भेरी अस्पतालले आजदेखि ओपीडी सेवा सञ्चालन गर्दै
काठमाडौं । बाँकेको भेरी अस्पतालले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्दैछ । अस्पतालमा संक्रमितको चाप घट्दै गएपछि ओपीडी सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिनुभयो ।
अस्पतालमा संक्रमितको चाप घट्दै गएका कारण ओपीडी सेवा सञ्चालन गर्न लागेको थापाले बताउनुभयो । एक सातासम्म दैनिक १ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने छ । कोरोना महामारी उत्कर्षमा पुग्दा अस्पतालले प्राङ्गणमा टेन्ट राखेर संक्रमितको उपचार गराएको थियो ।
अस्पतालको प्रयोगशालाको तथ्यांक र कोभिड वार्डमा भर्ना भएका बिरामीको अवस्थालाई हेर्दा बाँकेमा कोरोनाको दोस्रो लहर क्रमिक रुपमा नियन्त्रण हुँदै गएको डा. थापाले बताउनुभयो । संक्रमण फैलिएपछि नेपालगञ्जमा वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । अस्पतालको तथ्यांक अनुसार संख्यात्मक हिसाबले वैशाखको तेस्रो हप्ता सबैभन्दा बढी संक्रमित देखिएको र भर्ना भएको देखिन्छ ।
परीक्षणको संख्या, संक्रमितको संख्या र नयाँ बिरामी भर्ना हुने संख्या क्रमशः घट्दै गएको अस्पतालले जनाएको छ । एकैदिन अस्पतालमा भर्ना हुने बिरामीको संख्या ३२६ सम्म पुगेकोमा हाल यो संख्या ७३ मा झरेको अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत