ठूला – ठूला अस्पताल चहारेपछि चिकित्सालयको सहारामा पुग्छन् बिरामीहरु
काठमाडौं । पूर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले पुरानै लयमा सेवा थालेको छ । कोरोना संक्रमण फैलिएपछि संक्रमितको उपचार भइरहेको अस्पताल संक्रमितको संख्या घटेसँगै पुरानै लयमा फर्किएको हो ।
संक्रमितको उपचारमा शतप्रतिशत नतिजा दिएसँगै चिकित्सालयको चर्चा झनै चुलिएको छ । संक्रमित मात्र होइन उपचारका लागि पुग्ने अधिकांश बिरामीहरु अस्पतालको सेवाबाट खुशी भएको सुनाउछन् । अस्पतालको कुशल व्यवस्थापन, कर्मचारीको लगनशिलता र मेहनतले अस्पतालले ख्याती कमाउन सफल हुँदै गएको छ । पछिल्लो समय एलोपेथिक उपचार पद्धतिबाट उपचार गर्दा पनि निको नभएपछि निराश भएका बिरामीका लागि चिकित्सालय लोकप्रिय बन्दै गएको छ ।
चिकित्सालयका निर्देशक डा. बिनोद पौडेल भन्नुहुन्छ ‘शुरुवातका दिनमा हाम्रो संरचना नै थिएन, यहाँ आउने बिरामीहरुले झलक्क हेर्दा पत्याउने स्थितिसमेत थिएन, देशका ठूला–ठूला अस्पतालमा पुगेर लाखौ खर्च गरेर उहाँहरु यहाँ आउनुहुनथ्यो तर यहाँ आउदा सानो छाप्रो टिनको छानो देख्दा यहाँ पनि उपचार हुन्छ ? यस्तोमा उपचार गरेर के निको होला भन्नु हुन्थ्यो । उपचारपछि निको हुँदा कतिपय बिरामीहरु घर जानै मान्नुहुन्न थियो ।’
निको भएकाहरुले अस्पतालको सेवा र प्रभावकारिताबारे प्रचार– प्रसारमा सहयोग गर्ने गरेका छन् । डा. पौडेल भन्नुहुन्छ, ‘उहाँहरूले केही न केही पाएरै जानुभएको छ,’ ,‘केहीले त अस्पतालको सेवा सुधार र विस्तारका लागि करोडौं रुपैयाँ सहयोग गर्नुभएको छ । छाला सम्बन्धी समस्याका कारण चिकित्सालय आउनुभएकी नारायणगढकी गौरीदेवी प्रधानले उपचारमा सन्तुष्ट भएपछि भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ सहयोग गर्नुभएको थियो उहाँजस्तै धेरै दाताहरुले सहयोग गर्नुभएको छ र आज हामी यहाँ छौँ ’
चिकित्सालयमा औषधिरहित पद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको छ । संक्रमितको उपचारमा सफलता पाउनुले अस्पतालप्रतिको विश्वास अझै बढेको छ । डाक्टर पौडेल सम्झनुहुन्छ, ‘जेठ २४ गते जिल्लाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको खबर आयो। केहीबेरमा स्थानीय तहले संक्रमितलाई अस्पताल ल्याइहाले । अब बिरामी ल्याइसकेपछि भाग्ने कुरा पनि आएन । कतिपय स्वाथ्यकर्मीहरुले अस्पताललनै छाडेर भागे तर म आफ्नो जिम्मेवारीबाट पछि हटिन ।’ गत जेठ २४ गतेबाट सुरु गरिएको संक्रमितको उपचार पुस १५ सम्म चलेको थियो । यो अवधिमा यो चिकित्सालयमा ७ सय ८६ संक्रमितको उपचार भयो । तर जिल्लामा संक्रमित नभएपछि फेरि अस्पतालमा ननकोभिड बिरामीको भीड लाग्न थालेको छ ।
तर फेरि पनि संक्रमितको उपचार गर्न परे आफूहरु तयार रहेको पौडेल बताउनुहुन्छ । चिकित्सालयमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ । वि.सं. २०६३ मा स्थापना भएको चिकित्सालयले वि.सं. २०६४ बाट उपचार सेवा सुरु गरेको थियो ।
हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देशबाट समेत उपचार गर्न आइपुग्छन् । यहाँ आउने बिरामीलाई कम्तिमा १५ दिन अस्पतालमै राखेर उपचार गरिन्छ भने उपचारसहित खाना र बस्नका लागि दिनको ९ सय रुपैयाँ लिने गरिन्छ ।चिकित्सालयले १५ वर्षे कार्य योजनासमेत बनाएको छ ।
प्रकाश बस्याल
तपाईँको अभिमत