पहिलो दिन ९०८४ जनाले खोप लगाए, कसैलाई देखिएन साइड इफेक्ट
काठमाडौं । कोरोना विरुद्धको खोप अभियानको आज पहिलो दिन देशभर ९ हजार ८४ जनाले कोरोना खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रमार्फत ९ हजार ८४ जना व्यक्तिहरुले खोप लगाएका छन् । आज खोप लगाएकामध्ये कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको उहाँले जानकारी दिनुभयो ।
सरकारले पहिलो दिन १२ हजार जनालाई खोप दिने लक्ष्य राखेको थियो । खोप लिनेको संख्या बागमती प्रदेशमा धेरै रहेको छ । बागमती प्रदेशमा २ हजार ६९४ जनाले खोप लगाए । यसैगरी सबैभन्दा कम खोप लिने व्यक्तिको संख्या कर्णाली प्रदेशमा रहेको छ । त्यहाँ ७५१ जनाले खोप लिए ।
यसैगरी, प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, गण्डकीमा १ हजार ८४३, लुम्बिनीमा ७३३, र सुदूरपश्चिममा १ हजार ८२ जनाले कोरोना विरुद्ध खोप लिएका छन्।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रममा उहाँले ३ महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप उपलव्ध गराइने प्रतिवद्धता जनाउनुभएको छ ।
पहिलो चरणमा सरकारले ४ लाख ३० हजार जनालाई कोरोना विरुद्धको खोप दिने लक्ष्य लिएको छ । स्वास्थ्यकर्मी, शव व्यवथापक,एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, कैदी, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्तिहरु र उनीहरुको हेरचाहमा खटिएका व्यक्तिहरुलाई पहिलो चरणमा खोप दिने सरकारको कार्यक्रम छ ।
अभियानमा भारतले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाइएको हो । काठमाडौं उपत्यकाका ठुला – ठुला अस्पतालमा प्रधानमन्त्री, मन्त्री लगायत उच्च अधिकारीहरुले खोप कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत