स्वास्थ्य बीमाको प्रिमियम मुद्रा स्फितिको अवस्थालाई हेरेर वृद्धि गरिनुपर्छ : निर्देशक डा. काफ्ले
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमाको प्रिमियम वृद्धि गर्नुपर्ने बताउनुभयो । हालको अवस्थामा प्रिमियम वृद्धि गरेर त्यसलाई स्वचालित बनाइनुपर्ने उहाँको भनाइ छ ।
मंगलबार बोर्डको कार्यालय बबरमहलमा पत्रकारहरूसँगको अन्तरक्रियामा उहाँले केही प्रिमियम बढाएर त्यसपछि मुद्रा स्फितिको अवस्थाअनुसार स्वचालित रूपमा प्रिमियम कायम गर्नुपर्ने बताउनुभएको हो ।
‘अहिलेको प्रिमियम रु. ३,५०० कम नै भएको हो । केही वृद्धि गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि मुद्रास्फितिको आधारमा स्वास्थ्य बीमा प्रिमियम निर्धारण गरौँ । हरेक वर्ष समीक्षा हुन्छ । त्यसपछि प्रिमियम बढ्न वा घट्न सक्छ ।’
स्वास्थ्य बीमाका बारे नकारात्मक कुरा फैलाइएको भन्दै उहाँले सकारात्मक हुन पनि उहाँले आग्रह गर्नुभयो । विपन्न नागरिकले तुरुन्त एक लाख वा दीर्घरोगमा दिइँदै आइएको दुई लाख रुपैयाँ जोहो गर्न नसक्ने भन्नुहुँदै उहाँले बीमाबाट सुविधा लिइरहेको बताउनुभयो । ‘विपन्न नागरिकले कम्तिमा पनि दुई लाखसम्म उपचार खर्च बीमाबाट पाइरहेका छन् । त्यो सकारात्मक कुरा हेर्नुप¥यो नि’, उहाँले भन्नुभयो ।
बोर्डको कमजोरी समेत रहेको स्विकार गर्दै उहाँले सुधार गर्न लागिएको दाबी गर्नुभयो ।
यसै आर्थिक वर्षको मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार १,०२,२०,००८ जना अर्थात् कुल जनसङ्ख्याको ३५ प्रतिशत स्वास्थ्य बीमामा आवद्ध भएका छन् । त्यस्तै हाल सक्रिय बीमामा आवद्ध सङ्ख्या ६८,४५,९३५ रहेको छ ।
बोर्डका अनुसार बीमामा आवद्ध भएकामध्ये ७२ प्रतिशतले सेवा लिएका छन् ।
यसैगरी २०८१ चैत मसान्तसम्मको दाबी भुक्तानी गरिएको छ भने २०८२ असोज मसान्तसम्मको दाबी ४६ प्रतिशत स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरिएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत