अहिलेकै गतिमा कोभिडविरुद्धको खोप लगाउन १२ वर्ष लाग्ने
काठमाडौं । यही गतिमा खोप कार्यक्रम सञ्चालन गरे सरकारले निर्धारण गरेको ७२ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाउन १२ वर्षभन्दा बढी समय लाग्न सक्ने देखिएको छ । खोप ल्याउन ढिलाइ भइरहेका बेला यो आकलन आएको हो ।
नेपालमा खोप अभियान सुरु भएको शनिबार १ सय ५५ दिन पुगेको छ । यो अवधिमा कुल जनसंख्याको २.५५ प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा ७ लाख ४९ हजार ५ सय ८५ जनाले लगाएका छन् । १ सय ५५ दिनमा २.५५ प्रतिशतले खोप लगाए भने ७२ प्रतिशतले पूर्ण खोप लगाउन १२ वर्ष लाग्ने हिसाब निस्कन्छ ।
यही गतिमा खोप अभियान जारी रहे १८ वर्षमाथिका जनसंख्यालाई कोभिडविरुद्घको खोप लगाउने सरकारको लक्ष्य प्राप्त गर्न १२ वर्षभन्दा बढी समय लाग्न सक्ने गणितीय आकलन रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीका सदस्य डा. जीडी ठाकुरले बताउनुभयो ।
‘यो अत्यन्त सुस्त गति हो,’ उहाँले भन्नुभयो, ‘यो गतिले हामी भविष्यमा देखिन सक्ने कोभिडको तेस्रो, चौथो लहरहरू थेग्न सक्दैनौं । बहुसंख्यक जनतालाई पूर्ण मात्रा खोप सुनिश्चित गरेर, जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र कोभिडको आक्रमणलाई थेग्न सकिन्छ ।’
डेल्टा प्लस भेरिएन्टलगायत भविष्यमा मुलुकमा देखिन सक्ने यस्ता थुप्रै भेरिएन्टबाट जोगाउने एउटा मात्र विज्ञान प्रमाणित मुख्य हतियार खोप रहेको डा. ठाकुरको भनाइ छ । नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटीले सरकारलाई १८ वर्षमाथिका ७२ प्रतिशत जनतालाई कोभिडविरुद्घको खोप लगाउनुपर्ने सुझाव दिएको थियो ।
उक्त सुझावअनुसारै सरकारले पछिल्लो समय बालबालिकाका लागि खोप उपलब्ध नरहेको अवस्थामा १८ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको थियो । खोप लगाउन सुरु गरिएको पाँच महिना पाँच दिनमा २.५५ प्रतिशत जनसंख्याले मात्रै कोभिडविरुद्घको पूर्ण मात्रा खोप पाउन सक्नु अत्यन्त दुःखद स्थिति रहेको वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीले औल्याउनुभयो । ‘खोपको माध्यमले तेस्रो लहरलाई रोक्न सकिन्थ्यो तर अहिलेको स्थितिमा तेस्रो लहर सहजै आउने निश्चितप्रायः देखिएको छ,’ उहाँले भन्नुभयो ।
गत वर्ष माघ १४ गते ९ हजार ८४ जनालाई कोभिसिल्ड खोप लगाएर देशव्यापी अभियान सुरु भएको थियो । पूर्ण मात्राबाहेक हालसम्म एक मात्रा खोप लिएका कुल जनसंख्याको करिब ८.७८ प्रतिशत अर्थात् २५ लाख ८२ हजार ३ सय ७५ जना छन् । पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका १३ लाख ६४ हजार ७ सय १ जना ज्येष्ठ नागरिकले ४ महिना हुन लाग्दासमेत दोस्रो मात्रा खोप पाएका छैन ।
जुनसुकै भेरिएन्ट, म्युटेसनको कोभिडको भाइरस आएपनि खोपले केही स्तरमा बचाउने काम गर्ने विज्ञको भनाइ छ । खोपको पूर्ण मात्रा लगाएकाहरूलाई खोपले सहजै मर्न नदिने, आईसीयूलगायतका स्वास्थ्य जटिलता, अस्पताल बसाइँमा समेत कमी ल्याउने औंल्याउँदै डा. बीसीले भन्नुभयो, ‘खोपको विकल्प छैन, कोभिडसँग लड्ने प्रमुख हतियारका रूपमा खोप स्थापित भइसकेको छ ।
विश्वका विभिन्न भागमा बालबालिकाका लागि समेत खोप आइसकेको र केही आउने प्रक्रियामा रहेकाले नेपालले समेत १८ वर्षमुनिका लागि खोप सुनिश्चित गर्ने कार्ययोजना बनाउनुपर्ने विज्ञको सुझाव छ । कान्तिपुर दैनिकमा अतुल मिश्रले लेख्नुभएको समाचार ।
हेल्थपाटी 
तपाईँको अभिमत