दिसा गर्ने तरिका नमिल्दा पनि कब्जियत हुन्छ (भिडियो)
कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक स्वास्थ्य समस्या हो। तपाई कब्जियतको समस्याबाट ग्रस्त हुनुन्छ ? कतै तपाईले यी गल्तीहरू त गरिरहनु भएको छैन ? जसले तपाईलाई कब्जियतको समस्या निम्त्याएको छ। जाडो याममा कब्जियतको समस्या भएको महसुस धेरैले गर्ने गरेको पनि सुनिन्छ। आज हामीले कब्जियतबारे वीर अस्पतालमा पूर्णकालीन कार्यरत बरिष्ठ पेटरोग विशेषज्ञ डा. अजित खनालसँग कुरा गरेका छौं। उहाँ नेपालको पहिलो, ग्यास्ट्रो स्ट्रोइन्टरजोली एमडी डाक्टरसमेत हुनुन्छ।
उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश
सामान्यतया हप्तामा ३ पटकसम्म दिशा भएको अवस्थालाई सामान्य मानिन्छ। यदि कसैलाई हप्तामा ३ पटकसम्म दिसा भएन भने कब्जियत भएको भनेर बुझ्नपर्छ।
मोटो आन्द्रामा दिसा बन्छ। कहिलेकाँही मोटो आन्द्रा नै अल्छी भइदिन्छ। हामीले खाएको खाना पचेर आएको घोल आन्द्रामा आउँछ। आन्द्राको मुभमेन्ट कम भयो भने दिसा आउँदैन।
सही तरिकाले दिसा गर्न नजान्दा पनि कब्जियत हुन्छ। थाइराइडको मात्रा कम भएको अवस्था, मलद्धारमा पोलिभ भएमा, आन्द्रामा क्यान्सर भएमा पनि कब्जियत हुनसक्छ।
जाडोमा कब्जियत हुन्छ ?
जाडोमा कब्जियत हुन्छ भन्ने गलत हो। सिजनले कब्जियत गराउने होइन। हाम्रो व्यवहारले कब्जियतको समस्या निम्त्याउँछ।
कब्जियत हुन नदिन पानी र फाइबर निकै महत्वपूर्ण मानिन्छ। जाडोमा दिसा गर्न जान अल्छी गरेर, च्यापेर बस्ने बानी पनि कतिपयको कारण हुन्छ । यस्तो बानीले कब्जियतको समस्या देखिन्छ। समयतालिका बनाएर दिसा गर्ने बानी बसाल्नुपर्छ।
कब्जियतबाट जोगिन नियमित व्यायाम, रेसादार खानेकुरा खानुपर्छ। बिहान उठ्नेबित्तिकै नित्य क्रिया वा दिसा गर्ने बानीले कब्जियतबाट बचाउँछ। दिसा लाग्दालाग्दै च्यापेर बस्दा पछि कब्जियत हुन्छ।
कब्जियत कति खतरा ?
अल्छी आन्द्राले कब्जियत भएको छ भने खासै समस्या नहुन सक्छ तर क्यान्सरले पनि कब्जियत गराएको हुनसक्छ, मलद्धारमा मासु पलाएर कब्जियत भएको हुनसक्छ यस्तो अवस्थामा थप स्वास्थ्य जटिलता देखिन्छ।
कब्जियत भएपछि खाना खान मन नलाग्ने, शरीर भारी भइरहेको र टाउको दुखिरहेको जस्तो महसुस हुन्छ।
भोक नलाग्ने,पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाक्वाक् हुने लगायतका समस्या कब्जियतले ल्याउँछ। विशेषगरी बोक्रासहितका फलफूल, तरकारीहरू जस्तो गाँजर, काँक्रो, मुला र त्यस्तै प्रकारले चना, भटमास, गृडागुडी लगायतका रेसादार खानेकुरा खाने गर्नुपर्छ। आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रासहितको आलु, फापरमा पनि रेसादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ।
शौचालय छनौट
हाम्रो समाजमा अर्काको चलन अँगाल्दै आइएको छ। दिसा हुन पेटलाई बल लगाउनुपर्छ, प्यान शौचालयमा दिसा गर्दा मज्जाले पेट सफा हुन्छ। कब्जियतको समस्या भएको छ भने प्यान जस्तो बनाएर बस्दा दिसा सफा हुन्छ।
दिसा गरिसकेपछि ट्वाइलेट पेपर प्रयोग गर्ने बानी राम्रो होइन। बेलायतको एक पुस्तकले ट्वालेट पेपरभन्दा पानीको प्रयोग गर्नु उत्तम भनेर उल्लेख गरेको छ। विदेशीहरुले हाम्रो संस्कृति र संस्कारलाई राम्रो मानेर अंगिकार गर्न थालेका छन् तर हामी लहलहै र देखासिकीमा नचाहिँदो व्यवहारलाई समात्दै हिँडिरहेका छौँ।
तपाईँको अभिमत