सार्वजनिक बिदामा सेवा : अन्य क्षेत्रले उहिल्यै सुरु गरे, स्वास्थ्यमा लागू गर्दा किन आपत्ति ? (भिडियो)
भर्खरै सरकारले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालमा ओपीडीसहितका सेवा सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णय अव्यवहारिक र अवैज्ञानिक भएकाले फिर्ता लिनुपर्ने माग एकथरी चिकित्सक, स्वास्थ्यकर्मीको रहेको छ ।
यो निर्णयले चिकित्सक, स्वास्थ्यकर्मीलाई कुनै मर्का नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताउनुभयो । सार्वजनिक विदाका दिनमा सेवा सञ्चालन गर्ने विषयमा वास्तविकता नबुझी सतही रुपमा चर्चा भइरहेको डा.बुढाथोकीको भनाइ छ।
'हामीसँग भएका विभिन्न बिदामध्ये २४ वटा बिदामा मात्रै अन्य दिनजस्तै बरिहरंग सेवा सञ्चालन गरी सेवा दिनुपर्ने हो’ डा.बुढाथोकीले भन्नुभयो, ‘वर्षभरीमा पाउने शनिबार, त्यसपछि हामीले पाउने नयाँ वर्षको, विभिन्न धार्मिक बिदा, दशैँ, तिहार लगायत अन्य १७ दिनमा अस्पताल खोल्नु पर्दैन।’
हेल्थपाटीसँगको कुराकानीमा डा.बुढाथोकीले अन्य क्षेत्रमा केही महिना पहिल्यैबाट सुरु भएको कुरा स्वास्थ्य क्षेत्रमा भर्खरै लागू गर्न खोजिएको जानकारी दिनुभयो ।
‘विगत केही समयदेखि हुलाकहरुले, टेलिकमले, जिल्ला प्रशासनले, राहदानी विभागले जसरी ती दिनमा कार्यालय खोलिरहेको छ, त्यसरी नै स्वास्थ्य सेवाले पनि खोल्ने भन्ने परिपत्र हो’ उहाँले स्पष्ट पार्नुभयो ।
डा.बुढाथोकीका अनुसार सार्वजनिक बिदाका दिनमा काम गरेबापत सट्टा बिदा दिने कुरा राजपत्रमा उल्लेख छ । यदि ३ महिनाभित्र सट्टा बिदा दिने अवस्था नभएमा एक दिनको पारीश्रमिक बराबर भत्ता दिनुपर्ने प्रावधान स्वास्थ्य सेवा ऐनमा छ ।
सेवा दिन बसेकाले जनतालाई केही सेवा दिने दिएर देश सेवा गर्ने सोचाइ राखेर पनि काम गर्नुपर्ने उहाँको भनाइ छ ।
सार्वजनिक विदा धेरै भए, सरकारी कार्यालय, अस्पताल धेरै दिन बन्द भए, सेवाग्राहीले दुखः पाए भन्ने धेरै गुनासो भएकै सरकारले यो निर्णय गरेको डा.बुढाथोकीले सुनाउनुभयो ।
२०८० पुस १२ गतेको मन्त्रिपरिष्द बैठकले अत्यावश्यक क्षेत्रका सेवा सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गरिने निर्णय गरेको थियो ।
चैत १५ गते राजपत्रमा प्रकाशित गरी यो निर्णयलाई वैद्यता दिइएको थियो । त्यसपछि अन्य क्षेत्रमा उक्त सार्वजनिक बिदाका दिनमा पनि कार्यालय खोलेर काम गर्न थालियो ।
स्वास्थ्य सेवाका क्षेत्रमा भने अस्पतालको आकस्मिक सेवा त सधैं खुल्लै छनि भन्ने आधारमा उक्त निर्णय कार्यान्वयन नभएको डा.बुढाथोकीले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यलय, हेल्लो सरकारलगायतमा धेरै गुनासो आइसकेपछि स्वास्थ्य सेवामा पनि लागू गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यालयहरुमा जुन–जुन क्षेत्रमा अत्यावश्यक सेवा हुन्छ । ती सेवा मात्रै सार्वजनिक विदाका दिनमा खुल्ने डा.बुढाथोकीको भनाइ छ । सेवाको भवना राखेर, त्यस्ता दिनमा बिदा दिँदा मर्का पर्ने व्यक्ति, समूहलाई राहत दिनका लागि पनि सेवामा खटिनु पर्ने उहाँले बताउनुभयो।
तपाईँको अभिमत