त्यो बेलाको वीर अस्पताल : डाक्टर नभएपछि कम्पाउण्डरले बिरामी बेहोस् बनाउँदा ज्यानै गयो (भिडियो)
नेपालकै सबैभन्दा ज्येष्ठ चिकित्सक डा.गौरीशंकरलाल दास आजबाट १०० वर्ष पूरा गरी १०१ वर्षमा प्रवेश गर्नुुभयो । वि.सं. १९८१ असोज १० गते अर्थात इस्वी संवत १९२४ सेप्टेम्बर २६ मा सिरहाको इनरूवामा उहाँको जन्म भएको थियो ।
लामो समय नेपालको सरकारी सेवामा रहेर काम गर्नुभएका उहाँलाई गतसाल नागरिक स्तरबाट 'दिव्य शताब्दी पुरुष' उपाधिबाट सम्मान गरिएको थियो। उहाँले २००९ सालमा वीर अस्पतालबाट सेवा सुरु गर्नुभएको थियो ।
पटना मेडिकल कलेजमा एमबीबीएस गरेपछि क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गर्नुभएका डा दास त्यो समय उतै हुनुहुन्थ्यो ।
उहाँका एक जना साथी शिव नारायण दास परराष्ट्र विभागमा असिस्टेन्ट सेक्रेटरी पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले वीर अस्पतालमा पद खाली भएको छ भनेर आऊ भनेर खबर पठाउनुभयो ।
डा. दास पटनाबाट डेकोटा प्लेन चढेर नेपाल आउनुभयो । १५–२० जना अट्ने त्यो प्लेनमा दुईतिर यात्रु बस्ने कुर्सी राखिएको हुन्थ्यो भने बीचमा लगेज राखिन्थ्यो ।
२००८ सालमा लोकसेवा आयोग स्थापना भएको थियो । त्यस कारण २००९ सालमा जागिरका लागि उहाँले लोकसेवा आयोगको परीक्षा दिनुपर्यो ।
त्यो समय लोकसेवा पास गर्न अन्तर्वार्ता दिए पुग्थ्यो । डा.दासलाई परीक्षा लिने स्वास्थ्य विभागका निर्देशक जीत सिंह मल्ल हुनुुहुनथ्यो । उहाँले टन्सिल कसरी निकाल्नुहुन्छ ? भनेर सोध्नुभयो । त्यो समय नेपालमा टन्सिलको अप्रेसन धेरै हुन्थ्यो । टन्सिलमा अलिकति संक्रमण भयो कि अप्रेसन नै गर्नुपर्थ्यो । औषधि खाएर निको हुन अहिले जस्तो एन्टिबायोटिक थिएन ।
उहाँले आफूलाई भएको ज्ञान बताइदिनुभयो । मल्ल उक्त जवाफबाट अत्यन्तै सन्तुष्ट हुनुभयो । त्यसपछि डा.दास लोकसेवा पास हुनुभयो । उहाँलाई वीर अस्पताल नियुक्तिका लागि तुरुन्तै सिफारिस गर्नुभयो । २००९ साल फागनु १८ गते वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसर पदमा डा.दास नियुक्त हुनुभयो ।
त्यो उहाँको जागिरे जीवनको पहिलो पोस्टिङ थियो । तलब १८० र भत्ता २० रुपैयाँ गरी मासिक २०० पारिश्रमिक पाइन्थ्यो।
वीर अस्पतालमा ३ जना मात्रै डाक्टर थिए । मेडिकल सुपरिन्टेण्डेन्ट डा. मजुमदार हुनुहुन्थ्यो । अनि डा. एसएल दास गुप्ता र डा.गौरीशंकरलाल दास ।
वीरका अन्य दुई डाक्टर विदामा हुनुहुन्थ्यो । जसमा डा.भवनाी भट्ट एनेस्थेसिया पढ्न दिल्ली जानुभएको थियो भने डा भरतराज वैद्य पनि तालिमका लागि विदेश जानुभएको थियो।
