मधुमेह भएका व्यक्तिले आगो वा हिटर ताप्नु खतरनाक

दिनदिन जाडो बढिरहेको छ । जाडोबाट बच्नका लागि ठाउँअनुसार हिटर वा आयोग ताप्ने, हटब्यागहरुले सेक्ने प्रचलन छ ।
मधुमेह अर्थात सुगरका रोगीले हिटर वा आगो ताप्ने, हटब्यागले सेक्न गर्न नहुने चिकित्सकको भनाइ छ । वीर अस्पतालका डा.दिपक मल्लले मधुमेह भएका व्यक्तिको आगो वा हिटर ताप्न नहुने बताउनुभयो।
मधुमेह दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा डा.मल्लले मधुमेहबारे आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।
मधुमेहको जटिलताबारे चर्चा गर्दै डा.मल्लले मधुमेहका बिरामीको छाला पातोलो हुने भएकाले आगो वा हिटर ताप्न नहुने जानकारी दिनुभयो।
यसरी आगो वा हिटर ताप्दा छालामा घाउ हुनसक्ने र त्यो निको हुन समय लाग्ने वा निको नै नहुने सम्भावना रहको डा.मल्लले बताउनुभयो।
मधुमेह भएका व्यक्तिलाई घाउ लागेका निको हुन समय लाग्छ ।
मधुमेहबारे जान्नै पर्ने कुराहरू
विश्व मधुमेह दिवसका अवसरमामा स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार आयोगना गरेको अन्तक्रिया कार्यक्रममा वीर अस्पतालका डा.दीपक मल्लले मधुमेह रोगबारे दिनुभएको महत्वपूर्ण जानकारीहरू
कस्ता व्यक्तिहरुलाई मधुमेह हुने जोखिम बढी हुन्छ
•परिवारमा नजिकको सदस्यमा मधुमेह भएमा
•गर्भावस्थामा मधुमेह देखिएको व्यक्तिमा
•आवश्यक भन्दा बढी तौल भएको व्यक्तिमा
•रगतमा बोसोको मात्रा बढी भएको व्यक्तिमा
•उच्च रक्तचाप भएको व्यक्तिमा
•धेरै शारीरिक परिश्रम गर्नु नपर्ने जीवनशैली भएको व्यक्तिमा
मधुमेहमा हुनसक्ने लक्षणहरु
• बढी प्यास लाग्नु
• पिसाब बढी लाग्नु, राति पटक-पटक पिसाब फेर्न उठ्नु पर्ने अवस्था आउनु
• दुब्लाउनु
• कमजोरी हुनु
• बढी भोक लाग्ने र खाने हुनु
•शरीर चिलाउने
• छालामा घाउ, खटिरा आउनु
• अन्य संक्रमण हुनु
• यौनक्रम घट्ने
• आँखा कमजोर हुनु, धमिलो देखिने
• थाक्नु
मधुमेहबाट हुने जटिलताहरु
•आँखामा असरबाट अन्धोपन हुनु,
•पक्षघात आदिबाट मस्तिष्कमा असर परी मृत्यु १५ प्रतिशत
•मिर्गौलामा असरबाट मृत्यु
•मुटुमा असरबाट मृत्यु
•नशाहरुमा गरेको असरबाट खुट्टा काट्नु पर्ने
•विभिन्न संक्रमण भई मृत्यु
•अन्य जटिलताबाट मृत्यु
मधुमेह भएका व्यक्तिले कसरी खुट्टाको हेरचाह गर्ने ?
•खुट्टामा फोका छ कि छैन भनेर दिनहुँ हेर्नु पर्दछ ।
• खुट्टालाई घाउ, चोटबाट बचाउन चपल, जुत्ता नलगाई खाली खुटा हिँड्नु हुदैन
• मधुमेहमा खुट्टामा जुत्ताले औँलाहरु धेरै कस्सिने, घाउ गर्ने किसिमले लगाउनु हुँदैन ।
• जुत्ता लगाउनु भन्दा पहिले जुत्ताभित्र खुट्टालाई घाउ बनाउने वस्तु किला, कीराआदि छ कि भनेर हेर्नुपर्छ ।
मधुमेहको उपचारमा गर्नु पर्ने १२ महत्वपूर्ण कुराहरु
१. चिकित्सकको सल्लाह अनुरुप नियमित शारीरिक गतिविधि गर्ने खेलकुदमा सहभागी हुने।
२. आफ्नो तौललाई सकेसम्म स्वस्थ्यकर उत्तम तौलको विस्तारको तलतिर राख्ने ।
३. स्वस्थ खानपान राख्ने ।
४. चुरोट, बिडी, सुर्ती, तमाखु, खैनी, आदि सुर्तीजन्य पदार्थहरुको सेवन गर्दै नगर्ने ।
५. सुगरलाई चिकित्सकको सल्लाह अनुसार नियन्त्रणमा राख्ने ।
६. रक्तचाप (ब्लड प्रेसर) नियन्त्रण
७. हृदयघात र पक्षाघातबाट बचाउन एस्पिरिन आदि औषधीहरु चिकित्सकले सिफारिस गरे अनुसार प्रयोग गर्ने।
८. कोलष्ट्रोल, ट्राइगिलीसराइड आदि बोसोको औषधी प्रयोग गर्ने
२. मिर्गौला बचाउन रक्तचापको र अन्य औषधी प्रयोग गर्ने ।
१०. आवश्यक खोप लिने।
११. नियमित र आकस्मिक उपचारहरु गरिराख्ने।
१२. शिक्षा तथा जानकारी लिइराख्ने।
मधुमेह भएकाले गर्नुपर्ने नियमित जाँचहरू
•रगतमा सुगर,
•रक्तचाप,
•तौल जाँच गर्ने
•खुट्टाको नियमित जाँच
•वर्षको कमसेकम एकपल्ट पिसाबमा एल्बुमिन र एल्बुमिन छैन भने पिसाबमा माइकोएल्बुमिन (micro-albumin) को जाँच गर्ने।
•वर्षको २-४ पल्ट रगतमा २-३ महिनाको सुगरको अवस्थाबारे जानकारी दिने ग्लाइकेटेड हेमोग्लोबिन (Glycated hemoglobin HbA1C or AIC) को जाँच गर्ने।
•कमसेकम वर्षको एकपल्ट रगतमा मिर्गौला सम्बन्धित परीक्षण जस्तो युरिया (urea) वा कियाटिनिन (creatinine) को जाँच गर्ने।
•कमसेकम वर्षको एकपल्ट रगतमा बोसो लिपिड पोफाइल (lipid profile) को जाच गर्ने।
•नियमित र आवश्यकता अनुसार चिकित्सकको सल्लाहअनुसार अन्य जाँचहरु गर्ने ।
•यसबाहेक आवश्यक खोपहरू लिने पनि गर्नुपर्छ
तपाईँको अभिमत