५११ जना आइसियु र भेन्टिलेटरमा, १९ संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३२ सय ९८ पुगेको छ ।
यसैगरी अहिले देशभर ५११ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४०१ जना आइसियु र ११० जना भेन्टिलेटरमा रहेका छन् ।
आज देशभर ५७ सय ५३ लाई संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा महामारी सुरु भएयताकै अत्याधिक हो । पछिल्लो २४ घण्टामा १२ सय ८७ जना निको भएका छन् । हिजो ५७ सय २७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसअघि नेपालमा एकैदिन ५७ सय ४३ जनालाई संक्रमण पुष्टि भएको थियो ।
१४ हजार ९६९ जनाको पीसीआर परीक्षण भएकोमा ५७०६ जनालाई पोजेटिभ देखिएको छ भने ५६६ जनाको एन्टीजेन परीक्षण हुँदा ५७ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । जसमध्ये २ लाख ८२ हजार ३८२ निको भएका छन् भने ३२ सय ९८ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत