कोरोना केही होइन भन्नेलाई प्रा.डा.जागेश्वर गौतमको कडा चुनौती
यसको उत्तर खोज्न म वहाँहरुलाई अनुरोध गर्दछु
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका बारेमा विभिन्न टिका टिप्पणी हुन थालेको छ । केही व्यक्तिहरुले यसलाई हाउगुजी र केही पनि होइन भनेर भ्रम फैलाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले कोरोनाका बारेमा विभिन्न भ्रम फैलाइरहेका व्यक्तिहरुलाई कोरोना केही पनि होइन भन्ने आधार के भनी चुनौती दिनुभएको छ ।
नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, “कोरोना केही पनि होइन, यसले केही असर गर्दैन, यो बनावटी कुरा हो, कोरोना सामान बेच्नका लागि बनाइएको हो भन्नेहरूलाई म चुनौती दिन चाहन्छु । विश्वभर ९ लाख ८२ हजार मानिसको मृत्यु कोरोनाका कारण भएको छ, यसको उत्तर खोज्न म वहाँहरुलाई अनुरोध गर्दछु ।”
यसैगरी उहाँले संक्रमितको प्राइमरी कन्ट्याक्टमा रहेकाहरुलाई कम्तिमा संक्रमितसंगको अन्तिम भेट भएको ५ दिनपछि मात्रै पीसीआर परीक्षण गराउन आग्रह गर्नुभयो ।
यस्तै होम आइसोलेसनमा बसेकाहरुलाई पूर्ण सावधानी अपनाउन सुझाव दिँदै, आफूले प्रयोग गरेका सामनहरु अरुलाई छुन नदिने, आफूले खाना खाएको भाँडा आफैले माझ्ने, कोठामा निस्किएका फोहोरमध्ये गल्ने बस्तु भए खाल्डोमा पुर्ने र नगल्ने भए जलाएर व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
यसैगरी रेम्डिसिभिरको औषधि चढाएबापत् संक्रमितसँग पैसा नलिन प्रवक्ता गौतमले सबै अस्पताललाई आग्रह गर्नुभयो । उहाँले क्लिनिकल ट्रायलका रुपमा रेम्डिसिभिर उपलव्ध गराइएको भन्दै यदि अस्पतालले पैसा तिरेर किनेको भए स्वास्थ्य मन्त्रालयमा सोधभर्ना लिन सकिने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत