भरतपुर अस्पतालमा आइसियु बेड थपियो
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
अस्पतालका प्रवक्ता डा. गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताउनुभयो। उहाँका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर ९अकुपेन्सी० हुने गरेको छ । एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।
उहाँका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क रु दुई हजार मात्र पर्दछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याको पिआइसियु सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
अस्पतालमा छ सय शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।
सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।
रासस ।
हेल्थपाटी
तपाईँको अभिमत