छाती नचिरी गरिने भल्भ प्रत्यारोपण के हो ? कस्ता बिरामीलाई आवश्यक ? (भिडियो)

शहीद गंगालाल अस्पतालमा छाती नचिरी ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन' (टीएभीआई) विधिबाट मुटुकाे भल्भ प्रत्याराेपण सेवा सुरु भएकाे ६ महिना भयाे । फागुन १६ गते पहिलाे पटक ८० वर्षीया महिलाकाे टीएभीआई विधिबाट मुटुकाे भल्भ प्रत्याराेपण गरिएकाे थियाे ।
सेवा सुरु भएकाे ६ महिनामा ४ जनाकाे भल्भ प्रत्याराेपण गरिएकाे अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिनुभयाे । सरकारी अस्पतालमै यस किसिमकाे उपचारकाे व्यवस्था हुँदा बिरामी उपचारका लागि निजी अथवा विदेशका अस्पतालमा जानु पर्ने बाध्यता हटेकाे दावी अधिकारीको छ।
मुटुका अन्य उपचारभन्दा टीएभीआई विधिबाट गरिने उपचार महँगाे रहेकाे उहाँले बताउनुभयाे । यद्यपी सरकारी अस्पतालमै यस किसिमकाे सेवा पाउनु खुसीकाे कुरा रहेकाे उहाँकाे भनाइ छ ।
मुटुकाे भल्भ प्रत्याराेपणमा टीएभीआई, नविनतम विधि हाे । याे प्रविधिमार्फत एउटा सानो पाइपबाट मुटुमा भल्भ लगेर बिग्रिएको भल्भकाे स्थानमा राखिन्छ । उमेर बढी भएका बिरामी, फोक्साे, कलेजाे, मिर्गाैला लगायतका दीर्घराेगका बिरामीलाई यो किसिमको उपचार पद्धति आवश्यक हुन्छ । किनकी यस्ता बिरामीलाई छाती चिरेर अप्रेसन गर्दा जाेखिम धेरै रहन्छ ।
अमेरिकन तथा युराेपियन गाइडलाइनले मुटुकाे उपचारमा सामान्यतया ७५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई छाती चिरेर अप्रेसन गर्नु खतरा हुने उल्लेख गरेकाे छ। त्यस्ता बिरामीकाे उपचार छाती नचिरी गर्दा जाेखिम अति कम हुने अमेरिकन तथा युराेपियन गाइडलाइनले भनेकाे छ ।
बाइपास उपचार पद्धतिबाट भल्भ प्रत्याराेपण गर्दा मुटुलाई बन्द गर्नुपर्ने हुन्छ । बिरामीलाई बेहाेस् बनाउनु पर्ने हुन्छ । अप्रेसनमा लामाे समय लाग्ने भएकाले बढी उमेर भएका व्यक्ति तथा दीर्घ राेगीलाई संक्रमणको जोखिम रहन्छ ।
उनीहरुकाे स्वास्थ्यमा थप जटिलताकाे सम्भावना अधिक रहन्छ । तर टीएभीआई विधिबाट मुटुकाे भल्भ प्रत्याराेपण गर्दा बिरामीलाई बेहाेस् बनाउनु पर्दैन । प्रत्याराेपणमा समय धेरै लाग्दैन, भाेलिपल्टै डिस्चार्ज गर्न मिल्छ भने संक्रमणको जोखिम नगन्य हुन्छ ।
डा. अधिकारीका अनुसार नेपालमा छाती नचिरी भल्भ प्रत्याराेपण गर्नुपर्ने अवस्थाका मुटु राेगका बिरामी कति छन् भन्ने कुनै अध्ययन भएकाे छैन । यद्यपी विभिन्न देशमा भएका अध्ययनहरुले एओर्टिक भल्भ साँघुरो भएर गम्भीर अवस्थामा अस्पताल ल्याइएकामध्ये ३० देखि ४० प्रतिशत बिरामीलाई यो प्रविधिबाट उपचार गर्नुपर्ने देखाएकाे छ ।
नेपालमा हालसम्म टीएभीआई विधिबाट ५ जनाकाे मुटुकाे भल्भकाे प्रत्याराेपण भएकाे छ । जसमा ४ जनाकाे प्रत्याराेपण गंगालाल अस्पतालमा भएकाे छ । टीएभीआई उपचारमा डा. अधिकारीले नेतृत्व गरिरहनुभएकाे छ । हालसम्म गंगालाल अस्पतालमा ८० वर्षीया महिला, ९०, ७७ र ५७ वर्षका पुरुषकाे टीएभीआई विधिबाट भल्भ प्रत्याराेपण भइसकेकाे छ ।
नेपालमा नपाइने भएकाले प्रत्येक व्यक्तिअनुसार भल्भ बाहिरबाट मगाउनु पर्ने अधिकारी बताउनुहुन्छ । अस्पतालकाे सम्पर्कमा आएको १ महिनाभित्र बिरामीकाे मुटुकाे भल्भ प्रत्याराेपण गर्न सकिने डा.अधिकारीकाे भनाइ छ ।
टीएभीआई उपचारमा नेतृत्व लिइरहनुभएका डा. अधिकारीसँग टीएभीआई विधिबाट गरिने मुटुकाे भल्भ प्रत्याराेपणबारे गरिएको कुराकानीको
भिडियो हेरौँ:
तपाईँको अभिमत