डा.सुबी बस्न्यात : आमाकी छोरीबाट छोरीकी आमा हुँदा
डा.सुबी बस्न्यात बज्राचार्यको कर्मथलो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला हाे । स्त्रीरोग विशेषज्ञ डा.सुबीलाई हरेक दिन कामले भ्याइ नभ्याइ हुन्छ । घरदेखि अस्पतालसम्मकै सहयात्रीको भूमिकामा हुनुहुन्छ डा.रोबिन खापुङ।
जिम्मेवारी र जीवनसाथी साथमै भएपनि डा.सुबीको मन काठमाडौंतिरै डुलिरहेको हुन्छ । जहाँ हुनुहुन्छ–आफ्ना हरेक पाइला पाइलाको अपडेट मागिरहने आमा विमला बज्राचार्य र सानी छोरी इभाङका ।
विमला २२ वर्षको हुँदा जेठी छोरीको रुपमा सुबीको जन्म भएको थियो । काठमाडौंको एक सम्पन्न परिवार, बुबा सधैँ काममा व्यस्त हुनुहुन्थ्यो । बिहानै निस्कने राति अबेर घर आउने।

सुबीका एक बहिनी र एक भाइ हुनुहुन्छ । बुबा बाहिरको कामै व्यस्त हुने भएकाले आफ्ना हरेक भूमिकामा सुबीले आमा नै देख्नुहुन्थ्यो । घरको अनुशासन निकै कडा थियो । बिहान देखि बेलुकासम्म के गर्ने ? के खाने ? कहाँ जाने ? सबैको रुटिन थियो ।
विमलाको माइती परिवारमा धेरै जना मेडिकल फिल्डमा हुनुहुन्थ्यो कोही डाक्टर, कोही हेल्थ असिस्टेन्ट, कोही आयुर्वेदिक डाक्टर ।
विमलालाई आफैँ डाक्टर बन्ने रहर थियो तर विभिन्न कारणले त्यो सम्भव भएन । आफूले नपाए पनि छोरीलाई चाँही बनाउँछु भन्ने थियो ।
सुरुदेखि नै आफ्नो सपनाको लागि छोरा, छोरीलाई तयार पार्दै जानुभयो । कान्छी छोरी र छोराले त्यता लाग्नै मान्नुभएन । जेठी छोरी सुबी आमाको सपनाको बाटोमा अघि बढ्नुभयो ।
सुबीलाई पनि डाक्टर पढ्न सक्दिन होला जस्तो लाग्थ्यो । विदेश जान मन थियो । त्यसका लागि तयारी पनि गर्नुभएको थियो । तर आमाको सपनाका अगाडि अन्य चाहना ओझेल परे । अनि १२ कक्षा सकेर डाक्टर पढ्न चीन जानुभयो।
एमडीमा पनि उहाँले आमाको इच्छाअनुसारकै विषय रोज्नुभयो स्त्रीरोग विज्ञान । छोरीले त्यही रोजोस् भन्ने इच्छा भएपनि यसका लागि भने दवाव नदिएको विमलाको भनाइ छ ।
रुची चाहीँ सुबीलाई सर्जिकल क्षेत्रमा लाग्ने थियो । इन्टर्नसिपका क्रममा उहाँले थाहा पाउनुभयो–स्त्रीरोग क्षेत्रका विज्ञको खाँचो धेरै रहेछ । त्यसपछि त्यतै लाग्नुभयो।
हरेक पाइलामा आमाको साथ
आफूलाई थाहा पाएदेखि आमाले आफूहरुकै लागि सबै कुरा समर्पित गरेको देखेको सुबी बताउनुहुन्छ । ३ जना छोराछोरीलाई खुवाउने, पिलाउने, सुताउने, गृहकार्य गराउने सबै जिम्मा आमाकै थियो । ‘जता जे गरेपछि ममी मात्रै, हामीले बुबाको कुनै रोल नै देख्दैनथ्यौँ' सुबी भन्नुहुन्छ।
साँझमा सबै घरधन्दा सकेर विमलाले छोराछोरीलाई होमवर्क गराउनुहुन्थ्यो । छोराछोरी सुतेपछि पछि उहाँ राति अबेरसम्म काम गर्नुहुन्थ्यो कहिले कहीँ ।
‘मध्यराति ब्यूँझँदा ममीले हाम्रो किताबमा खाता हालिदिँदै गरेको, कपडामा आइरन लगाइदिँदै गरेको देखिन्थ्यो’ सुबी सम्झनुहुन्छ।
अहिले पनि आमाकै कारण सुबी ढुक्कले आफ्नो पेशामा लाग्न पाउनुभएको छ । आवसीय पढाइ चलिरहेकै बेला छोरीको जन्म भयो । छोरी जन्मिएको दिनदेखि नै उनको जिम्मवारी विमलाले नै लिनुभएको छ । सुबीलाई आफ्नो पेशामा ढुक्कसँग लाग्ने वातारण बनाइदिनुभएको छ ।
छोरी जन्मिएका बेला सुबीको ड्यूटी थापाथली अस्पतालमा थियो । १५ दिनपछि काममा फर्कनुभयो । विमलाले हरेक दिउँसो छोरीलाई दूध खुवाउन थापाथली अस्पतालमा लैजानुहुन्थ्यो । बेलुका सुबीको छुट्टी भएपछि सँगै फर्कनुहुन्थ्यो।
पछि सुबी कर्णाली जानुपर्ने भयो। इभाङकालाई आमा विमलाले आफ्नै साथ काठमाडौंमै राख्नुभयो । जन्मदिने आमा सुबी भएपनि आमाको सम्पूर्ण जिम्मेवारी विमलाले नै लिनुभयो।
