सेरमले २०२१ अन्त्यसम्म खोप नदिने : नेपालकाे खोप कार्यक्रम प्रभावित
काठमाडौं । कोरोना विरुद्धको खोप कोभिशिल्ड उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यसम्म खोप निर्यात नगर्ने जानकारी दिएको छ ।
सेरमले विज्ञप्ती निकालेर अहिले आफ्नो देशमा संक्रमण बढेको र त्यही माग अत्याधिक रहेकाले अन्य देशमा निर्यात रोक्न परेको बताएको छ । सेरमले कोभ्याक्स सुविधा मार्फत छिट्टै खोप वितरण गर्ने विश्वास व्यक्त गर्दै अन्य देशमा भने सन् २०२१ के अन्त्यसम्म निर्यात सुरु गर्ने स्पष्ट पारेको छ ।
सन् २०२० को सुरुवात देखिनै खोपका लागि अरु देशहरुसँगको सहकार्य सुरु भएको स्मरण गर्दै सेरमले भावि दिनमा पनि आफ्नो सहयोग सधै रहिरहने उल्लेख सेरमले विज्ञप्तीमा गरेको छ ।
सेरमले तत्कालै कोभिशिल्ड अन्य देशमा नदिने जनाएपछि नेपालमा पनि कोभिशिल्ड खोप कार्यक्रम प्रभावित हुने देखिएको छ । नेपालमा कोभिशिल्ड पहिलो मात्रा १८ लाख २३ हजार ६६३ जनाले लगाएका छन् भने ३ लाख ७० हजार ३२६ जनाले दोस्रो मात्रा लगाएका छन् ।
६५ वर्षमाथिका ९ लाख जेष्ठ नागरिकले पहिलो मात्रा लगाएका छन् । कोभिशिल्ड आउने अनिश्चित भएपछि उनीहरु सहित १४ लाख ५३ हजार ३३७ जनाले पाउनपर्ने दोस्रो मात्रा पनि अन्यौलमा परेको छ ।
कोभिशिल्ड पहिलो मात्रा लगाएको ८ हप्तापछि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्छ । माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन गत वैशाख ७ देखि अभियान सञ्चालन गरिएको थियो । नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप आउन बाँकी छ । संक्रमण बढ्दै जाँदा नेपालमा पनि खोपको माग बढेको छ ।
तपाईँको अभिमत