होम आइसोलेसनमा रहेका ६० प्रतिशत संक्रमितले गुर्जाे र बेसार प्रयोग गरे
काठमाडौं । नेपालमा होम आइसोलेसनमा रहेका मध्ये झण्डै ६० प्रतिशत संक्रमितले गुर्जाे र बेसार प्रयोग गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले होम आइसोलेसनमा रहेका संक्रमितहरुको मानसिक एवं शारीरिक स्वास्थ्य अवस्थाबारे गरिएको अध्ययनले ५९.३ प्रतिशतले घरेलु उपचार गुर्जाे र बेसारको प्रयोग गरेको देखाएको हो ।
साथै सो अध्ययनले ५.६ प्रतिशत संक्रमितले आयुर्वेद र २९.६प्रतिशतल संक्रमितले आधुनिक उपचार गरेको पाइएको देखाएको छ ।
उक्त अध्ययन ५३६ जनामा गरिएको थियो । यस्तै अध्ययनमा सहभागि संक्रमितमध्ये ६५.९ प्रतिशतले आफुहरुलाई कुनै लक्षण नै नदेखिएको बताएका थिए ।
लक्षण देखिएका संक्रमितहरुमा भने ज्वरो, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, घाँटी दुखाइ, जोर्नी दुख्ने र वाकवाकी लाग्ने भएको थियो ।
होम आइसोलेसनमा रहँदा ५२.२ प्रतिशत संक्रमितले परिवारसँग पूर्ण रुपमा भौतिक दुरी कायम गरेको बताएका थिए भने ३५ प्रतिशतले कहिलेकाही भौतिक दुरी कायम गरेको र १२.५ प्रतिशले भने दुरी कायम नगरेको जानकारी दिएका थिए ।
५८.२ प्रतिशत संक्रमितले होम आइसोलेसनको क्रममा मानसिक अशान्ति भएको पाइएको बताए । १० प्रतिशतलाई रोग लागेको स्वीकार्न समस्या पर्यो भने १.२ प्रतिशत संक्रमितलाई होम आइसोलेसनमा कुनै न कुनै किसिमको मानसिक समस्या भएको पाइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत