'कोभिड खोप लगाउन व्यवहारिक पक्ष अलि जटिल छ'
अहिले नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान तीब्र गतिमा अघि बढिरहेको छ । तर पनि भण्डारमा खोप धेरै थक्निएको र अझै धेरै जना खोप लगाउन बाँकी नै रहेको भनी आलोचना भइरहेको छ ।
अरु खोप लगाउनजस्तो कोभिड खोप लगाउन सजिलो नभएको स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख सागर दाहाल बताउनुहुन्छ । ‘कोभिड खोप विशिष्ठकृत अभियान हो । यसको व्यवहारीक पक्ष अप्ठ्यारो छ’ दाहाल भन्नुहुन्छ, कोरोना खोप दिनदिनै लगाउन मिल्दैन।’
खोप अनुसार पहिलो मात्रा लगाएको आधारमा दोस्रो मात्रा मिलाएर लगाउनु पर्ने भएकाले भनेजस्तो सजिलो नभएको उहाँ सुनाउनुहुन्छ ।
हाल नेपालमा फरक-फरक खोपको प्रयोग भइरहेको छ। खोपअनुसार पहिलो र दोस्रो मात्रा लगाउन समयको अन्तर फरक–फरक तोकिएको छ । कोभिशिल्डको पहिलो मात्रा लगाएको ८ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्छ ।कोभिशिल्डको पहिलो मात्राका लागि अभियान सञ्चालन गरेको २ महिनापछि मात्रै दोस्रो मात्राका लागि अभियान सुरु गर्नुपर्ने हुन्छ ।
कुनै खोप २ महिनापछि, कुनै खोप २१ दिन, कुनै खोप १ महिनापछि दोस्रो मात्रा लगाउनुपर्छ।
अहिले खोप अभियान सञ्चालन गर्ने जिम्मेवारी पालिकाहरुलाई दिएको खोप शाखा प्रमुख दाहाल बताउनुहुन्छ ।
‘पहिला–पहिला हामी एकैपटक चलाउँथ्यौँ । तर अहिले पालिकाहरुले आफ्नो समयमा चलाउँछन्’ दाहालले भन्नुभयो, ‘अभियान चलेको बेला त भइहाल्यो, अन्य बेलामा पनि छुटेकाहरुलाई खोप लगाउन भनिरहेका छौँ।’
क्रमिक रुपमा खोपको खपत बढिरहेको उहाले जानकारी दिनुभयो ।
थोरै जनसंख्या भएका दुर्गम क्षेत्रमा खोप लगाउन केही चुनौती रहेको दाहाल भन्नुहुन्छ । सबै स्वास्थ्य कार्यालयमा कोभिड खोप भण्डारण गर्ने सुविधा छैन । कोल्डचेन मेन्टेन गर्नुपर्छ । यस्तो सुविधा नभएको ठाउँमा हरेक दिन खोप उपलब्ध गराउन सकिँदैन । ती स्थानहरुमा विशेष मिति तोकेर अभियान चलाउनुपर्ने हुन्छ । त्यसरी अभियान चलाउँदा केही छुट्न सक्ने दाहाल बताउनुहुन्छ ।
‘पहाडमा दिनदिनै खोप लैजान सकिँदैन । अझै यसलाई प्रस्ट पार्न म एउटा उदाहारण दिन्छु, दाहालले सनाउनु भयो, ‘एक गाउँपालिकाका खोप संयोजकले भने–मैले मेरो पालिकामा धेरैलाई खोप लगाइसकेँ। तर नगन्य मात्रामा छुटेका छन्। छुटेकाहरुले रोजीरोजी खोप लगाउन चाहन्छन् । २ जनाले कोभिशिल्ड लगाउन चाहेछन् तर कोभिशिल्डको एक भाइलमा १० जनालाई पुग्ने खोप हुन्छ।
ती २ जनालाई कोभिशिल्ड लगइदिँदा ८ जनालाई पुग्ने खोप खेर जान्छ ।’ यस्ता चुनौतीले पनि खोप लगाउन धेरै छुटेको दाहालको भनाइ छ।
उहाँका अनुसार अबको १० दिनसम्म प्रत्येक दिन ५ लाखलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
यो अभियानलाई पूरा गर्न सबैको सहयोगको आवश्यक रहेको दाहाल बताउनुहुन्छ । ‘पहिला खोप नभएको स्थिति थियो, अहिले पर्याप्त छ त्यसैले संक्रमणबाट जोगिन नजिकैका खोप केन्द्रहरुमा गएर खोप लगाउन मेरो अनुरोध छ’ दाहालले आग्रह गर्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत