अक्सिजनको चरम अभावमा ट्रमा सेन्टर : डा.पौडेलद्वारा सहयोगकाे अपील
काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएपछि सहयोगको अपील गरिएको छ । ट्रमाका निमित्त निर्देशक डा. सन्तोष पौडेलले सहयोगको अपील गर्नुभएको हो ।
घरमा अक्सिजन छ, अस्पतालमा अक्सिजन अभावमा बिरामीको ज्यान गएको छ।’
ट्रमालाई कोभिड विशेष अस्पतालमा परिणत गरेपछि कोभिडका बिरामीको चाप बढेको डा. पौडेलले बताउनुभयो । ‘अहिले बिरामीको चाप बढेको छ’, उहाँले भन्नुभयो, ‘तर सीसीएमसीले अक्सिजनको कोटा तोकिदिएपछि थप समस्या भएको छ ।’
उहाँका अनुसार सबैलाई एकै किसिमले कोटा तोकिदिँदा सप्लायर्सकहाँ लामो समयसम्म अक्सिजनका लागि लाइन बस्नुपर्ने अवस्था आएको छ । ‘सबैलाई एकै तरिकाले कोटा तोक्दा समस्या भयो’, उहाँले भन्नुभयो, ‘अहिले पनि अक्सिजनको लागि सल्लायर्सको ढोका गएर कुर्नुपर्ने अवस्था छ ।
आजको रात पनि अक्सिजनको खोजीमै बित्यो । रातभर हाम्रो टिम खटिएर बिहान ७ बजेसम्मका लागि चाहिँ अक्सिजनको जोहो भयो, त्यसपछि अर्को व्यवस्था गर्न नसके भगवान भरोसामा छ ।’
हाल १०५ जना कोरोना संक्रमितको अक्सिजनको सहायतामा उपचार भइरहेको ट्रमामा दैनिक ३ सयदेखि ३ सय ५० वटा अक्सिजन सिलिन्डर आवश्यक रहेको डा. पौडेलले बताउनुभयो । ‘सरकारले बिरामीको चाप नहेरी तोकिदिएको सिलिन्डर कोटाले पुग्दैन’, उहाँले भन्नुभयो, ‘यता सिलिन्डरको पालो कुर्दाकुर्दै बिरामीको ज्यान जाने खतरा भयो। साह्रै अप्ठेरो अवस्थामा पुगेका छौँ ।’
यस्तो अवस्थामा बिरामीको उपचार गर्न नसकिने बताउँदै उहाँले सहयोगको अपील गर्नुभयो । उहाँले सीसीएमसीलाई अपील गर्दै भन्नुभयो, अक्सिजनको व्यवस्था गर्नुहोस्, जनताको ज्यान बचाउनुहोस् ।
उहाँले कतिपय व्यक्तिले घरमा जगेडा गरेर अक्सिजन राखेको भन्दै त्यस्तो अक्सिजन बाहिर निकाल्न सके राहत मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो अस्पतालमा अक्सिजन सकिन लागेको जानकारी बिरामीलाई गराउँदै थियौँ, ९/१० जना बिरामीका आफन्तले एकाएका सिलिन्डर बोकेर आउनुभयो। यो एउटा उहाहरण हो। घरमा अक्सिजन छ, अस्पतालमा अक्सिजन अभावमा बिरामीको ज्यान गएको छ।’
नेपालमा अक्सिजनको अभावसँगै धेरै अस्पतालले बिरामी भर्ना गर्न नसक्ने विज्ञप्ति निकालिरहेका छन्। सरकारले तोकेको कोटा प्रणाली पनि वैज्ञानिक नभएको उनीहरुको दावि छ। पछिल्लो समय संक्रमितको संख्या बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दो छ। जसका कारण मृत्यु दर पनि ह्वात्तै बढाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत