गण्डकी प्रदेशको कास्कीमा सबैभन्दा धेरै क्षयरोगका बिरामी
आज मार्च २४ । यस दिन विश्व क्षयरोग दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरी क्षयरोग दिवस मनाइँदैछ । यो वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्छौं’ रहेको छ ।
गण्डकी प्रदेशमा सबैभन्दा धेरै क्षयरोगका बिरामी कास्की जिल्लामा रहेको क्षयरोग उपचार केन्द्र पोखराले जानकारी दिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराका अनुसार कास्कीमा सबैभन्दा धेरै ३०६ जना बिरामी फेला परेका छन्।
सबैभन्दा कम मनाङका ३ र मुस्ताङमा ४ जना बिरामीले उपचार सेवा लिएको केन्द्रले जानकारी दिएको छ।
गत आर्थिक वर्ष गण्डकीमा २ हजार ४४७ क्षयरोगका बिरामी फेला परेका थिए । जसमध्ये ९२ जनाको मृत्यु भयो ।
पोखरा महानगरपालिकामा २९०, अन्नपूूर्ण गाउँपालिकामा ४, माछापुच्छ्रेमा ७, मादी गाउँपालिकामा ४ र रुपमा गाउँपालिकामा १ जनामा टिबी पोजेटिभ भेटिएको देखिएको छ ।
गण्डकीमा गएको वर्ष ५ हजार ६७७ जना बिरामीलाई उपचार सेवामा ल्याउने लक्ष्य थियो । ४३.०७ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ।
क्षयरोगीको संख्या बढी भएपनि स्वास्थ्य संस्थामा आउन आनकानी गर्ने प्रदेश क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादव बताउनुहुन्छ।
गण्डकी प्रदेशमा क्षयरोग उपचार सफलता दर ९० प्रतिशत रहेको छ । उपचारदर अन्य प्रदेशको भन्दा अब्बल रहेको गण्डकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको गण्डकी प्रदेश निर्देनालयले जनाएको छ ।
प्रदेशमा यो वर्ष १ हजार २ सय ५६ जना क्षयरोगका बिरामीले स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिएका छन् । साउन यता ४ सय ६५ महिला र ७९१ पुरुषले क्षयरोगको उपचार गराएका हुन् ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा वर्षेनी ६९ हजार क्षयरोगका बिरामी भेटिने गरेका छन् ।
हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने गरेको छ ।
नेपालमा अझै वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको दावी केन्द्रको छ ।
सामाजिक लाञ्छना भेदभावको भयका कारण ठूलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सकहरू बताउँछन् । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका २ हजार ८०० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।
केन्द्रका अनुसार आ.व. २०७८÷७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा आएका थिए ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी १ करोड ६ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।
क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसे सुक्ष्म किटाणुबाट लाग्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने चिकित्सहरु बताउँछन्।
क्षयरोगको उपचारका लागि गण्डकीमा ७४९ डट्स केन्द्र छ । बहुऔषधी प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्युनीकरणका लागि चुनौति बनेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उमा आलेमगर
तपाईँको अभिमत