नेपालमा कोरोनाबाट भन्दा चार गुणा बढी मृत्यु धुमपानका कारण
नेपालमा कोभिड–१९ संक्रमणका कारण भन्दा सूर्तीजन्य पदार्थको सेवनबाट ४ गुणा बढीले ज्यान गुमाएको विज्ञहरुले बताउनु भएको छ।बुधबार ललितपुरमा आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षीय पैरवी बैठकमा विज्ञहरुले प्रस्तुत गरेको तथ्यांकमा यस्तो पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बैठकमा विज्ञहरुको सुझाव अनुसार सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि आफु लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले प्रस्तुत गर्नु भएको आँकडा अनुसार पछिल्ला वर्षमा सूर्तीजन्य पदार्थको सेवनका कारण मृत्यु हुनेको संख्या प्रतिवर्ष २७ हजार छ । करिब डेढ वर्षको अवधिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ ।

यो आँकडालाई तुलना गर्दा कोभिड–१९ बाट भन्दा सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या ४ गुणा बढी भएको अध्यक्ष चन्दले बताउनु भयो । उहाँले नेपालमा सूतिजन्य पदार्थको नियन्त्रण तथा नियमनका सम्बन्धमा हालसम्म व्यवस्था भएका ऐन तथा नियमावलीबारे प्रस्तुतीकरण गर्दै ती ऐन तथा नियमावली कार्यान्वयनमा ल्याउन नसक्नुनै सूर्तिजन्य पदार्थको प्रयोग बढ्नुको जड भएको बताउनुभयो । उहाँले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि नेपालमा भएको व्यवस्था विश्वकै उत्कृष्ठ भएपनि ति व्यवस्थाहरु कार्यान्वयनमा आउन नसकेको बताउनुभयो ।
यसैगरी द युनियन एसिया प्यासेफिक क्षेत्रीय निर्देशक डा. तारासिंह बमले सूर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याउन नसक्दा नसर्ने रोग बढ्दै गएको बताउनुभयो । उहाँले नसर्ने रोग बढ्दै जादा उपचार हुने खर्चको हिस्सा बढ्दै गएको र यसले नेपालीलाई झन्-झन् गरिब बनाउदै लगेको धारणा राख्नुभयो । उद्योगहरुलाई प्रोत्साहन भइरहेकाले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि विश्वकै उत्कृष्ट ऐन हुँदाहुँदै पनि कार्यान्वयनको पाटो सबैभन्दा तल्लोस्तरमा रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणी अधिकारीले चुरोटको प्रयोग बढ्दै जाँदा युवावस्थामै हृदयघात बढ्दै गएको बताउनुभयो । उहाँले हृदयघातको समस्या पछिल्लो १० वर्षमा ४६ गुणाले बढेको बताउनुभयो ।
नेपालमा धुप्रमान गर्नेको संख्या घट्नुको सट्टा बढिरहेको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप ज्ञवालीले बताउनु भयाे ।
सन २००७, २०१३, २०१९ मा परिषद्ले गरेका सर्वेक्षणलाई हेर्दा सुर्तीजन्य पदार्यको सेवन गर्नेको संख्यामा सुधार नदेखिएको डा. ज्ञवालीले जानकारी दिनुभयाे ।
विश्व स्वास्थ्य संगठनकोे नसर्ने रोग विभाग प्राविधिक अधिकृत डा. लोनिम दिक्षितले नेपालमा नसर्ने रोग नियन्त्रण गर्न सूर्तीजन्य पदार्थको नियन्त्रण हुनपर्ने बताउनुभयो ।
स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले नसर्ने रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न नेपालका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्दै आएको बताउँदै राज्य पक्षबाट पनि यस्तै अपेक्षा राखेको बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनले सयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

सन् २००३ को डिसेम्वरमा ३ मा सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि एफसिटिसिमा हस्ताक्षर गरेको नेपालले सन् २०११ मा मात्रै सूर्तिजन्य पदार्थ नियमन तथा ऐन जारी भएको थियो । उद्योगीहरुको हस्तक्षेपका कारण सूर्तिजन्य पदार्थको खोलमा ७५ प्रतिशत भागमा चेतावनीमुलक सन्देश छाप्नेपर्ने व्यवस्था भने ऐन जारी भएको २७ महिनापछि अर्थात् सन् २०१४ मा मात्रै कार्यान्वयनमा आयो ।
सूर्तिजन्य पदार्थको प्रयोगबाट हुने मृत्युलाई कम गर्न सन् २०१५ मा ९० प्रतिशत भागमा चेतवनीमुलक सन्देश छाप्नुपर्ने प्रावधान ल्याइएपनि त्यो अहिलेसम्म लागू हुन सकेको छैन । यसैगरी २०१७ मा सूर्तिजन्य पदार्थको विक्रि वितरणका लागि स्थानिय निकायसँग स्वकृति लिनपर्ने व्यवस्था भएपनि अनुगमन नहुँदा त्यो कागजमै सिमित छ ।
हेल्थपाटी
तपाईँको अभिमत