कुकुर पाल्ने व्यक्ति बढी स्वस्थ, यी हुन् कारण :
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुनैबेला कुकुर पहिलो घरपालुवा जनावरको रुपमा चिनिन्थ्यो । अहिले पनि कुकुरलाई सुरक्षाका लागि घरमा पाल्ने गरिन्छ ।
कुकुरलाई साथीदेखि खेतबारीमा काम गर्ने बेला सहाराका रुपमा पनि लिइन्थ्यो । अझै पनि विश्वका कतिपय देशमा कुकुरलाई काम सहयोगका लागि पाल्ने चलन छ । यतिमात्र होइन, कुकुरलाई शिकारका लागि पनि प्रयोग गरिन्थ्यो । सुँघ्ने क्षमता अधिक भएकाले आपराधिक अनुसन्धानमा प्रहरीले कुकुरको प्रयोग गर्दै आएको छ । विभिन्न अनुसन्धानहरूले के देखाएका छन् भने कुकुर मालिकहरूमा अरु व्यक्तिको तुलनामा रोग सँग लड्ने क्षमता बढि हुने र उनीहरू कम बिरामी हुने गरेका छन् । कुकुर मालिकहरू अन्य व्यक्तिको तुलनामा किन बढी स्वस्थ हुन्छन् ??
१.व्यायममा सहभागी
मोटोपन,उच्च रक्तचाप,सुगर,मुटु सम्वन्धि समस्या लगायतका धेरै किसिमका रोगहरू व्यायमबाट नियन्त्रण गर्न सकिन्छ । हामी धेरै व्यायाममा अल्छी गर्छौ । तर कुकुर पाल्ने हो भने,ऊ सँग खेल्दा, हिड्दा व्यायम भइरहेको हुन्छ । कुकुर मालिकहरू कम्तिमा ३० मिनेट वाकिङ गर्छन् जसले गर्दा स्वास्थ्यलाई फाइदा पुगिरहेको हुन्छ ।
२.तनावबाट मुक्ति
कुकुरले ब्रेनलाई ताजगी प्रदान गर्दछ । जसले गर्दा डिप्रेसनको समस्या हुँदैन । दिनभर काममा व्यस्त भई तनावमा घर फर्कदा कुकुरको अनुहारमा हेरे र उसँग एकैछिन खेलेमा मात्र पनि सबै तनाव हट्ने अध्ययनहरूले देखाएका छन् । ब्रिटिस जर्नल अफ हेल्थले सन् २००४ मा गरेको अध्ययनले कुकुर मालिकहरूमा कोलेस्टोरेलको मात्रा कम हुुने, रक्तचाप सन्तुलित हुने तथ्य फेला पार्यो । कोलेस्टोरेल, उच्च रक्तचाप कम हुँदा मुटु सम्बन्धि समस्या नहुने उसको भनाइ छ । ब्रिटिस जर्नल अफ हेल्थले कुकुर मानिसका लागि औषधी भन्दा बढि उपयोगी हुने निष्कर्ष पनि निकालेको छ ।
३. सक्रिय र घुलमिल बानीमा विकास
कुकरले मानिसलाई सक्रिय हुन सिकाउँछ । यो मात्र होइन, सौहार्द र शान्त बन्न पनि कुकुरले सहयोग पुर्याउँछ । कुकुरसँग खेल्दा, हिँड्दा व्यायाम भइरहेको हुन्छ । द जर्नल अफ फिजिकल एक्टिभिटी एण्ड हेल्थले २०१० मा गरेको अनुसन्धानका अनुसार कुकुर मालिकहरू अरु मानिसको तुलनामा कम्तिमा आधा घण्टा बढी हिँडेका मात्र हुँदैनन् हिँडिरहदा उनीहरूमा सामाजिक भावनाको समेत वृद्धि भइरहेको हुन्छ । किनभने वाटोमा कुकुर लिएर हिँड्दा चिनेका नचिनेका मानिसहरू भेट हुन्छन् र उनीहरूसँग कुरा गर्ने मौका मिल्छ जसले घनिष्ठता बढाउँछ ।
४.बालबालिकाहरूको वृत्ति विकास बलियो हुने
