‘कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी’
नेपाली कांग्रेसका नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी रहेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहाेर्ने बताउनुभएको खबर बाहिर आएपछि थापाले यसको विरोध जनाउनुभएको हो ।
उहाँले अघिल्लो सरकारले कानून विपरीत गरेको निर्णयको भारी अहिलेको सरकारले बोक्न नहुनेमा प्रधानमन्त्री देउवालाई सचेत गराउनुभयो । पूर्वस्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले फेसवुकमा लेख्नुभएको छ, ‘२०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा हाम्रै पहल र संशोधनमा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनूभन्ने व्यवस्था छ र उक्त कानून २०७५/६/२ गतेदेखि लागू भइसकेको छ।
यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन । कानूनको यो व्यवस्थाको सम्बन्धमा सम्मानीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ। जहाँसम्म पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छौँ।नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्याउनु भएका झलनाथ खनालले पछिल्लो पटक निजी नाफा घाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनु भएको छ यसले उहाँको कद अझ बढेको छ।’
हेल्थपाटी 
तपाईँको अभिमत