अब कोरोना परीक्षण गर्भ परीक्षण गरे जस्तै गरि, नतिजा १५ देखि ३० मिनेटमा
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटोछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने जानकारी दिएको छ । सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्लूएचओ प्रमुख अधानोम टेड्रोसले ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड र्यापिड डायग्नोस्टिक टेस्ट’ गरिने जानकारी दिनुभएको हो ।
डब्लूएचओका अनुसार यो परीक्षण गर्भ परीक्षण जस्तै हुनेछ । टेस्ट किटमा दुई वटा निलो धर्सा देखिए कोरोना पोजिटिभ भएको मानिनेछ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने विश्वास लिइएको छ ।
उहाँले न्यून र मध्यम आय भएका मुलुकहरुमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने बताउनुभयो । र्यापिड डायग्नोस्टिक टेस्टका लागि ५ अमेरिकी डलर लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउनेछ, यसले कन्ट्याक्ट ट्रेसिङलाई पनि सहज बनाउनेछ, टेड्रोसले भन्नुभयो ।
‘सजिलै लिएर हिँड्न सकिने र सहज तरिकाको नयाँ परीक्षणको नतिजा १५ देखि ३० मिनेटसम्ममा आउँछ, अब परीक्षणको नतिजाका लागि केही दिन कुर्नुपर्ने बाध्यता हट्छ,’ महानिर्देशक टेड्रोसले भन्नुभयो, यो विधि कोरोना परीक्षणको लागि कोशेढुंगा हुनेछ ।
परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट किट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको डब्लूएचओले जनाएको छ । सम्झौताअनुसार कम आम्दानी भएका विश्वका १३३ देशहरुमा परीक्षण किट उपलब्ध गराइनेछ । जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।
दि गार्डियनबाट ।
हेल्थपाटी 
तपाईँको अभिमत