एचपीभी भनेको के हो, यसविरुद्धको खोप कति सुरक्षित ?
एचपीभी भनेको एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papilomavirus (HPV) भनिन्छ ।यसलाई पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक मानिन्छ।
एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरू (serotypes) हुन्छन् र यसमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख कारक हुन् । परिवार कल्याण महाशाखाका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ।
पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो ?
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई सर्भाइकल क्यान्सर (Cervical Cancer) पनि भनिन्छ । यो क्यान्सर मुख्य गरेर एचपीभी भाइरसको संक्रमणबाट हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ। नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ ।
पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने रोग हो र सुरुको अवस्थामा यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुनसक्छ ।
पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी कसरी सर्छ ?
एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुन्छन् तर अधिकांशमा कुनै पनि लक्षण देखिदैन । उच्च जोखिम भएका एचपीभीसँगको निरन्तर संक्रमणले असामान्य कोशिकाहरूको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ ।
एचपीभीविरुद्ध खोप बनेको छ । यो संक्रमण हुनुपूर्व नै खोप लगाउनुपर्छ । त्यसैले सरकारले आजबाट फागुन ६ गतेसम्म एचपीभी खोप दिन लागेको छ । विद्यालय गइरहेका ६ देखि १० कक्षासम्मका किशोरीलाई खोप दिइँदैछ । त्यस्तै विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई खोप लगाइँदैछ ।
यसपटक विद्यालय जाने उमेरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य सरकारले लिएको छ ।
एचपीभी खोप कत्तिको सुरक्षित छ ?
एचपीभी खोप अत्यन्तै सुरक्षित छ । विश्व स्वास्थ्य सङ्गठनले गुणस्तरयुक्त भनी प्रमाणित खोप मात्र नेपालमा खरिद/आपूर्ति गरिन्छ र यो खोप नेपालमा प्रयोग गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमति प्रदान गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत