वास्थ्यप्रति सचेत रहन आग्रह गरेका थिए ।
क्यान्सरलाई परास्त गर्नुभएका पत्रकारसमेत रहनुभएका जगन्नाथ ढकालले नेपालमा क्यान्सर उपचारका लागि नयाँ प्रविधि भित्र्याउने तर्फ सरकार तथा निजी क्षेत्र लाग्नुपर्ने सुझाव दिनुभएको थियो । उहाँलाई ३ वर्ष अगाडि मलद्धारको क्यान्सरको भएको थियो ।
यस्तै,क्यान्सर जित्नुभएकी अनिता श्रेष्ठले आत्मबल बलियो भएर नै आफुले क्यान्सरलाई जितेको बताउनुभयो । आफुलाई क्यान्सर हुनु अघि परिवारका ३ सदस्यको क्यान्सरकै कारण मृत्यु भएको प्रत्यक्ष देख्नुभएकी श्रेष्ठले आफुले आत्मबल बढाएरै छ वर्ष अघि क्यान्सर निको भएको अनुभव सुनाउनुभयो ।
पेटको क्यान्सर भएका सुधिर लामाले डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको व्यवहारले औषधिभन्दा बढी प्रभावकारी हुने अनुभुति आफुले गरेको बताउनुभयो । उहाँले ३ हप्ता अघिसम्म केमोथेरापी गर्नुभएको थियो ।
तपाईँको अभिमत