बीमा समिति भन्सार जस्तो भएको छ : सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बीमा समिति भन्सार जस्तो भएको बताउनुभएको छ । शुक्रबार ह्याम्स अस्पतालले आफ्नो २५औं स्थापना दिवसको अवसरमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘बीमा समिति भन्सार जस्तो भएको छ । आफूले मन पराएका अस्पताललाई जति भए पनि बीमा रकम भुक्तानी गरिदिने, मन नपरेको अस्पताल छ भने दिँदै नदिने’, उहाँले भन्नुभयो, ‘त्यसले गर्दा कतिपय अस्पतालले उपचार गर्न नसक्ने पद्धतिको विकास भएको छ ।’
कतिपय अस्पतालहरू मापदण्डविपरीत निर्माण भएको भन्दै उहाँले त्यसलाई नेताहरूको संरक्षण र ढाडस भएको आरोप लगाउनुभयो । नेताले भोट गुमाउने डरका कारण त्यस्ता अस्पतालको समस्या समाधान गर्न मिठो बोली बोल्ने गरेको र यथार्थ कुरा नभन्ने गरेको उहाँको भनाइ छ ।
‘मधेस प्रदेशमा ९६ वटा हस्पिटलहरूको निरीक्षण गर्दा ८१ वटा हस्पिटलहरू मापदण्ड नपुगेका र नक्कली डाक्टर भएको पाइयो’, सभापति खतिवडाले प्रश्न गर्नुभयो, ‘यसको दोष कसले लिने ? सरकारले लिने कि नलिने ?’ उहाँले प्रचार मिठो भएपनि त्यसको कार्यान्वयन फितलो भएकाप्रति चिन्ता व्यक्त गर्नुभयो । आधारभूत स्वास्थ्य सेवा निःशुल्क तथा उपचार नपाएरै कसैको मृत्यु नहुने भनिए पनि त्यो यथार्थमा कार्यान्वयन हुन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभएको हो ।
नक्कली डाक्टर र मापदण्ड नपुगेका अस्पताल धेरै भएको भन्दै सुधार धेरै मिठा कुरा मात्र नगरी काम गर्न अनुरोध गर्नुभयो । ‘वर्तमान प्रधानमन्त्रीको दाँतको डाक्टर नै नक्कली परेको सबैलाई थाहा होला’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको तहको त यस्तो अवस्था छ, सर्वसाधारणको अवस्था त कस्तो होला ? त्यसैले अब धेरै कुरा व्यापार नगरी कामको व्यापार गरौँ सबै समस्याको समाधान हुन्छ ।’
तपाईँको अभिमत