वीर अस्पताल दुईवटा थियो । पुरुषको उपचार गर्ने मेल वीर अस्पताल र महिलाको उपचार हुने फिमेल वीर अस्पताल थियो । भुुईँ तला र माथि एक तलाको लामो भवन थियो । बीचको चौरको उत्तरतिर वीर मेल अस्पताल र दक्षिणतिर वीर फिमेल अस्पताल थियो ।
वीर अस्पतालका कुष्ठरोगको शंका लागेका बिरामी जाँच्ने छुट्टै ठाउँ थियो। ललितपुरको खोकना र स्यांजाको मालुुंगामा कोरी खाना थियो । कसैलाई कुष्ठरोग पत्ता लागेमा त्यहाँ पठाइन्थ्यो । त्यो बेला कुुष्ठरोग नभनेर महारोग भनिन्थ्यो ।
कम्पाउण्डरले एनेस्थेसिया दिँदा बिरामीको मृत्यु
वीर अस्पतालमा हाइड्रोसिल र हर्नियाको मात्रै अप्रेसन हुन्थ्यो । एक दिन डा.दास न्यूूरोडतिर समान किन्न जानुुभएको थियो । त्यही समयमा हाइड्रोसिलको अप्रेसन गर्न बिरामी आएछन् । डा.मजुुमदारले अप्रेसनको तयारी गर्नुभयो । अरु डाक्टर कोही नभएकाले अप्रेसनका लागि बिरामी बेहोस बनाउन एनेस्थेसिया दिने काम कम्पाउण्डरलाई लगाउनु भएछ । त्यो बेला अहिले जस्तो सुुईबाट दिने औषधि थिएन । क्लोरोफम, इथर सुुँघाएर बेहोस् बनाइन्थ्यो ।
कम्पाउण्डरले एनेस्थेसिया दिँदा डोज धेरै भएछ बिरामीको मृत्यु भयो । ती व्यक्ति परोपकार संस्थाका व्यक्ति दिए । ठूलो हल्लाखल्ला भयो। डाक्टर मजुमदार तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाका निजी डाक्टर पनि हुनुुहुन्थ्यो त्यही कारणले यो केसमा उहाँलाई कसैले केही गर्न सकेन ।
वीर अस्पतालमा सबै उपचार नि:शुल्क नै थियो । त्यो समय राज्यको हिसाब हेर्नेलाई कुमारी चोक भनिन्थ्यो, अहिलेको लेखापरीक्षक जस्तो । कुमारी चोक भनेपछि सरकारी कर्मचारी थुरथुर हुन्थे । बेरुजुु देखियो वा कसैले भ्रष्टाचार गर्यो भने उसको छोरा नातिसमेतबाट असुुलउपर गरिन्थ्यो।
२०१० असार महिनाको एक दिन उहाँ वीर अस्पतालमा साथीहरुसँग गफ गरेर बसिरहनुभएको थियो। स्वास्थ्य विभागका निर्देशक डा.जित सिंह मल्ल आउनुभयो। मल्लले डाक्टर गौरीशंकरलाई जाउँ मसँग भन्नुभयो।
कुनै प्रश्न नगरी पछि लाग्नुभयो। डा.मल्लले गाडीमा राखेर उहाँलाई उत्तर दिशातिर लैजानुभयो। बूढानीलकण्ठ पुगेपछि लाग्यो–दर्शन गराउनु पो ल्याउनुभएको रहेछ। तर डा.मल्लले त्यहाँ भन्दा पनि निकै पर लैजानुभयो।
जाँदाजाँदा निकै रमाइलो ठाउँमा पुगियो। त्यो टोखा स्वास्थ्य निवास थियो। राणाहरूले क्षयरोग भएका बिरामीलाई लगेर राख्न त्यो बनाएका थिए।
वि.सं.१९९१ मा जुद्ध शमशेरले टोखा स्वास्थ्य निवास उद्घाटन गर्नुभएको थियो। मल्लले डा.गौरीशंकरलाई भन्नुभयो–अब यहाँ काम गर्नुपर्छ। २५० रुपैयाँ भत्ता आउँछ।
डा.गौरीशंकरलाई त्यो ठाउँ निकै रमाइलो लाग्यो। २०१० साल असारमा वीर अस्पतालबाट टोखा सरुवा हुनुभयो।
तपाईँको अभिमत