वर्तमान अवस्थामा महिला स्वास्थ्य स्वयंसेविकाको औचित्य कति ?
आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्ले सुरुवात भएको थियो महिला स्वास्थ्य स्वयंसेविकाको अवधारणा।
महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम आर्थिक वर्ष २०४५र४६ बाट सुरुवात भएको हो। अहिले ३४ वर्षे यात्रा पार गरिसकेको छ। यो एक विशुद्ध स्वयंसेवी कार्यक्रम हो।
स्थानीय स्तर मा सञ्चालन भएको स्वाथ्य सेवालाई जनताको घरदैलोमा पुर्याउन सम्बाहकका भूमिका स्वयंसेविकाले निर्वाह गर्दै आएका छन्।
महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय र स्वास्थ्य प्रणालीको बीचमा रही पुलको काम गरिरहेका छन्। नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन र सम्मान गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ मा महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरेको छ।
यस वर्ष पनि ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यवद्धता’ भन्ने नाराका साथ १९औँ महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै छ।
महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भमा यसबारे केही कुरा राख्ने प्रयत्न गर्दैछु।
३४ वर्षको लामो यात्रामा धेरै कुरा फेरिएका छन्। धेरै कुरा प्राप्त भएका छन्। काम गर्ने तरिका फेरिएको छ। स्वास्थ्यका आवश्यकताहरू फेरिएका छन्।स्वास्थ्य शिक्षा दिने तरिका फेरिएको छ।
विज्ञान र प्रविधिको विकाससँगै यहाँ धेरै परिवर्तन भएका छन्। देशमा तीन पटक त संविधान नै फेरिएको छ। तर महिला स्वास्थ्य स्वयंसेविकाको हकमा सामान्य फेरबदलबाहेक जस्ताको तस्तै छ।
महिला स्वास्थ्य स्वयंसेविकाको योगदानले देशको स्वास्थ्य सेवामा उल्लेखनीय उपलब्धी हासिल भएको कुरा कसैले पनि नकार्दैन।
नेपालमा मातृ मृत्युदर, बाल मृत्युदर, नवजात शिशु मृत्युदर घटाउन महलिा स्वास्थ्य स्वयंसेविका निकै ठूलो भूमिका छ।
यही सहयोगकै कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रसंशा पाएको छ। थुप्रै सम्मान पुरस्कार पाएको छ।
३ दशक भन्दा पहिलाको आवश्यकता र स्वास्थ्य सेवाको अवस्थाका आधारमा सुरुवात गरिएको कार्यक्रमलाई अहिलेको सन्दर्भअनुसार ढाल्न सकिएको छैन।
अहिलेको अवस्थामा यसको आवश्यकता कति हो ? यसले कस्तो प्रभाव पारिरहेको छ। समुदायको आवश्यता के हो ? यो कार्यक्रममा के परिमार्जन आवश्यक छ। वा कार्यक्रम नै आवश्यक छैन कि यस्ता विषयमा गहन विश्लेषण आवश्यक छ।
मैले १०-११ वर्षको उमेरदेखि नै महिला स्वास्थ्य स्वास्थ्य स्वंयसेविकाको नजिक रहेर यसलाई बुझ्ने अवसर पाएँ।
हजुरआमा महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्थ्यो। तालिम, गोष्ठीबाट फर्किँदा उहाँले ल्याउने खाजाको प्याकेट र कामी, कलममा मेरो विशेष रुची रहन्थ्यो।
हजुरआमा मुस्किलले आफ्नो नामसम्म लेख्नुहुन्थ्यो। उहाँले गर्ने प्रायजस्तो कामलाई रजिस्टरमा उतार्ने जिम्मा मेरो हुन्थ्यो।
भिटामिन ए कार्यक्रम होस् या पोलियो थोपा अभियान, उहाँलाई सघाउने काम हुन्थ्यो मेरो।
महिनाको अन्तिममा उहाँले बुझाउनु पर्ने रिपोर्ट पनि मै तयार पार्थेँ । म घरमा हुँदासम्म मैले सहयोग गरिरहेँ। मेरो अनुपस्थितमा उहाँले अरु अरुको सहयोग लिएर काम गर्नुभयो। दुई वर्षअगाडि हजुरआमाले संसार छाडिसक्नुभयो।
एसएलसीपछि सामान्य चिकित्सा र त्यसपछि जन स्वास्थ्य विषयमा स्नातक अध्ययन गरेँ। जसको कारण यस कार्यक्रमलाई थप बुझ्ने मौका पाएँ। बिगत ८ वर्षदेखि नेपाल सररकारको स्वास्थ्य सेवामा रही काम गरिरहेको छु।
समुदायस्तरमा महिला स्वास्थ्य स्वयंसेविकासँग प्रत्यक्ष रुपले काम गरिरहेको अनुभवको आधारमा यस कार्यक्रमका विधिध पक्षबारे उल्लेख गरेको छु।
कार्यक्रमका सबल पक्षहरू
-समुदायका हरेक घरधुरीसम्म पहुँच हुनु ।
-महिला स्वास्थ्य स्वयंसेविका सबै कुरा (नाम,पोशाक, लोगो,काम) स्थापित हुनु ।
-स्वास्थ्य संस्थाका सबै सूचना भौतिक रुपमा हरेक घरधुरीसम्म लिएर जान सक्नु ।
-महिला स्वास्थ्य स्वयंसेविकाको उपलब्धता र सहयोगका कारण स्वास्थ्यका हरेक अभियानले लक्ष्य हासिल गर्नसक्नु।
-महिला स्वास्थ्य स्वयंसेविका प्रति आम समुदायको भरोसा रहनु।
सुधार गर्नुपर्ने पक्षहरू
-निरक्षर, उमेर पुगिसकेका र शारीरिक रुपले असक्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स-सम्मान बिदा गरी आवश्यकताअनुसार पढेलेखेका महिलालाई सामान्य पारीश्रमित सहित नियुक्ति गर्नु पर्छ।
-आमा समूहको औचित्य धेरैजसो ठाउँमा कागजमा मात्रै देखिएकाले यसलाई विघटन गर्नुपर्छ।
-प्रेषण सेवालाई थप ब्यबस्थित गरि अभिलेख र संचार सहित को प्रेषण सेवा दिने ।
-महिला स्वास्थ्य स्वयंसेविकामाथि गुम्दै गएको विश्वास कायम गर्न विशेष कार्यक्रम सञ्चालनको आवश्यकता छ।
-महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गर्दा आलोपालो प्रणाली नभई कामको मूल्यांकनका आधारमा गर्ने ।
-सूचना बाहकका रुपमा मात्रै नभई आधारभूत स्वास्थ्य सेवामा योगदान गर्ने गरी परिचालन गर्ने। जस्तैः रक्तचाप, उचाई, तौल आदि परीक्षण गर्नसक्ने बनाउने।
-परिवार नियोजनका साधन, पोषण सामग्री वितरण, प्राथमिक उपचार लगायत अति आवश्यक औषधि वितरण गर्न लगाउने।
-सफ्टवेयरको विकास गरी देशैभरका महिला स्वास्थ्य स्वयंसेविकाका कामको अभिखेल राख्ने।
-स्वास्थ्य बिमा कार्यक्रमको लागि सबै महिला स्वास्थ्य स्वयंसेविकालाई बिमा अभिकर्ताको रुपमा काम गर्न लगाउने। -महिला स्वास्थ्य
स्वयंसेविकालाई विपद व्यवस्थापनको तालिम दिई तयारी अवस्थामा राख्ने।
-सरसफाई तथा फोहर व्यवस्थापनमा लगायतका काममा जिम्मेवार बनाउने ।
चुनौतीहरू
-स्वयंसेवक कार्यक्रम भए पनि तलब भत्ता नभएको गुनासो गर्ने।
-अन्य अवसर प्राप्त भएपछि स्वयंसेविकाको काम बीचमै छाड्न सक्ने ।
- सुरुमा काममा प्रतिवद्ध हुने पछि यसलाई खासै प्राथमिकतामा नराख्ने।
-स्थानीय सरकार महिला स्वास्थ्य स्वयंसेविकाप्रति जिम्मेवार नहुने।
-निजी तथा अन्य स्वास्थ्य संस्थाले महिला स्वास्थ्य स्वयंसेविकामाथि विश्वास नगर्ने।
अन्त्यमा
कुनैपनि कार्यक्रमको महत्व सधैँभर एकनास रहँदैन। समयअनुसार यसको महत्व घट्दै वा बढ्दै जान्छ। महिला स्वास्थ्य स्वयंसेविकाको महत्व घट्दो क्रममा छ। स्वास्थ्य सेवामा विस्तार र प्रविधिको विकासले समुदायको आवश्यता बदलिएको छ।
समयको मागअनुसार महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका परिमार्जन गर्न सकिएन भने यस कार्यक्रममा औचित्य समाप्त हुन्छ।
(लेखक हाल भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डु स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत हुनुहुन्छ)
तपाईँको अभिमत