ललितपुरको गोदावरीमा घरमाथिको ढिस्कोले पुरेर बाबु, छोरीको मृत्यु
अबिरल वर्षाका कारण कान्ला भत्किएर टहरो पुर्दा ललितपुरको गोदावरीमा बाबु, छोरीको मृत्यु भएको छ। गोदावरी नगरपालिका–३ शान्ति टोलमा आज बिहान ५ बजे घटना घटेको बाडेगाउँ प्रहरी वृत्तका असई अमृत कार्कीले जानकारी दिए।
घटनामा परी ३१ वर्षीय पवन नगरकोटी र उनकी ९ वर्षीया छोरी प्रेमशिला नगरकोटीको मृत्यु भएको छ। पवनकी पत्नी २९ वर्षीया प्रमिला नगरकोटी सकुसल रहिन् भने उनीहरूका २ वर्षीय छोरा रिअनलाई पुरिएको अवस्थाबाट उद्धार गरिएको थियो।
ढिस्कोले पुरेको टहरोनजिकै नगरकोटी परिवारको घर बन्दै थियो। घर साढे २ तला पुगिसकेको छ। बन्दै गरेको घरनजिकै कान्लानिर जस्ता र बासको टहरो बनाएर उनीहरू बस्दै आएका थिए।
घटनापछि सबैलाई ठैबस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल पुग्दा बाबु छोरीलाई चिकित्सकले मृत घोषित गरेका थिए। आमा छोराको अवस्था समान्य रहेको प्रहरी तथा स्थानीयको भनाइ छ।
प्रमिला आफैँ पुरिएको स्थानबाट निस्किएर हालगुहार गरेकी थिइन्। अन्य ३ जनालाई भने पुरिएको अवस्थाबाट निकालिएको प्रत्यक्षदर्शीले जानकारी दिए।
तपाईँको अभिमत