आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइंदै
आजदेखि देशभर भेरोसेलको दोस्रो मात्रा लगाइंदैछ । स्वास्थ्य सेवा विभागले देशभरका जिल्ला स्वास्थ्य कार्यालयहरुलाई भीड नहुने गरि खोपकेन्द्रको व्यवस्थापन गरि सहज वातावरणमा खोप लगाउन भनेअनुसार काठमाडौं जिल्लामा एक महानगरसहित १० वटा नगरपालिकामा ९ वटा अस्पतालसहित १४७ वटा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
पहिलो मात्रा लगाएको कार्ड, विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बरका आधारमा दोस्रो मात्रा लगाइने उहाँले बताउनुभयो । साउन २४ गतेसम्म यो अभियान चल्नेछ । काठमाडौं महानगरमा ३२ वडा खोपकेन्द्रबाट खोप लगाइनेछ । महानगरमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि राधाश्वामी आइसोलेसन, शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी, परोपकार प्रसुती अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगल खोप केन्द्र तोकिएको छ ।
यस्तै खोप अनिवार्य गरिएका देशमा जानेहरुले भने विरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल र शसस्त्र प्रहरी अस्पतालबाट खोप लगाउन पाउने छन् ।
स्वास्थ्य कार्यालयले सबै नगरपालिकालाई सम्भव भएसम्म स्वास्थ्य संस्थामा नै खोप केन्द्र तोक्न, यसअघि खोप लगाएकाहरुको पनि पोष्ट रजिष्ट्रेसन गरि विद्युतीय दर्ता नम्वर अनिवार्य गर्न, विद्युतीय दर्ता नम्वर भएका र नभएकाहरुको लाइन छुट्टा छुट्टै व्यवस्थापन गर्न भनेको छ ।
पहिलो मात्रा लगाएको २१ दिन पुरा भएका ५५ वर्ष वा सो भन्दा माथि उमेरका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकले दोस्रो मात्रा खोप पाउने छन् ।
हेल्थपाटी
तपाईँको अभिमत