१०० वर्षीय डाक्टरको जीवन यात्रा (भिडियो)
डा.गौरीशंकरलाल दासको जन्म वि.सं. १९८१ असोज १० गते अर्थात इस्वी संवत १९२४ सेप्टेम्बर २६ मा सिरहाको इनर्वामा भएको थियो।
उहाँ बुबा जनार्दनलाल दास र आमा भवानी देवीका जेठो सन्तान हुनुहुन्छ।
घर वरिपरि ठूलो फूलबारी र आँपको बगैँचा थियो। बगैँचामा थरीथरीका आँपहरु फल्थे। बाल्यकालमा बगैँचामा खेलेका, आँप टिपेर खाएका सम्झना उहाँको मनमा ताजै छ।
नेपालमा राण शासनको समय थियो। असाध्यै कम नेपालीले मात्रै स्कुल पढ्ने अवसर पाउँथे। उहाँको गाउँ भारतको सीमानजिकै भएकाले उतैको प्रभाव धेरै थियो। पढ्नुपर्छ पढाउनुपर्छ भन्ने चेतना उहाँको परिवारमा पहिलेदेखि थियो।
गौरीशंकरले बिहारको राजनगरमा रहेको रामेश्वर स्कुलमा पढ्ने अवसर पाउनुभयो। यही स्कुलबाट सन १९४१ मा म्याट्रिक पास गर्नुभयो।
दक्षिण बिहारस्थित भारलपुरमा गएर आइएसी भर्ना हुनुभयो। सन १९४३ मा आइएसी सकेपछि पट्ना मेडिकल कलेज भर्नाको तयारीमा हुनुहुन्थ्यो।
त्यही बेला करिब एक महिना गौरीशंकर बिरामी पर्नुभयो। मेडिकल कलेजमा भर्ना समय घर्कियो। त्यसपछि बीएससी पढ्न लाग्नुभयो।
आइएसी मात्रै गरेर मेडिकल विषय पढ्न पाइन्थ्यो। उहाँ १९४५ मा बीएससी पास गरेपछि पट्ना कलेजमा भर्ना हुनुभयो। बायोजोली नपढेकाले एक वर्ष प्रिमेडिकल कक्षा पढ्नुपर्थ्यो।
१९५१ मा एमबीबीएस सक्काएपछि बेलायतमा गएर क्षयरोग र ट्रपिकल मेडिसिनमा डिप्लोमा गर्नुभयो। वि.सं.२००९ सालमा नेपाल फर्किएपछि लोकसेवा आयोगमा आवेदन दिनुभयो। लिखित परीक्षा हुँदैनथ्यो। अन्तर्वार्तामा पास भएपछि उहाँको सिफारिस वीर अस्तपालमा भयो।
२००९ फागुन १८ गते उहाँ वीर अस्तपालको जागिरे बन्नुभयो। १८० र भत्ता २० रुपैयाँ गरि महिनाको २०० पाइन्थ्यो। २०१० असार महिनाको एक दिन उहाँ वीर अस्पतालमा साथीहरुसँग गफ गरेर बसिरहनुभएको थियो। स्वास्थ्य विभागका निर्देशक डा.जित सिंह मल्ल आउनुभयो। मल्लले डाक्टर गौरीशंकरलाई जाउँ मसँग भन्नुभयो।
कुनै प्रश्न नगरी पछि लाग्नुभयो। डा.मल्लले गाडीमा राखेर उहालाई उत्तर दिशातिर लैजानुभयो। बुढानिलकण्ठ पुगेपछि लाग्यो–दर्शन गराउनु पो ल्याउनुभएको रहेछ। तर डा.मल्लले त्यहाँ भन्दा पनि निकै पर लैजानुभयो।
जाँदाजाँदा निकै रमाइलो ठाउँमा पुगियो। त्यो टोखा स्वास्थ्य निवास थियो। राणाहरूले क्षयरोग भएका बिरामीलाई लगेर राख्न त्यो बनाएका थिए।
वि.सं.१०९१ मा जुद्ध शमशेरले टोखा स्वास्थ्य निवास उद्घाटन गर्नुभएको थियो। मल्लले डा.गौरीशंकरलाई भन्नुभयो–अब यहाँ काम गर्नुपर्छ। २५० रुपैयाँ भत्ता आउँछ।
डा.गौरीशंकरलाई त्यो ठाउँ निकै रमाइलो लाग्यो। २०१० साल असारमा वीर अस्पतालबाट टोखा सरुवा हुनुभयो। औषधि नहुने भएकाले वरिपरि रहेको सल्लाको पातबाट आउने हावाले क्षयरोग छिटो निको बनाउँछ भनेर त्यहाँ केन्द्र खोलिएको थियो।
