'हामी १ हजार ५ सयमा नै कोरोना परीक्षण गर्न तयार छौं'
काठमाडौं । अरु निजी अस्पतालहरुले कोरोना परीक्षण शुल्क घटाउन नसक्ने अडान लिइरहेका बेला बिध ल्याबले भने सरकारले तोकेको शुल्कभन्दा ५ सय रुपैयाँ कममा नै परीक्षण गर्न सक्ने बताएको छ । ल्याबका अध्यक्ष बिके भण्डारीले आफूहरु १ हजार ५ सयमा कोरोना परीक्षण गर्न तयार रहेको भन्दै अरु निजी ल्यावका सञ्चालकहरुलाई पनि मूल्य समायोजन गर्न आग्रह गर्नुभयो ।
आफ्नाे ल्यावले विश्व स्वास्थ्य संगठनबाट सूचीकृत किटबाट कोरोना परीक्षण भइरहेको भन्दै उहाँले आफूहरु थोरै रकम लिई धेरैलाई सेवा दिने नीतिका साथ अघि बढेको बताउनुभयो । किटको गुणस्तरीयतामा उठेको प्रश्नका सम्बन्धमा उहाँले भन्नुभयो, 'यही किट प्रयोग गर्नुपर्छ भनेर सरकारले तोकेको छैन । हामीले सस्तो, सर्वसुलभ र गुणस्तरयुक्त किटको प्रयोग गरिरहेका छौँ, चीनमा निर्मित डेन्जिन किट प्रयोग गरिरहेको र यसको लागत मूल्य ६ सय रुपैयाँ पर्छ । '
उहाँले किटको मूल्य सस्तो भएकाले आफुहरुले कम मूल्यमा नै पीसीआर परीक्षण गरको स्पष्ट पार्नुभयो । डेन्जिन किटबाट दिनको २ सय भन्दा बढीको पीसीआर परीक्षण गरेको खण्डमा अधिकतम १ हजार ६ सयमा नै परीक्षण गर्न सकिने भण्डारीले दाबी गर्नुभयो ।
'सुरुमा पीसीआर शुल्क ५ हजार ५ सय तोकेको बेला हामीले ४ हजारमा परीक्षण गर्यौ, त्यसपछि सरकारले फेरि ४ हजार ४ सय शुल्क तोक्यो, त्यतिबेला पनि २ हजारमा परीक्षण गर्यौ, अहिले सरकारले पीसीआर शुल्क २ हजार निर्धारण गरेको छ हामीले १ हजार ९९९ मा परीक्षण गरिरहेका छौँ, अध्यक्ष भण्डारीले भन्नुभयो, हामी १ हजार ५ सयमा नै पीसीआर परीक्षण गर्न तयार छौँ ।'
दैनिक ४ हजारको पीसीआर गर्ने क्षमता रहेको बताउँदै भण्डारीले १ हजार ५ सयमा परीक्षण गर्दा पनि सबै खर्च कटाएर आफूहरुलाई ४ सय नाफा हुने बताउनुभयो । उहाँले २८ जनाको दक्ष प्राविधिक जनशक्तिबाट गुणस्तरीय किटले पीसीआर परीक्षण गरिरहेको जिकिर गर्नुभयो ।
साउन १३ गते लाइसेन्स पाएको बिध ल्यावले त्यसको २ दिन पछिबाट नै कोरोना परीक्षण सुरु गरेको थियो । हालसम्म यहाँ २४ हजार ३८४ जनाले पीसीआर परीक्षण गरेका छन् । सुरुका दिनमा ६/७ सय पीसीआर परीक्षण गर्दै आएकोमा यस ल्यावले हाल दिनको करिव १६ सय जनाको पीसीआर परीक्षण गरिरहेको जनाएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत