कोरोनाकाे खोप सफल : फाइजरको खोप ९० प्रतिशत प्रभावकारी
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल ट्रायलमा भएको सफलताले विश्वलाई एक आशा जगाएको छ । अमेरिकन कम्पनी फाइजर र जर्मन कम्पनी बायोटेक कम्पनीले निर्माण गरेका कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायलमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको दाबी गरेका छन् ।
ट्रायलमा देखिएको खोपको नतिजाले ज्ञान र मानवताका लागि महान प्राप्ती दिलाएको कम्पनीहरुको उद्घोष छ । विज्ञहरुले हाल क्लिनिकल ट्रायलका क्रममा रहेका खोपहरुले कम्तिमा ७५ प्रतिशत प्रभावकारीता देखिने विश्वास लिएका थिए । ह्वाइट हाउसका सल्लाहाकार एवं संक्रामक रोग विज्ञ डा.एन्थोनी फाउसीले क्लिनिकल ट्रायलमा ५० देखि ६० प्रतिशत प्रभावकारीता देखिए सो खोपलाई स्विकार्न सकिने बताउँदै आउनुभएको छ ।
फाइजर कम्पनीका कार्यकारी निर्देशक डा. अल्बर्ट बोउर्लाले मेडिकल क्षेत्रमा सय वर्षको इतिहासमा महत्वपूर्ण उपलव्धि भएको भन्दै खोपको नतिजाले सुरुङको अन्तिममा प्रकाश देखिँदा आनन्दित हुने जस्तो खुशीको आभास दिलाएको बताउनुभयो ।
उहाँले तेस्रो चरणको ट्रायलबाट आफूहरुको खोपले कोरोनाबाट जोगाउने प्रमाण दिएको भन्दै खोप निर्माणमा कोशेढुंगा सावित हुने पनि औँल्याउनुभयो । फाइजर खोप कोरोना महामारीलाई अन्त्य गर्न शक्तिशाली रहने विश्लेषण कम्पनीको छ ।
ट्रायलका क्रममा खोप पाएका व्यक्तिहरुमा कुनै पनि साइड इफेक्ट नदेखिएको तथा स्वास्थ्यमा अन्य असर देखिएको गुनासो नआएको कम्पनीको भनाई छ ।
गत वर्षको डिसेम्वरमा चीनबाट फैलिएको भनिएको कोरोना महामारीका कारण विश्वभर ५ करोड १ लाख १६ हजार ९२२ जना मानिस संक्रमित भएका छन् । २ करोड ८१ लाख ५ हजार ९१९ जना निको भएका छन् भने १२ लाख ४९ हजार १२९ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत