महामारीमा अग्रपंक्तिमा खट्दा ‘प्रवल जनसेवा श्री’ बाट सम्मानित नर्सकाे अनुभव
मेहेनतको फल प्राप्त भएरै छाड्छ
पार्वती विष्ट नेपालको जनस्वास्थ्य क्षेत्रमा काम गरिरहनुभएको एक नर्स हुनुहुन्छ । उहाँले कोभिड–१९ बाट बच्न र नियन्त्रणका लागि गर्नुभएको योगदान स्वरूप प्रवल जनसेवा श्री पदक पाउनुभएको छ । विष्टले नेपालका केही महामारी रोग नर्सहरूमध्येबाट कोभिड–१९ महामारीका बखत अग्रपंक्तिमा काम गर्ने निर्णय लिनुभयो ।
जुनबेला उहाँका कयौँ साथीहरू यसबाट पन्छिनुभएको थियो । उहाँमा दुई वर्षीया छोरीसँग टाढिएर बस्नुपर्ने अर्को बाध्यता पनि थियो । उहाँले छोरीलाई नभेट्नुभएको महिना दिन भन्दा बढी भइसकेको छ । विष्टले कोभिड–१९ को केन्द्रिय व्यक्तिका रूपमा भोग्नुभएका अनुभव बताउनुभएको छ । प्रस्तुत छ उहाँको अनुभवको अंश :
तपाईँ आफ्नो परिचय कसरी दिनुहुन्छ ?
म पार्वती विष्ट हुँ । म स्वास्थ्य कार्यालय टेकु काठमाडौँमा जनस्वास्थ्य नर्सिङ अधिकारी छु । मेरो जन्म दार्चुलामा भयो । मैले नर्सिङ अन्तर्गत पीसीएल (प्रवीणता प्रमाणपत्र) तह आफ्नै जिल्लाबाटै गरेँ । त्यसपछि २०६७ सालमा सरकारी सेवामा प्रवेश गरेर कञ्जरपुरमा २०७२ सालसम्म काम गरेँ ।
२०७३ सालमा टेकुमा आउनुभन्दा पहिले एक वर्ष डडेलधुरामा पनि काम गरेकी छु । मैले आईओएम त्रिविबाट कम्यूनिटी हेल्थमा स्नातक गरेकी छु । टेकुमा मैले प्रजनन स्वास्थ्य कार्यक्रमहरू हेर्ने गर्छु । तर २०७६ को फागुनदेखि कोभिड–१९ को केन्द्रित व्यक्तिका रूपमा काम गर्दै आइरहेकी छु । साथै काठमाडौँ जिल्लाको महामारी कार्यक्रमको पनि नेतृत्व गर्दै आइरहेकी छु ।
तपाईँलाई नर्सिङ गर्न केले प्रेरित गर्याे ?
यसको रोचक कथा छ । सानो हुँदा जति अस्पताल गएँ त्योबला स्वास्थ्यकर्मीले सेवाग्राहीसँग रुखो व्यवहार गरेको देखेँ । त्यसैले अस्पताल कहिल्यै नजाने र स्वास्थ्य क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहेको थिइनँ । मेरो एसएलसीपछि एक जना नातेदार घरमा आउनुभयो र बुबालाई नर्सिङमा राम्रो र धेरै ठुलो भविष्य हुने बताउनुभयो ।
यो त्यस्तै २०६२ सालतिरको कुरा हो । अनि बुबाले मलाई प्रवेश परीक्षा दिन भन्नुभयो । नढाँटिकन भन्नुपर्दा मलाई नर्सिङका बारे केही पनि थाहा थिएन । मैले अलि अलि एसिस्टेन्ट नर्स र मिडवाइफ ट्रेनिङको बारेमा त सुनेको थिएँ, तर नर्सिङकै बारेमा चाहिँ सुनेको थिइनँ । बुबालाई स्टाफ नर्स गर्ने खर्च जुटाउन गाह्रो थियो ।
त्यो बला स्टाफ नर्स सक्न त्यस्तै ४ लाख लाग्थ्यो । भाग्यवश, प्रवेश परीक्षा पार गरेँ र बुबाले आवश्यक रकमको जाहो गर्नुभयो । मेरो पीसीएल नर्सिङ सकिएपछि मैले सरकारी सेवामा प्रवेश गर्नुपहिले एक एनजीओ र निजी अस्पतालमा काम गरेँ ।
कोभिड–१९ ले कसरी तपाईँको भूमिका र दायित्वहरूमा परिवर्तन गराएको छ ? अनि तपाईँको व्यक्तिगत र पारिवारिक जीवनमा कस्तो असर गरेको छ ?
मेरो खास कोभिड–१९ मा काम चाहिँ चीनको वुहानबाट नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याइएपछि सुरु भयो । त्यो भन्दा पहिले त डेन्गु तथा मलेरिया लगायतका नियमित कामहरू नै गरिरहेका थियौँ । अरूहरू डराइरहेका बेला महामारी रोग नर्स भएका नाताले पनि मैले कोभिड–१९ महामारीमा काम गर्ने निर्णय गरेँ ।
तुरुन्तै मलाई दुवाकोटको क्वारेन्टिन केन्द्रमा जिम्मेवारी दिइयो । जहाँ वुहानबाट ल्याइएका विद्यर्थी लगायतलाई राखिएको थियो । क्वारेन्टिन व्यवस्थापनमा हाम्रो सहयोगको राम्रो प्रशंसा भएको थियो । यो मेरो कोभिड–१९ कार्यक्रममा पहिलो सहभागिता थियो ।
परिवर्तनको कुरामा धेरै परिवर्तन भएको छ । जब मैले कोभिड–१९ को केन्द्र व्यक्तिका रूपमा काम गर्न सुरु गरेँ, पहिलो कुरा त मेरी छोरीलाई मेरा आमाबुबाकहाँ पठाउनु पर्यो किनकी मैले कहिलेकाहीँ त २४ सै घण्टा काम गर्नुपर्थ्याे । मैले काठमाडौँ छिर्ने नाकाहरू थानकोट, जर्सिङपौवा, दक्षिणकाली लगायत हेर्ने गर्थेँ ।
त्यस्तै कोभिडका मामलाको जाँच समेत मैले नै गर्थेँ । कहिलेकाहीँ त बिरामीले मध्य रातमा फोन गरेर उहाँको उपचार गर्न म पुगिन भने सडक मर्ने कुरा गर्नुहुन्थ्यो ।
यसले गर्दा मैले मेरी छोरीलाई समय दिन सकिनँ अनि मैले बुबाआमाको घर कञ्चनपुर पठाएँ । छोरीसँग अलग्गिएर बसेको पनि एक वर्ष हुन लाग्यो ।
हामी सेना, प्रहरी तथा अन्य समूहसँग बाहिर लामो समयसम्म काम गर्नुपर्दा घरमा कहिलेकाहीँ मनमुटाव पनि हुन्छ । धेरैजसो १० बजे रातिपछि मात्र घर फर्किन्छु ।
अनि घरका मानिस कोभिड–१९ फैलाउने हुँ कि भनेर डराउँछन् । हामी बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर पनि क्वारेन्टिन र आरा मगर्ने समय पाउँदैनौँ । हामीले आवश्यक सावधानी अपनाएर काम गर्यौँ । अवस्था त्यस्तो थियो ।
कुनैबेला एकैदिन २ हजार भन्दा बढी केसहरू हेर्नुपर्ने हुन्थ्यो । त्योबेला एकजनाले दुई सय जनाको अवस्था हेर्नुपर्थ्याे । हामी सबै जना मानसिक रूपमा थाकेका हुन्थ्यौँ ।
तर पनि म खुसी छु कि हामीले कुनै अतिरिक्त प्रोत्साहन भत्ताबिना नै हाम्रो सक्दो राम्रो गर्यौँ । कामको मापन गर्ने हो भने मैले व्यक्तिगत रूपमा एक लाखभन्दा बढी फोन नै गरेँ हुँला ।
मलाई यसको पूर्तिको कुनै अपेक्षा छैन र पर्दैन पनि । तर कडा मेहेनतको फल प्राप्त भएको छ । काठमाडौँ जिल्ला सीसीएमसीले मेरो योगदानको पहिचान गरी प्रवल जनसेवा श्री पदक प्रदान गरेको छ ।
धेरै स्थानहरूमा अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूमाथि लाञ्छना लगाइए । यस्तो तपाईँले भोग्नुभएको छ ?
त्यस्तो खासै त छैन । तर मेरी छोरी दुई वर्षभन्दा सानो भएकीले मलाई परिवारका सदस्यले चाहिँ कोभिड–१९ मा काम नगर्न निरुत्साहित गर्नुभयो ।
मैले नेतृत्व गरेका स्थानीय तहका समुदायले पनि मलाई कुनै अनौठो नजरले हेरेनन् । तर मलाई फिल्ड भिजिट गएको बेला उहाँहरूले देख्नुभएन भने चाहिँ ममाथि शंकालु नजरले हेर्नुहुन्थ्यो । उहाँहरू कतै म क्वारेन्टिन वा संक्रमण भएर आइसालेसनमा त थिइन भनेर प्रश्न गर्नुहुन्थ्यो ।
कोभिड–१९ संक्रमितसँग काम गर्दाका केही सम्झनयोग्य घटनाहरू बताइदिन सक्नुहुन्छ होला ?
सुरुवातमा कोभिड–१९ संक्रमितलाई कुनै भगौडालाई खोज्दै लगेर भेट्टाएर समाती ल्याएझैँ अस्पताल ल्याइन्थ्यो । यस्तो घटना एक जना नर्स संक्रमित हुँदा जब उनी अस्पताल आउन चाहिनन् तब देखेकी छु । उनलाई मनाउन कसैले सकेन ।
त्यसपछि उनलाई घरमै सख्त क्वारेन्टिनमा रहन भनियो । तर त्यतिबेला ‘होम क्वारेन्टिन’को व्यवस्था थिएन । त्यतिबेला मैले लगातार चार घण्टासम्म अस्पताल आउन भनेर परामर्श गरेको सम्झन्छु ।
त्यस दिन म आफैँलाई माइग्रेनले सताइरहेको थियो । एकातिर उनलाई परामर्श दिइरहेकी थिएँ, अर्कातिर म माइग्रेनको समस्याले बान्ता हुने लगायतको समस्या भोगिरहेकी थिएँ । अन्त्यमा उनलाई अस्पताल आउन मनाएरै छाडेँ ।
दोस्रो चाहिँ संक्रमितको मृत्युको केस छ । मैले शवलाई ‘हेन्डओभर’ गर्नु थियो । तर मैले फोन गरेको मान्छे चाहिँ मसँग धेरै फोन आएको भन्दै अभद्र किसिमको व्यवहार गर्नुहुन्थ्यो ।
जब अस्पतालबाट फोन गरेको भनेपछि चाहिँ भद्र भएर समन्वय गर्न थाल्नुहुन्थ्यो । उहाँलाई शव कसरी प्राप्त गर्ने भनेर केही जानकारी थिएन ।
त्यसपछि मैले यताउता फोन गरेँ अनि शव हस्तान्तरण गर्ने व्यवस्था मिलाएँ । प्रक्रिया करिब चार घण्टा नै चल्यो । पछि ती व्यक्तिले फोन गरेर माफ माग्दै उहाँहरूको लागि म ‘भगवान’ भएको बताउनुभयो ।
धेरै मेरा साथीहरूले सेवाग्राहीले अभद्र व्यवहार गर्ने गरेको गुनासो गर्नुहुन्छ । तर मलाई विश्वास छ कि सायद सुरुवातमा परेसान हुनुहोला, तर हामीले उहाँहरूको कुरा बुझ्नुपर्छ भन्ने लाग्छ किनभने उहाँहरूलाई सहयोग गर्नकै लागि यहाँ हामी छौँ ।
तपाईँलाई परीक्षण र उपचार प्रणालीमा के सुधार गर्न सकिन्छ भन्ने लाग्छ ?
कोभिड–१९ का बारे जति धेरै बुझ्दै गइरहेका छौँ, त्यति नै नीतिहरू पनि परिवर्तन भइरहेका छन् । यसले मानिसमा दोधार पनि सिर्जना गर्छ । सुरुवातमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङको काम राम्रोसँग भइरहेको थियो । तर सरकारले सबैको परीक्षण निःशुल्क नगर्ने भनेपछि यसमा असर पर्यो ।
धेरै संक्रमितहरू उपचारका लागि अस्पताल जानुभन्दा घरमै रहनुभयो । नेपाल जस्तो सानो र गरिब देशले सबै थोक निःशुल्क गर्न सक्दैन । निःशुल्क सेवाको पनि कतिपयले दुरुपयोग गर्नुभयो । यतिसम्म कि खर्च गर्न सक्नेहरूले पनि गरिब भन्दै सेवा लिनुभयो । खासमा आवश्यक परेको व्यक्तिले सेवा लिन पाउनुभएन ।
जहाँसम्म मलाई लाग्छ, सबैलाई निःशुल्क गर्नुभन्दा पनि कसले निःशुल्क पाउने र कसले नपाउने भन्ने कुरा निश्चित मापदण्डका आधारमा हुनुपर्छ । जसले खर्च गर्न सक्छ उसले जहाँसुकै पनि गुणात्मक सेवा प्राप्त गर्न सक्छ ।
त्यहाँ राम्रो मूल्यांकन प्रक्रिया हुनुपर्छ । यस्तो घरिघरिको निर्णय परिवर्तनले जनमानसमा नकारात्मक असर पर्न जान्छ । यसरी नीति निर्माताहरूले छोटो अवधिका विषयलाई भन्दा लामो र ठुलो परिणामलाई विचार पुर्याएर नीति निर्माण गर्नुपर्छ ।
कोभिड–१९ पछि नेपालको स्वास्थ्य सेवा प्रणालीमा कस्तो परिवर्तन होला ?
पहिले स्थानीय तहका अधिकारीहरू सडक निर्माण जस्तो भौतिक संरचनाको विकासमा मात्र केन्द्रित हुनुभयो । तर अहिले स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ भन्ने महसुस भएको छ ।
अनि अहिले हाम्रो स्वास्थ्य क्षेत्रमा पनि राम्रो बजेट विनियोजन हुन थालेको छ । केन्द्र तहबाट पनि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएको छ । अधिकारीहरूले पूर्वतयारीमा लगानी गरिरहनु भएको छ ।
यो तयारी महामारीका लागि मात्र होइन सर्ने र नसर्ने रोगका लागि पनि तयारी हो । यसले सबै तहमा सकारात्मक प्रभाव परेको छ । स्थानीय तहहरूले विभिन्न प्याकेजको पनि घोषणा गरेका छन् । पक्कै पनि अहिले यस क्षेत्रमा परिवर्तन हुन थालेको देखिन्छ ।
विश्वव्यापी स्वास्थ्य क्षेत्रको आवश्यकता कोभिड–१९ ले अझ थप गरेको छ । यसमा तपाईँको राय के छ ?
विश्वव्यापी स्वास्थ्य क्षेत्रको मतलब सबै मानिसले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो । यसमा आर्थिक, क्षेत्रगत वा सामाजिक हिसाबले भेदभाव हुनु हुँदैन भन्ने हो ।
आधारभूत स्वास्थ्य सेवामा १५/१६ वटा सेवाहरू पर्दछन् । जस्तो कि मातृ शिशु स्वास्थ्य सेवा । यसैगरी खोप कार्यक्रमलगातका अन्य थुप्रै कार्यक्रमहरू रहेका छन् । नसर्ने रोगहरूको सवालमा, जस्तो कि मुटु रोग, मिर्गौला तथा फोक्सोको रोगीहरूलाई नेपाल सरकारले निःशुल्क औषधीको व्यवस्था गरेको छ ।
सर्ने रोग, जस्तो एचआईभी, टिबी लगायतमा पनि कार्यक्रम निरन्तर चलिरहेका छन् । यो विश्वव्यापी स्वास्थ्य क्षेत्र आवश्यक छ । तर यसको निश्चित क्षेत्र तोकिनुपर्छ । अनि खास आवश्यक भएको व्यक्तिले यो सेवा प्राप्त गर्नुपर्छ । यहाँ त धनी र शक्तिमा भएकाहरूले मात्र सेवामा पहुँच राख्ने गरेको पाइन्छ ।
(प्रस्तुत अन्तर्वार्ता डिसेम्बर १२ मा प्रकाशित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वेवसाइटबाट लिइएको हो ।)
हेल्थपाटी
तपाईँको अभिमत