कार्यालय समयमै निजी क्लिनिकमा भेटिन्छन् सरकारी अस्पतालका डाक्टर
![](https://healthpati.com/public/media/2024_07/10f31793d543b8c8a2c41ffc322ca21d.jpg)
कार्यलय समयमा निजी क्लिनिकमा बिरामी जाँच गर्दै डा.कर्ण राजवंशी ।।
सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजी स्वास्थ्य संस्थालाई बढी समय दिँदा सेवा राम्रो नहुने गरेको कुरा बेलाबेलामा उठिरहन्छ । कार्यालय समयमा निजीमा बिरामी हेर्न र निजी स्वास्थ्य संस्थाको प्रचार–प्रसार गर्न नपाउने भनेर केही महिनाअगाडि मात्रै स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको थियो । तर पनि कार्यालय समयमै सरकारी अस्पतालका चिकित्सक निजी स्वास्थ्य संस्थामा भेटिनु अहिले पनि समान्यजस्तै छ।
साउन ४ गते शुक्रबार दिउँसो करिब १ बजेतिर भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डा.कर्ण राजवंशी नजिकैको एक क्लिनिकमा छिर्नुभयो। भक्तपुर पोलिक्लिनिक एण्ड हेल्थ सर्भिस प्रा.लि.मा उहाँ करिब २ बजेसम्म बिरामी हेर्नमै व्यस्त हुनुहुन्थ्यो।
हामीले उहाँलाई बिरामी हेरिरहेकै स्थानमा गएर सोध्यौँ सर तपाईको ड्युटी त उता हुनुपर्ने होइन र ? उहाँले छोटो जवाफ दिनुभएको – हो तर १ बजेदेखि २ बजेसम्म हाम्रो ब्रेक टाइम हुन्छ । त्यति भनेर डा.राजवंशी क्लिनिकबाट बाहिरनुभयो ।
डा.राजवंशी राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थायी कर्मचारी हुनुहुन्छ । रजिस्ट्रार पदमा रहनुभएका उहाँ त्यहाँको ग्याष्ट्रोइन्टेरोलोजी तथा हेपाटोलोजिस्ट विभागको प्रमुख समेत हुनुहुन्छ।
त्यस दिन उहाँले छुट्टी लिनुभएको पनि हुनसक्छ भनेर अस्पतालको प्रशासनमा बुझ्दा त्यो देखिएन । उहाँ करिब साढे १० बजेतिर आएर सवा ३ बजेतिर बाहिरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
उक्त दिन राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा.राजवंशीको ओपिडी थिएन ।
कार्यालय समयमा डा.राजवंशी क्लिनिकमा बिरामी जाँच गर्दै भेटिएको विषयमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले कुनै प्रतिक्रिया दिनुभएन ।
उहाँले डा.राजवंशी कार्यालय आए नआएको वा बाहिर काम गर्न गए नगएको अस्पतालको प्रशासनमा बुझ्न आग्रह गर्नुभयो । अस्पतालको प्रशासनमा कर्मचारीको हाजिरी हेर्दै आउनुभएका शाखा अधिकृत हरिहर पोखरेलले शुक्रबार डा.राजवंशी कार्यालय आएको देखिएको जानकारी दिनुभयो । तर कार्यालय समयमा बाहिर क्लिनिकमा बिरामी जाँच्न गएको विषयमा कुनै जानकारी नभएको उहाँले बताउनुभयो ।
तपाईहरूको कार्यालयको खाजा खाने समय कति बेला हो ? भन्ने प्रश्नमा पोखरेलले भन्नुभयो–निश्चित समय तोकिएको छैन। आफ्नो अनुकुलतामा जाने सकिन्छ । नेपाल सरकारले खाजा खाने समय आधा घण्टा मात्रै तोकेको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरेलको कुराबाट प्रष्ट हुन्छ डा.राजवंशीले भन्नुभए जस्तो १ बजेदेखि २ बजेसम्म खाजा खाने ब्रेक होइन। खाजा खाने समय छुट्याइए पनि कार्यालय बाहिरका अन्य अफिसमा गएर काम गर्न छुट भने नहुने पनि पोखरेलले बताउनुभयो।
डा.राजवंशीलाई कस्तो कारबाही हुन्छ त ? भन्दा पोखरेलले कार्यालय समयमा बाहिर क्लिनिकमा काम गरे, नगरेको आफूले बुझेर मात्रै यसबारे प्रतिक्रिया दिनसक्ने उहाँले बताउनुभयो ।
तपाईँको अभिमत