महिनावारी सुक्ने बेला देखिन्छन् यस्ता लक्षणहरू (भिडियो)
किशोरावस्थामा महिनावारी सुरु हुन्छ । आजभोलि कसैको १० वर्षकै उमेरमा पनि महिनावारी सुरु भएको पाइएको छ । सामान्यत: १३ वर्षदेखि महिनावारी सुरु हुन्छ ।
जन-स्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग रजनोवृत्तिबारे कुराकानी गरेका छाैँ
महिनावारी सुरु भइसकेपछि प्रजनन् स्वास्थ्यअनुसार किशोरीको शरीर विस्तारै आमा बन्न तयार हुन्छ भनेर बुझ्नुपर्छ । नेपाली महिलाहरुको महिनावारी सुक्ने विषयमा विशेष किसिमको अध्ययन, अनुसन्धान भएका छैनन् । यद्यपी सामान्यतय: ४० वर्ष कटेपछि महिनावारी सुक्न सुरु हुन्छ।
धेरै महिलाहरुमा शारीरिक, मानसिक, यौन, मांसपेशी तथा जोर्नीसम्बन्धि समस्या रहेको अध्ययनले देखाएका छन् । महिनावारी स्थायी रूपमा बन्द हुनुलाई रजनोवृत्ति भनिन्छ । महिनावारी सुक्ने एक प्राकृतिक अवस्था हो । शरीरमा हर्मोनको स्तर कम हुँदै महिनावरी सुक्ने हुन्छ ।
रजनोवृति भएपछि महिलामा शारीरिक तथा मानसिक परिवर्तनहरू देखिन सक्छन्। सामान्य प्रकारका परिवर्तनले महिलालाई खासै असर देखिँदैन र उनीहरुले यसलाई मतलब पनि गर्दैनन्। तर, कसै-कसैलाई रजनोवृति हुने बेला देखिने परिवर्तनहरूले समस्या पनि निम्त्याउँछ।
रजनोवृतिपछि महिलामा उत्साह कम हुने, थकाइ लाग्ने, निद्रा नलाग्ने,शरीर सुख्खा हुने, शरीर तात्ने, स्तन दुख्ने जस्ता समस्या देखिन पनि सक्छन् । साथै शरीरको हड्डी फुस्फुसे हुने, हात खुट्टा, ढाँड दुख्ने र कतिपयलाई डिप्रेसन पनि हुनसक्छ ।
केही समयअगाडि रजनोवृत्तिको समयमा भएका शारीरिक र मानसिक सस्याबारे अध्ययन गर्न मैलेँ १०० जना महिलासँग कुरा गरेको थिएँ । त्यो बेला १०० मध्ये ९० जना महिलाबाट रजनोवृत्तिको समयमा खासै समस्या नदेखिएको जवाफ आएको थियो । १० जनामा माथि उल्लेखित समस्याहरु देखिएको थियो ।
महिलामा उत्साह नहुँदा कसै-कसैको दाम्पत्य दाम्पत्य जीवन खुसी नहुनपनि सक्छ । त्यसैले रजनोवृत्तिको समयमा महिलालाई विशेषगरी श्रीमान र आफन्तको सहयोगको आवश्यक पर्छ ।
रजनोवृत्तिको समयमा देखिन सक्ने यी समस्यालाई कम गर्न युवावस्थाबाटै स्वस्थकर खानपिन र जीवशैलीमा ध्यान दिनुपर्छ । युवावस्थाबाटै पोषिलो खानेकुरा, व्यायामलाई केन्द्रमा राख्नुपर्छ । अनि सकारात्मक सोचको विकास गर्नुपर्छ । रजनोवृत्ति ४० वर्षपछि सुरु हुन्छ । कसैको ५२ वर्षसम्म पनि महिनावारी भएको पाइएको छ ।
महिनावारी सुक्ने बेलामा अन्य समयमाभन्दा बढी प्रोटिनयुक्त, क्याल्सियमयुक्त खानेकुराको आवश्यक पर्छ । माछा, मासु, दही, तोफु, पनिर, आलस, तिल, भांगो, रेसादारयुक्त खानेकुरा खानुपर्छ । जौको पिठोको रोटी, कोदो, फापरका परिकारहरु खानुपर्छ । चना, भटमास, बदाम उसिनेर पिसेर, टुसा उमारेर खान सकिन्छ ।
हरियो सागपात र फलफूल प्रशस्त खानुपर्छ । रजनोवृत्ति सबै महिलालाई हुन्छ भन्ने कुरा ख्याल राख्ने र अरूसँग समस्याका बारेमा छलफल गर्ने, परिवार तथा समाजले पनि यस समस्यालाई बुझेर सहयोग गर्नुपर्छ।

हेल्थपाटी
तपाईँको अभिमत