'खोपको असर देखिनु खोपले काम गर्दैछ भन्नु हो '
काठमाडौं । कोरोना विरुद्दको खोप लगाएकालाई विभिन्न असर देखिनु खोपले काम गरेको बुझ्न विज्ञहरुले आग्रह गरेका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कोभिड – १९ को महामारी र कोभिशिल्डको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरिर दुख्ने, वाकवाकी लाग्ने लगाएतका प्रतिक्रिया भएको बताउँदै यी समस्या सामान्य भएको बताउनुभएको हो ।
खोपविज्ञ डा. श्यामराज उप्रेतिले भन्नुभयो, ‘यस्ता समस्या देखिनु खोपले काम गर्दैछ भन्ने हो । त्यसैले यसलाई सामान्य रुपमा लिनुपर्छ ।’
कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री नवराज राउतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपाल सरकार उत्कृष्ट काम गर्न सफल भएको दाबी गर्नुभयो । मन्त्री रावतले महामारीमा सरकारले केही गरेन भन्नेहरुलाई सोचेको भन्दा धेरै काम गरेर देखाएको बताउनुभयो । जसको फलस्वरुप तोकिएको मितिभन्दा एक महिना पहिला खोप ल्याएको उहाँको भनाई छ ।
कार्यक्रममा परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा ल्याइएको कोरोना खोपका विषयमा कोही कसैले शंका गर्नुपर्ने अवस्था नभएको भन्दै सबैलाई ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । विश्वका १६ देशहरुमा लगाइरहेको यो ‘कोभिसिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको बताउनुभयो ।
गौतमले विश्वमा हाल ७० वटा खोप ट्रायलमा रहेको, २० वटा खोप तेस्रो चरणमा रहेको र एउटा खोपले विश्वस्वास्थ्य संगठनको मान्यता पाएको जानकारी दिनुभयो । साथै नेपालमा प्रयोग भइरहेको खोपलाई पनि विश्वस्वास्थ्य संगठनले केहिदिनमै मान्यता दिने क्रममा रहेको उहाँ बताउनुहुन्छ । राज्यले एक ब्यक्तिलाई एक डलर बराबर खोपमा लगानी गरे १६ डलर बराबरको फाइदा हुने डा. गौतमले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी मन्त्रालयको रहेको जानकारी दिनुभयो । हाल जारी खोप अभियानलाई नरोक्न खोप खरिद प्रकृया अगाडि बढेको जानकारी उहाँले दिनुभयो । डा. पोखरेलले दोस्रो चरणको खोप अबको केही हप्तामा नै आउने संकेत गर्नुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले पहिलो चरणमा ५५ बर्ष भन्दा माथि उमेरसमुहका व्यक्तिले खोप दिन अब ढिला गर्न नहुने बताउनुभयो । उहाँले संक्रमणपश्चात बढी जटिलता हुने समुहलाई खोप लगाउन आवश्यक रहेको बताउनुभयो ।
समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक छ, बाँस्तोलाले भन्नुभयो, कोरोना भ्याक्सिन लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न उहाँले बताउनुभयो ।'
हेल्थपाटी 
तपाईँको अभिमत