साइन्स डेलीका अनुसार कुकुरसँग खेल्न रुचाउने बालबालिकाहरूमा रिसाहापन कम हुने गर्दछ, जसले गर्दा उनीहरूको सोचाई पनि सकारात्मक हुँदै जाने र वृत्ति विकासमा टेवा पुग्नेछ । कुकुरसँग रमाउने बालबालिकाहरूमा रोगसँग लड्न सक्ने क्षमता पनि धेरै हुन्छ जसका कारण उनीहरू बिरामी पनि कम हुन्छन् । सनी बप्फालोका अनुसार कुकुर भएको घरको वातावरण अरु घरको तुलनामा सौहार्दपुर्ण हुन्छ ।
कुकुर बिरालो तथा अरु घरेलु जनावरलाई विदेशमा बालबालिकाहरूको साथीको रुपमा लिइन्छ। नेपालको सन्दर्भमा भन्ने हो भने थाहा नपाएका कारण बालबालिकाहरूलाई घरेलु जनावरवाट टाढा नै राख्ने गरिन्छ ।
५.क्यान्सरबाट जोगिन सकिने
हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ कि कुकुर र मानिसमा लाग्ने धेरै रोगहरू एकै किसिमका हुन्छन् र ती रोगहरूको कारक पनि दुवैमा उही हुने गर्छ । जसमध्ये एउटा प्रमुख घातक रोग हो क्यान्सर ।
कुकुर र मानिसलाई क्यान्सर लगाउने कारक एकै किसिमको हुन्छ जसका कारण कुकुर भएका घरले क्यान्सर लगायतका अरु रोगका बारेमा बुझ्ने मौका पाउँछन् र आफू पनि ती रोगबाट जोगिन सतर्क भइरहेका हुन्छन् । क्यान्सरका सम्बन्धमा अध्ययन गर्नका लागि कुकुरको प्रयोग गर्न सकिन्छ ।
६.मुटु सम्बन्धि समस्या कम हुने
कुकुर भएको घरका मानिसहरूमा मुटु सम्बन्धि रोग पनि कम लाग्ने गरेको पाइन्छ ।
७.रोग पहिचानमा कुकुरको प्रयोग
मानिस र कुकुरमा लाग्ने धेरै रोगहरू एकै किसिमको हुने भएकाले मेडिकल क्षेत्रमा रोग पहिचानका लागि कुकुरको प्रयोग गर्ने गरिन्छ ।
८.कुकुरले असल व्यक्ति बनाउने
कुकुरसँग खेल्दा, हिँड्दा र विभिन्न तरिकाबाट समय बिताउँदा मानिसलाई असल र सकारात्मक व्यवहारको विकास भइरहेको हुन्छ । कुकरलाई खाने, बस्ने, को सँग कस्तो व्यवहार गराउने ,सही गलत लगायतका शिक्षा प्रदान गरारहँदा अप्रत्यक्ष रुपमा कुकुर मालिकलाई पनि जिम्मेवारी बहन र प्रतिवद्धता पूरा गराउन शिक्षा प्राप्त भइरहेको हुन्छ । जसका कारण कुकुर मालिकहरू अरु व्यक्तिका तुलनामा बढी स्मार्ट देखिन्छन् ।
९.सुरक्षित हुने
कुकुरले घरको सुरक्षा पनि गराइरहेको हुन्छ । कोही अपरिचित व्यक्ति देखेमा कुकुर भुक्ने भएकाले उसको भुकाइले कुकुर मालिकहरू सतर्क हुने र भवितव्व घटनाबाट जोगिन सकिने हुन्छ।
यसरी कुकुरबाट फाइदा हुने तथ्यहरू बाहिर आइसकेको अवस्थामा समयसँगै विभिन्न कारणले घरायसी काममा कुकुरको प्रयोग घट्दै गएको छ । तर घरमा कुकुर पाल्ने सौखिनहरू भने बढेका छन् । कुकुरलाई कामको लागि नभई राम्रो साथी तथा जानकारहरू स्वस्थ रहन पाल्न थालेका छन् । पछिल्लो २/४ वर्षमा कुकुर सौखिन नेपालीको संख्या बढ्दै गएको छ । पत्याउन गाह्रो पर्ला तर अहिले नेपालीले कुकरका एउटा छाउरा छाउरीलाई ६ हजार देखि २ लाख सम्म तिरेर किन्ने गर्छन् ।
(२०७७ कार्तिक १६ गते पहिलो पटक प्रकाशित यो सामग्री पुन प्रकाशित गरिएको हो ।)
हेल्थपाटी
तपाईँको अभिमत