राणाहरुको श्रेणी अनुसार राख्न ए बी र सी कटेज थियो। अन्यलाई राख्न तह र पदअनुसारका कटेज थियो। सर्वसाधारणलाई राख्न पनि छुट्टै कटेज थियो।
यहाँ काम गर्दाका निकै अविष्मरणीय पल छन् डा.गौरीशंकरसँग।रेडियो नेपालमा हिन्दी भाषाका समाचारबाचक राजेन्द्र कुमारसँग डा.गौरीशकरंको चिनजान थियो। उहाँमार्फत त्यो बेलाका चल्तीका धेरै कलाकारसँग घुलमिल हुने मौका मिल्यो।
नातिकाजी, शिवशंकर, पुष्प नेपाली, बच्छु कैलाशहरु बेला–बेला टोखा आउनुहुन्थ्यो। उहाँहरु आएका बेला साझँ परेपछि त्यहाँ सांगितिक महौल हुन्थ्यो। गाना बजाना खुब हुन्थ्यो। डा.गौरीशंकर बाँसुरी बजाएर साथ दिनुहुन्थ्यो। मनोरञ्जनका अरु कुनै साधन नभएका बेला बिरामीहरू पनि निकै खुसी हुन्थे।
साहित्यकार बालकृष्ण समका भित्रिनी पट्टिका छोरा नेमी शमशेरलाई पनि क्षयरोग भएर त्यहाँ ल्याइएको थियो। राणाको सी कटेजमा उहाँ बस्नुहुन्थ्यो। राजा त्रिभुवनकी भाउजू जसलाई त्यहाँ ‘रानीसाप’ भनिन्थ्यो। उहाँलाई पनि राखिएको थियो।
डा.गौरीशंकरका अनुुसार टोखा निवासमा बस्न जान एक–डेढ वर्ष पालो कुर्नुपर्थ्यो बिरामीका लागि खान, बस्न सबै निशुल्क थियो। दाउरामा पकाउनु पर्ने भएकाले दाउरा कुल्लीहरुको छुट्टै दरबन्दी थियो।
बिरामीलाई भिटामिनहरू खान दिने, गोल्ड थेरापी गर्ने जस्ता विधिबाट उपचार हुन्थ्यो।
साहित्यमा रुची भएका भोटाहिटीका कैलाशराम श्रेष्ठसँग डा.गौरीशंकरको चिनजान थियो। उहाँले साहित्यिक पत्रिका निकालौँ भन्नुभयो। अनि संगम नामको साहित्यिक पत्रिका निकाल्न थालियो।
त्यसपछि चल्तीका साहित्यकारहरुको पनि टोखा स्वास्थ्य निवासमा आउजाउ हुनथाल्यो। त्यहाँ धेरै आउनेमा सिद्धिचरण श्रेष्ठ हुनुहुन्थ्यो।
क्यान्सर लागेर अप्रेसन गरेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि त्यहाँ बस्न आउनुभएको थियो। अन्तिम–अन्तिम अवस्थामा रहनुभएका देवकोटा १५ दिनजति बसेर सिधै आर्यघाट जानुभयो। केहीदिनमै उहाँले संसार छाड्नुभयो।
उहाँले १३ वर्ष टोखा स्वास्थ्य निवासमा काम गर्नुभयो। २०२३ सालमा उहाँको सेन्ट्रल चेस्ट क्लिनिकमा सरुवा भयो। यो वीर अस्पताल अगाडि थियो। २ वर्ष त्यहाँ काम गर्नुभयो।
सन १९६८ मा तत्कालीन स्वास्थ्य मन्त्री विष्णुकुमार तुम्बाहाङ्फेकी श्रीमतीलाई क्षयरोग रोग लागेको थियो। डा.दासले उहाँलाई भारतको भेलोरमा लगेर उपचार गराएर ल्याउनुभयो।
त्यसबाट खुसी हुनुभएका मन्त्रीले डा.दासलाई स्वास्थ्य विभागको निर्देशक बनाउनुभयो।
मन्त्री तुम्बाहाङ्फेले स्वास्थ्य मन्त्रालयमा योजना महाशाखा बनाएर त्यसको प्रमुख डा.दासलाई बनाउनुभयो। दीर्घकालीन स्वास्थ्य योगना पहिलो र स्वास्थ्यको पाचौँ योजना डा.दासकै पालामा आएको थियो।
२०३४ सालमा स्वास्थ्य सेवा ऐन आएपछि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदमा काजमा जानुभयो। ३०३५ सालदेखि २०४७ सालसम्म लोकसेवा आयोगको सदस्यका रुपमा काम गर्नुभयो।
पहिला जागिर खान उमेर हद थिएन २०४७ सालमा संविधान आएपछि उमेर हद ६५ वर्ष कायम भयो। त्यसपछि डा.दासले अवकास लिनुपर्ने भयो।
२०२० सालदेखि नै नेपाल रेडक्रस सोसाइटीमा आवद्ध भएर योगदान पुर्याउँदै आउनुभएका डा.गौरीशंकर फेरि रेडक्रसमै रहेर समाजसेवामा लागिरहनुभएको थियो।
२०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैँले फोन गरेर राष्ट्रिय मानवअधिकार आयोगको सदस्य बन्न उहाँलाई आग्रह गर्नुभयो।
नेपालमा पहिलो पटक मानवअधिकार आयोग गठन भएको थियो। २०५७ देखि २०६२ सालसम्म राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएर डा.गौरीशंकरले काम गर्नुभयो।
त्यसपछि विभिन्न संघ, संस्थामा रहेर समाज सेवामा सक्रिय रहनुभएका डा.गौरीशंकर १० वर्षअघिसम्म मेडिकल अभ्यास पनि गरिरहनुभएको थियो।
त्रिशक्तिपट, गोरखा दक्षिणबाहु, प्रशिद्ध प्रबल गोरखा दक्षिणबाहु, सुबिख्यात त्रिशक्तिपट्ट पदवीबाट विभूषित हुनुभएको छ। सयौँ पुरस्कार तथा मानसम्मानबाट सम्मानित हुनुहुन्छ।
१०० वर्षमा पाइला टेक्नुभएका उहाँ अहिले पनि सक्रिय हुनुहुन्छ। थुप्रै संघ संस्थामा रहेर तिनका बैठक, कार्यक्रमहरुमा नियमित उपस्थित भइरहनुभएको छ।
घुमफिरमा धेरै रमाउने डा.गौरीशंकर नेपालका अधिकांश पर्यटकीय क्षेत्र पुग्नुभएको छ। राजा महेन्द्रसँगै पश्चिमका थुप्रै जिल्लामा पैदल यात्रा गरेको उहाँ सुनाउनुहुन्छ।
सन १९९१ मा मानसरोवर जाने क्रममा हुम्लाको यारी भन्सार कटेर केही पर पुगेपछि निकै रमाइलो ठाउँ भेटियो। वरिपरि हरिया घाँसले भरिएका चौर, साना–साना पहाड निकै मनमाहेक थियो।
उहाँले केही बेर बसेर बाँसुरी बजाउनुभयो। त्यो जिन्दगीको सबैभन्दा खुसीको क्षण रहेको उहाँ सुनाउनुहुन्छ।
टोखा स्वास्थ्य निवासमा रहेकै बेला पानीमा डुबेर उहाँका डेढ वर्षीय छोराको मृत्यु भयो। त्यो जीवनको सबैभन्दा पीडादायी क्षण हो उहाँका लागि।
उहाँका २ छोरी २ छोरा हुनुहुन्छ। जेठा छोरा आनन्द मोहन, र कान्छा छोरा सुरेन्द्र मोहनसँगै बस्नुहुन्छ। उहाँका सबैभन्दा जेठा पनाती पनि १७ वर्षको भइसक्नुभयो।
आफूले सबै कोणबाट पूर्ण जीवन बाच्न पाएको अनुभूति उहाँको छ। जीवनमा पूरा नभएको इच्छा भनेको डोल्पाको सेफोक्सुण्डो ताल र मनाङको तिलिचो ताल पुग्ने सपना रहेको उहाँ सुनाउनुहुन्छ।
शताब्दी लामो अनुभव संगाल्नुभएका डा. गौरीशंकर आफैँमा इतिहासको एक पुस्तक हुनुहुन्छ।
तपाईँको अभिमत