ज्येष्ठ नागरिकलाई साउन २५ गतेबाट कोभिशिल्डको दोस्रो मात्रा लगाइने
कोरोना विरुद्धको खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई साउन २५ गतेबाट दोस्रो मात्रा लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गते (आज) बसेको सचिव स्तरीय बैठकले भुटान र जापानबाट आएको एष्ट्रेजेनेकाको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउने निर्णय भएको खोप शाखा प्रमुख डा.झलकशर्मा गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भुटानबाट २ लाख ३० हजार डोज आइसकेको र जापानबाट भोली र पर्सि गरि ८ लाख डोज खोप आउने छ । जापानले अनुदानमा एष्ट्रेजेनेकाको १६ लाख डोज खोप आउने छ जसमध्ये भोली र पर्सि ८ लाख खोप आउने उहाँले बताउनुभयो ।
गौतमले कोभिशिल्डको पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउने सबैलाई दोस्रो मात्रा दिइने बताउनुभयो । उहाँले बाँकी रहेको खोप वैदेशिक रोजगारीमा जाने, अध्ययन अन्य प्रयोजनका लागि विदेश जाने व्यक्तिहरु, डाइलाइसिस गर्नुपर्ने र गरिरहेको बिरामी, अंग प्रत्यारोपण गरिएका व्यक्ति र क्यान्सर बिरामीलाई दोस्रो मात्राको सुनिश्चित गरेर पहिलो मात्रा दिइने बताउनुभयो ।
करीब १४ लाख ज्येष्ठ नागरिकहरुले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी छ ।
हेल्थपाटी
तपाईँको अभिमत