२४ लाख खोप हराएकै हो ? स्वास्थ्य मन्त्रीको यस्तो स्पष्टीकरण
२४ लाख खोप हराएको भन्ने विषय हल्ला मात्रै भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताउनु भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले विवरण समयमै अपडेट नहुँदा समस्या देखिएको जानकारी दिनुभयो।
प्रदेश जिल्ला, पालिका सबैबाट प्राप्त गरेको, लगाएको र खेर गएको खोपबारे जानकारी आएपछि यसबारे पत्ता लाग्ने बताउनु भयो ।
अहिले प्रत्येक केन्द्रमा खेर गएका खोपको संख्याबारे विवरण नआउँदा पनि हराएजस्तो देखिएको उहाँको भनाइ छ । ‘हरेक केन्द्रमा प्रत्येक दिन केही न केही मात्रा खोप खेर जान्छ’ मन्त्री खतिवडाले भन्नुभयो, ‘जस्तो १० डोजको भाइल खोलियो। अन्तिममा ८ जनामात्रै लगाउन आए २ मात्रा त खेर जान्छ, २ मात्रा मात्रै लगाए ८ मात्रा खेर जान्छ, यो विवरण पनि पठाउन भनेका छौँ।’
केहीले कोरोनाको डरका कारण पहुँचका वा भनसुनका भरमा बिना रेकर्डा बुस्टर डोज लगाएको हो कि भन्ने आशंका पनि रहेको उहाँले बताउनु भयो । सरकारले बुस्टर डोज खोप सुरु नगरीकनै कसैले लगाएको भए, उक्त केन्द्रमा गएर विवरण टिपाइ कार्ड लिन मन्त्री खतिवडाले आग्रह गर्नुभयो।
‘कसैले स्वास्थ्य सुरक्षाका लागि सानो बदमासी गरेको हुनसक्छ, त्यो ठूलो अपराध होइन, अब लाज नमानी, खोप लगाएको केन्द्रमा गएर कार्ड लिनुहोस्’ खतिवडाले आग्रह गर्नुभयो ।
त्यसाे गरिएको प्रमाण अहिलेसम्म नभेटिएकोले आशंका मात्रै गरिएको उहाँको भनाइ छ।
मन्त्रालयका विशेषज्ञ चिकित्सक डा.गुणराज लोहनीको नेतृत्वमा गठन भएको छानबिन समितिको रिपोर्ट आएपछि यसबारे स्पष्ट हुने पनि मन्त्री खतिवडाले बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत