पोखरा आसपासका क्षेत्रमा आँखाको रोग ‘सापू’का बिरामी बढे

फाइल फोटो।
पोखरा र आसपासमा क्षेत्रमा आँखाको रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामी बढेका छन्।
एक महिनामा २६ जनामा ‘सापू’को सङ्क्रमण भेटिएको पोखरास्थित हिमालयन आँखा अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यस वर्षको पहिलो बिरामी गत भदौ २४ गते भेटिएको थियो।
अस्पतालका अनुसार गएको मंगलबारसम्ममा २६ जनामा सापू देखिएको छ। सङ्क्रमण विस्तारै बढ्दो क्रममा रहेको अस्पतालका मेडिकल निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. इलिया श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालमा गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, स्याङ्जालगायत ठाउँका बिरामी उपचाररत छन्। सात महिनाको शिशुमासमेत उक्त रोेगको देखिएको डा. इलिया बताउनुहुन्छ।
'सापू सक्रमणले आँखा जटिल अवस्थामा पुगेका बिरामीको पनि हामीले उपचार गरिरहेका छौँ' डा. इलिया भन्नुहुन्छ, 'कोही निको भएर घर फर्किसक्नुभएको छ।'
बेलैमा उपचार भएमा यो रोग निको हुने नत्र दृष्टि नै गुम्ने खतरा रहेको उहाँ बताउनुहुन्छ ।
डा. इलियाका अनुसार वर्षायाम सकिएपछि नेपालको मध्यपहाडी क्षेत्रमा ‘सापू’को सङ्क्रमण फैलिने गरेको छ । विशेष गरी असोजदेखि मंसिरसम्म ‘सापू’ले प्रकोपको रुप लिँदै आएको छ।
बत्तीमा झुम्मिने कालो धर्सा भएको सेतो पुतलीको सम्पर्कबाट ‘सापू’ रोग लाग्ने गरेको डा.अलियाले बताइन्।
'सापूको रोगको यकिन कारण अझै पत्ता लागेको छैन, सेतो पुतलीको रौँ आँखामा पुग्दा यसको सङ्क्रमण हुने गरेको छ ।
लक्षण देखिएको ४८ घण्टाभित्र उपचार नपाए दृष्टि नै गुम्न सक्छ । जटिल अवस्थाका बिरामीलाई आँखाभित्र औषधिको सुइ लगाएर शल्यक्रियामार्फत उपचार गर्ने गरिएको चिकित्सक बताउँछन्।
पहिलोपटक सन् १९७५ मा पोखराको नारायणटारमा ‘सापू’ रोग भेटिएको थियो। नेत्ररोग विशेषज्ञ डा मदन उपाध्यायले यो रोग पत्ता लगाएका थिए। बर्सेनी पोखरा र आसपासका क्षेत्रमा यो रोगको सङ्क्रमण बढी देखिने गरेको हिमालय आँखा अस्पतालले जनाएको छ।
यो रोगबारे समुदायमा सचेतनाको जरुरी रहेको डा.अलिया बताउनुहुन्छ ।
उमा आलेमगर
तपाईँको अभिमत