पोखरामा पनि फैलियो आँखा पाक्ने रोग, विद्यालय बन्द गर्न थालियो
आँखा पाक्ने रोग देशभर प्रकोपको रुपमा फैलिएको छ । चिकित्सकका अनुसार हरेक वर्षायाममा आँखा पाक्ने रोग देखा पर्छ। तर, यसपाली भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ ।
आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्नेजस्ता लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने हिमालय आँखा अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठ बताउनुहुन्छ।
गण्डकी प्रदेशमा आँखा पाक्ने समस्या व्यापक रुपमा फैलिएको छ । विद्यार्थीमा धेरै संक्रमण फैलिएपछि कास्की र तनहुँमा विद्यालय नै बन्द हुन थालेका छन् ।

हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामीको चाप निरन्तर बढिरहेको छ । यही हप्तामात्रै आँखा पाक्ने बिरामी १ हजार ५०० बढी रहेको मेडिकल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६२९ जना थिए ।
‘अहिले देशभर नै (एडिनो भाइरल कन्र्जग्टिवाइटिस) आँखा पाक्ने रोग फैलिरहेको छ' श्रेष्ठले भन्नुभयो, ‘पछिल्लो एक हप्तामा पोखरामा १ हजार ५७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ ।'
हिमालय आँखा अस्पतालको तथ्याङ्कअनुसार १ हजार ५७३ जना मध्ये ९१८ जना बालबालिका छन् भने सोमबार उपचारका लागि अस्पतालमा बिहानैदेखि बिरामीको भीडभाड देखिन्थ्यो ।
‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउछ, श्रेष्ठले भन्नुभयो, ‘यसले ज्योति नै गुम्छ भन्ने हुदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २, ३ हप्तासम्म समय लाग्छ ।’
यो सरुवा रोग हो । घरका एक जनामा यो रोग देखियो भने धेरैलाई सर्न सक्छ । सैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल, चस्मा, साबुन जस्ता वस्तुहरु अन्य व्यक्तिले प्रयोग गर्नु नहुने डा. इलिया बताउनुहुन्छ।
आँखामा कुनै समस्या देखिए आँखा चिकित्सकसँग परामर्श लिएर मात्रै औषधिको प्रयोग गर्न उहाँको सुझाव छ।
'आँखा दुख्यो भनेर जुन पायो त्यही औषधि प्रयोग गर्नु राम्रो होइन, डा.इिलयाले भन्नुभयो, ‘चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्नु पर्छ ।’
पटकपटक साबुनपानीले हात धुने, चस्मा प्रयोग गर्ने, धुवाँधुलोबाट आँखालाई जोगाउने, संक्रमित व्यक्तिले प्रयोग गर्ने वस्तु तथा सामग्रीहरु प्रयोग नगरेको खण्डमा उक्त प्रकोपबाट बच्न सकिने जानकारी डा.इलियाले दिनुभयो।
उमा आलेमगर
तपाईँको अभिमत