आफूलाई छोरी भएपनि आमाले नै हुर्काएकाले बहिनी जस्तो लाग्ने गरेको सुबी सुनाउनुहुन्छ । इभाङकाले अलि सानो हुँदा त सुबीलाई दिदी नै भनेर बोलाउँथिन् । सुबी करिब ६ महिनाको फरकमा मात्रै छोरीलाई भेट्न काठमाडौं आउने गर्नुहुन्छ ।
आमाकी छोरी र छोरीकी आमा
५ वर्षअघि इभाङका नजन्मिदासम्म सुबी आमीकी छोरी मात्रै हुनुहुन्थ्यो । त्यसपछि उहाँको भूमिका थपियो छोरीकी आमाको रुपमा ।
यो भूमिकाले जीवनमा निकै बदलाव आएको महसुस सुबीलाई हुन्छ । जिम्मेवारी थपिएको जस्तो लाग्छ । छोरीबाट टाढा भएर काम गर्दा अलि नरमाइलो लाग्छ ।ऊ आमासँग छ भन्ने कुराले भने ढुक्क बनाउँछ ।
छोरीकै उमेरका कुनै बच्चा देख्यो भने। उसको बोली सुन्यो भने छोरीको धेरै याद आउने सुबी सुनाउनु हुन्छ । आफ्नो पेशा, जिम्मेवारी सम्झिएर ती कुरालाई पचाउनु परेको छ ।
अस्पतालमा सुत्केरी हुन आउने महिलालाई हेर्ने दृष्टिकोणमा आमा बन्नुअघि र पछि सुबीले फरक पाउनुभयो । गर्भवती, सुत्केरी महिलाको उपचार गर्दै गर्दा त्यसमा आफ्ना भोगाइ र भावनाहरु पनि मिसिने गरेको डा.सुबी सुनाउनुहुन्छ । ‘पहिला सुत्केरी हुन आएका महिलालाई छिटो गर्नुस्, छिटो उठ्नुस् भनेर कराउने पनि गरिन्थ्यो, आफूलाई परेपछि थाहा भयो, यस्तो बेला अलिकति उठ्न, फर्किन पनि कति गाह्रो हुने रहेछ’ सुबी भन्नुहुन्छ, ‘अहिले त्यो भन्न सक्दिन।’
५ महिना पहिलाको कुरा हो सुबी र रोबिन एक महिना लामो विदामा आउनुभएको थियो । जुम्ला फर्कने दिनमै छोरी इभाङकालाई बेस्सरी ज्वरो आयो । छाडेर कसरी जाने सुबीको मन मान्दैमानेन । उता कामले बोलाइसक्यो । रोबिनलाई पठाएर आफू बस्ने सोचमा सुबी पुग्नुभयो ।
अरु बेलाजस्तै यहाँ पनि आमा विमालाले सुबीलाई बलियो बनाउनुभयो,‘तिमी काममा जाउ म छु, छोरीको चिन्ता नगर।' उहाँको आश्वासनपछि मन नमान्दा नमान्दै सुबी जुम्ला हिड्नुभयो । ‘काठमाडौंदेखि नेपालगन्ज प्लेनमा रुदैँ गएँ’ सुबी भन्नुहुन्छ ।
बाबा र ममीको धेरै याद आउँदा इभाङका माँ(विमला)सँगै झ्याम्मिएर न्यास्रो मेट्छिन् । कहिले कँही आशाका प्लेन उडेको देख्दा इभाङका भन्छिन्–उ रोबिन बाबा, सुबी ममी जुम्ला जानुभयो बाइ..बाइ..। यति बेला भने आँखामा आँसु आउने गरेको विमाला सुनाउनुहुन्छ ।
सुबीको छिटै अर्काे सन्तान पनि होस् भन्ने इच्छा विमलाको छ । अहिले पनि उहाँले भनिरहनु भएको छ–अर्काे सन्तान जन्माउ पूरै जिम्मेवारी म लिन्छु ।
आमाको यो चाहनामा सुबी सहमत हुनुहुन्छ । सुबीलाई आमालाई जस्तो आफ्नी छोरी पछि यो बनोस् वा यो विषया पढोस् भन्ने चाहना छैन । ‘बुझ्ने भएपछि उसलाई जेमा मन जान्छ । त्यही गर्छ उसको खुसी’ सुबी भन्नुहुन्छ।
विमाला भने यो कुरामा सहमत हुनुहुन्न । उनीहरुलाई के गर्दा ठिक हुन्छ थाहा हुँदैन । हामीले नै बाटो देखाउनुपर्छ । दवाव दिनुपर्छ भन्ने लाग्छ ।
अहिले धेरैले आफूलाई डा.सुबीको आमाकारुपमा चिन्दा निकै गर्व लाग्ने विमला बताउनुहुन्छ । कलेज पढ्दापढ्दै विहे भयो । छोराछोरी जन्मिए । स्नातक पास गर्ने इच्छा थियो । पूरा भएन । पछि पनि परीक्षा दिनुभयो । छोराछोरीको हेरचाह, पाहुना आइरहन्थे । भान्सा काम । सबै सम्हाल्दा पढ्ने समय नै हुँदैनथ्यो । सफल हुन सक्नुभएन ।
आमाले आफ्नो पूरै जीवन छोराछोरीको खुसीको लागि मात्रै बिताएको ठान्नुहुन्छ सुबी । ‘ममीको साथ नभएको भए यतिसम्म अगाडि बढ्न कहाँ सम्झव हुन्थ्यो र? उहाँले सबै जीवन हाम्रै लागि समर्पण गर्नुभयो’ सुबी भन्नुहुन्छ, ‘अब मेराे चाहना छ ममीका सबै इच्छा र सपना पुरा गर्न सकूँ ।’
तुलसा घिमिरे
तपाईँको अभिमत