गाडीमा यात्रा गर्दा किन बान्ता हुन्छ ? यस्ता छन् रोक्ने उपाय
दशैं सुरु भइसकेको छ । काठमाडौँ उपात्यका लगायत विभिन्न शहरबाट दशैँ मान्न गाउँ जानेहरू क्रम बढिरहेको छ । सार्वजनिक यातायातमा होस् या निजीमा अहिले दशैं मान्न घर जानेहरुको लर्को लाग्न सुरु भइसकेको छ।
तर कतिपयलाई यात्रा गर्ने क्रममा निकै गाह्रो हुन्छ । गाडीमा चढेपछि बान्ता हुने पिरले यात्रा गर्नुभन्दा धेरै दिन अगाडिदेखि नै नरमाइलो बनाइरहेको हुन्छ । यात्राका क्रममा मोसन सिकनेस हुँदा केहीलाई यात्रा सुरु हुना साथ बान्ता हुन्छ भने कसैलाई लामो यात्रा गर्दा यो समस्या देखिन्छ ।
कन्सल्टेन्ट जनरल प्राक्टिसनर डा.रोशन पराजुलीका अनुसार यात्राका क्रममा मोशन सिकनेस हुँदा बान्ता हुने गर्दछ । मोशन सिकनेस शरीरको चालमा हुने एक प्रक्रिया हो । शरीरको चालमा हुने गढबढी (मोसन सिकनेस) ले यात्रा गर्दा बान्ता हुने उहाँले जानकारी दिनुभयो ।
‘जब शरीरको चालमा गडबढी हुन्छ, हुन थाल्छ त्यसपछि यात्राका क्रममा डुंगामा होस या जहाजमा, रेलमा होस् या बस, मोटरसाइकलमा वाकवाकी लाग्ने, रिंगटा लाग्ने हुनेगर्छ' डा.पराजुली भन्नुहुन्छ, ‘शरीरको बनावटअनुसार हाम्रो कान, आँखा, शरीरको पोष्चरको संकेत दिमागमा गएको हुन्छ । जब हाम्रो शरीर स्थीर भएको बेला तिनै संकेतबीच तालमेल भयो भने वाकवाकी हुँदैन तर यी संकेत बीच ग्याप हुन थाल्यो भने वाकवाकी लाग्छ।’
मनोविज्ञान (मलाई बान्ता हुन्छ भनेर सोचीरहँदा पनि) ले गर्दा पनि कतिपयलाई बान्ता हुने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
पुरुषलाई भन्दा महिलालाई मोसन सिकनेस बढी रहन्छ । गर्भवतीलाई, माइग्रेनको समस्या भएकालाई पनि मोसन सिकनेस हुन्छ । २ वर्षभन्दा कम उमेरका बालबालिकामा मोसन सिकनेस नहुने अध्ययनहरुले देखाएको उहाँले बताउनुभयो ।
यात्राको क्रममा हुने बान्तालाई कम गर्न केही उपाय अपनाउन पनि सकिन्छ । यात्रा गर्दा सकेसम्म सुल्टो सिटमा बस्ने, गाडिको अगाडिको सिटमा बस्ने,पानिजहाजको तलको मध्यभागमा तथा हवाइजहाजको पखेटा नजिकको सिटमा बस्ने, टाढाको बस्तुलाई हेरिरहने गर्दा मोसन सिकनेसलाई कम गर्न सकिने उहाँले बताउनुभयो ।
साथै डा. पराजुलीले मुखमा अदुवा चुस्दा ,अकुप्रेसर ब्याण्ड नारीमा लगाउँदा पनि कम हुने देखिएको बताउनुभयो । बान्ता कम गर्न औषधि खान पनि सकिने र यसका लागि नजिकका डाक्टरसँग परामर्श लिई औषधिबारे जानकारी लिनसकिने उहाँले बताउनुभयो ।
यात्राको क्रममा किन बान्ता हुन्छ ? कस्ता व्यक्तिलाई बढी बान्ता हुने गर्छ, बान्ता हुन नदिन के गर्नपर्छ भन्ने लगायतका विषयमा हेल्थपाटीका लागि जगन्नाथ ढकालले एमडीजिपी रोशन पराजुलीसँग कुरा गर्नुभएको छ ।
विस्तृत जानकारी भिडियोमा :

हेल्थपाटी
तपाईँको अभिमत